चीनमा २२ वर्ष पुराना तामाका दुईवटा बुद्ध मूर्ति पुरातत्त्वकर्मीहरूले फेला पारेका छन् ।
ईस्टर्न हान राजवंशको पालाका प्राचीन चिहानबाट यी मूर्तिहरू फेला परेका हुन् ।
शाक्यमुनि भनी चिनिने एक मूर्ति लामो चोगा लगाएर एउटा मञ्चमा उभिएको अवस्थामा देखिन्छ भने अर्को मूर्तिले पाँच तथागतलाई देखाएको छ ।
चीनमा यसअघि फेला परेका बुद्ध मूर्तिभन्दा यी मूर्तिहरू २०० वर्ष पुराना छन् । गान्धार शैलीमा मूर्तिहरू बनाइएका हुन् । हालको उत्तरपश्चिम पाकिस्तान र पूर्वी अफगानिस्तान क्षेत्रमा ईसापूर्व सातौं शताब्दीदेखि ईसाको पहिलो शताब्दीसम्मको अवधिमा यी मूर्तिहरू बनाइएका हुन् ।
हाल फेला परेका मूर्तिहरू चीनको उत्तरपश्चिम शान्सी प्रान्तमा भेटिएका हुन् । त्यहाँ नै सन् १९७० को दशकमा विश्वप्रसिद्ध टेराकोटा आर्मी पनि फेला परेका थिए ।
सन् २०२० को जुन महिनादेखि नोभेम्बर २०२१ सम्म गरिएको उत्खननमा ३ हजार ६४८ वटा प्राचीन चिहान फेला परेका थिए । ती चिहानहरू वारिङ स्टेट्सदेखि छिङ राजवंशसम्मका हुन् ।