०३ असार २०८३, बुधबार
नेपालगञ्ज–काठमाडौं रूटमा स्टेरिङ घुमाउने रेबिका

लामो दूरीको नाइट बस चलाउने एक्ली महिला

जेठ १२, २०८१
बुटवल
लामो दूरीको नाइट बस चलाउने एक्ली महिला

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाएको कर्म देख्न पाइन्छ । 

रेबिका थापा साहनीले नेपालगञ्ज ‘टू’ काठमाडौं रुटमा चल्ने रात्रि बसको स्टेरिङ थामेर आफ्नो साहस प्रदर्शन गरेकी छिन् । रेबिका सम्भवतः नेपालमा लामो दूरीको गाडी त्यो पनि रात्रिकालीन बस चलाउने पहिलो महिला हुन् । ४४ वर्षीया रेबिका पुरुष चालकको भीडमा साहस, हिम्मत र आँटले ‘नाइट’ बस हाँकेर उदाहरणीय बनेकी छिन् । आजकल उनलाई ‘एक्लो वृहस्पति’ पनि भन्ने गरिन्छ । उनी अहिले नेपालगञ्ज–काठमाडौं चल्ने ग्रेटर नेपालको लू २ ख ६९३९ नम्बरको बस चलाउँछिन् । आफूले चलाएको गाडीमा यात्रा गर्न सबैले रुचाउने गरेको उनी बताउँछिन् ।  

आजभन्दा २१ वर्षअघि विसं २०६० मा काठमाडौंमा टयाम्पो चलाएर चालक पेशामा प्रवेश गरेकी रेबिका माइक्रो, मिनीबस हुँदै ‘हेभी’ गाडी चालकको रुपमा स्थापित भएकी हुन् । 

उनको परिचय अहिले ‘हेभी’ गाडी चालकमा मात्र परिचय सीमित छैन । उनी अनाथ र टुहुरा बालबालिकालाई संस्था खोलेर तिनकी आमाको भूमिकासमेत निभाएकी छिन् । जति संकट परे पनि उनी कसैलाई केही गुनासो नगरी हरेक पाइलामा संघर्ष गर्दै गइन् । 

आफूले आश्रय दिएका बालबालिकाको भरण–पोषणमा उनी उत्तिकै समय खर्चिन्छिन् । ‘चुनौती आफैँ उठाउने हो,’ उनी भन्छिन्, ‘महिलाले नसक्ने भन्ने केही पनि हुँदैन, पहिला आत्मविश्वास र साहस चाहिन्छ ।’ पहिले दुःख भए पनि अहिले सबैको हौसला र प्रेरणाले उनी उत्साहित बनेकी छिन् । अब उनले धेरैभन्दा धेरै देशका जनतालाई निधक्क गन्तव्यमा पुर्याउने सोच बनाएकी छिन् । 

null

उनी थप्छिन्, ‘महिलाहरू पनि केमा कम छौं र भन्ने हिसाबले नाइट बस चलाउने मेरो सोख हो । त्यहीँ भएर नाइट बस चलाउन आँटेकी हुँ ।’ आफ्नो काममा दक्ष नारीहरूलाई अझै पनि समाजले विश्वास नगर्ने अवस्था रहेको बताउँदै रबिका त्यो चेतनास्तर परिवर्तनको खाँचो रहेको औँलाउँछिन् । ‘महिलालाई विश्वास नगर्नेलाई कामले जवाफ फर्काउने हो, सफलताको श्रेय आफ्नो मेहनत नै हो,’ उनले भनिन् ।  

