१९ असार २०८३, शुक्रबार

मोदीलाई चुनौती दिनका लागि दौडधूप गर्दै ममता बनर्जी

मंसिर १५, २०७८
मोदीलाई चुनौती दिनका लागि दौडधूप गर्दै ममता बनर्जी

भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेसकी अध्यक्ष ममता बनर्जीको अगुवाइमा दिल्ली चलो नारा घन्काउन थालिएको छ । 

सन् २०२४ मा हुने आमनिर्वाचनमा आफूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको प्रमुख चुनौतीका रूपमा पेश गर्नका लागि ममताले अनेकौं कदम चालिरहेकी छन् । 

गत मे महिनामा पश्चिम बंगालमा लगातार तेस्रोपटक विधानसभा निर्वाचन भारी अन्तरले जितेकी ममताले उत्तरपूर्व, गोवा र बिहारमा समेत सक्रियता बढाइरहेकी छन् । 

त्यसले गर्दा विपक्षी दलहरूको एकता भंग भयो अनि ममताको महत्त्वाकांक्षा समेत झल्कियो । 

तृणमूलले दिल्लीमा शासन चलाउनका लागि बनाएको योजनामा भतिजा अभिषेक बनर्जी र प्रशान्त किशोरको हात रहेको बताइन्छ । 

ममताले राष्ट्रिय राजनीतिमा कदम राख्न खोजेको यो पहिलो अवसर हैन । सन् २०१७ देखि नै यसको पृष्ठभूमि बनाइएको छ । 

सन् २०१६ मा मोदीले नोटबन्दीको घोषणा गरेलगत्तै एक घन्टामै ममताले कडा विरोध गरेकी थिइन् । नोटबन्दीको ४८ घन्टासम्म पनि अन्य विपक्षी दलहरूले राजनीतिक नाफानोक्सानको आकलन गरिरहँदा ममताले मोदीमाथि आक्रमण गरेर आफ्नो बेग्लै पहिचान स्थापित गरिसकेकी थिइन् । 

ममता केन्द्र सरकारको सबभन्दा प्रखर आलोचकमध्ये एक हुन् । भाजपाले उनलाई उनकै राज्यमा घेर्ने योजना बनाउँदा ममता आफ्नो दुर्ग बचाउन लागिपरिन् । लोकसभामा भाजपाले ममताको किल्ला भत्काउन सफलता पाए पनि विधानसभा निर्वाचनमा तृणमूल फेरि बलियो बन्यो । 

त्यसपछि ममताले आफ्नो मिसन असरदार रूपमा अघि बढाइन् । 

अन्य क्षेत्रीय दलहरूले कांग्रेस पार्टीलाई प्रमुख विपक्षीका रूपमा लड्ने शक्ति नभएको भन्दै गिल्ला गरे । यस्तो अवस्थामा ममता बनर्जीले मौका देखिन् र कांग्रेसको साटो तृणमूललाई अनि आफूलाई विकल्पका रूपमा प्रस्तुत गर्न थालिन् । 

देशका क्षेत्रीय दलहरूलाई एकीकृत गरी राष्ट्रिय स्तरमा भाजपासँग लड्न आफू सक्षम रहेको सन्देश ममताले दिन खोजेकी छन् । तृणमूलले केही दिनमा यसका लागि केही ठूलै कदम उठाउन खोजेको संकेत छ ।

salt training

कमेन्ट गर्नुहोस्