रेबिकाले त्यो बेला टयाम्पो चलाउँदा धेरै असहज परिस्थितिको पनि सामना गर्नु पर्यो । ‘पुरुषको हुलमा महिला चालक बनेर हिड्न सहज त्यति थिएन । आफूलाई हाँसको भीडमा बकूल्लो भएजस्तो लाग्थ्यो,’ उनी भन्छिन् । कोठामा दुई वर्षको छोरा छाडेर उनी टयाम्पो चलाउन निस्किन्थिन् । विस्तारै उनी आफ्नो काममा पोख्त हुँदै गइन् । विसं २०७० मा नेपालमा साझा बस भित्रिए । त्यो बेलासम्म उनले ‘हेभी’ गाडीको सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिइसकेकी थिइन् । चालक र सह–चालक महिलालाई प्राथमिकता दिएर भित्रिएका साझा बसले उनलाई एउटा अवसर दियो । तर, क्षमता भए पनि महिला भनेर सर्त राख्यो ।  ‘साझाले सर्पोट त गर्‍यो, तर, मलाई कलंकीदेखि माइतीघरसम्म गाडी चलाउन भनेर ‘रुट टेस्ट’ गरेपछि मात्र चाबी थमाइयो,’ उनी भन्छिन्, ‘मैले राम्रोसँग गाडी चलाएपछि मात्र उनीहरूले बल्ल विश्वास गरे । नत्र महिलालाई विश्वास कम गर्छन् । त्यो बेला ठूलो गाडीको ड्राइभर सिट र स्टेरिङमा बस्दाको मजा नै बेग्लै लागेको थियो मलाई ।’ 

रेबिकाले साझापछि ‘ट्राभल एजेन्सी’का गाडी पनि चलाइन् । उनले देशका धेरै ठाउँ र शहर पुगेर सडकको अवस्था पनि बुझिन् । भारतका विभिन्न ठाउँसम्म पनि यात्रुलाई पुर्याइन् । त्यसपछि उनले काठमाडौंदेखि धनगढीसम्म चल्ने बस चलाउन थालिन् । अहिले उनको ‘रुट’ नेपालगञ्ज–काठमाडौंको छ । २१ वर्षे चालक पेशामा उनले चलाएका कुनै पनि सवारी दुघटना भएका छैनन् । 

null

चालकले जानी–जानी कहिल्यै पनि दुर्घटना नगराउने उनको भनाइ छ । ‘कहिलेकाहीँ चालकको सोचाइ पनि अन्त कतै जान्छ । त्यो बेला कसैले आफ्नो गल्ती नहुँदा–नहुँदै पनि साना गाडी आएर ठोक्किन पुग्छन्,’ उनी प्रष्ट पार्छिन्, ‘त्यसको दोष ठूला गाडीलाई दिने गरेको देखिन्छ । तर, ठूला गाडीले गल्ती गर्दैनन् भन्ने पनि होइन । यो भइपरी आउने कुरा कतिबेला के हुन्छ थाहासमेत हुँदैन ।’

रेबिकाको बाल्यकाल बागलुङको गलकोटमा निकै कठोर र संघर्षबाट गुज्रिरहेको थियो । उनको परिवार त्यहाँबाट बसाइँसराइ गरेर विस २०४० सालमा बुटवल झर्याे । बुटवल आउँदा रेबिका जम्मा १० वर्षकी मात्र थिइन् । उनको सानैदेखि सिर्जनात्मक काममा रुचि थियो । यसैमा केही गरौं भन्ने थियो । तर रेबिका १४ वर्षकी हुँदा उनका बुवा–आमाले सांसर छाडेर गए । यसपछि उनको जीवनमा झनै अफ्ठ्यारो परिस्थिति आइलाग्यो । रबिकाका मामाघरमा हजुरबाका दुईवटी श्रीमती थिए । उनकी आमाका कोही दाजुभाइ थिएनन । अर्की आमातिरकाले हेला गर्थे । पारिवारबाट केही ‘सपोर्ट’ नभएपछि उनी कष्टकर दिन झेल्दै काठमाडौं छिरिन् । काठमाडौं छिरेपछि उनी झनै अन्यौलमा परिन् । तैपनि सामान्य मजदुरी गर्दै जीवन गुजारा गर्दै थिइन् । त्यसपछि विवाह बन्धनमा बाधिइन् । विवाह जीवनलाई सुखमय होस् भन्ने चाहन्थिन्, तर सोचेजस्तो भएन । 

यसका बीच छोरा (विवेक) जन्मिए । श्रीमान् पढेलेखेकै थिए । उनीबाटै हिंसा भोगिन् । पिटाइ खाइन् । यस्तोमा पनि रेबिकाले हरेश खाइनन् । छोरा र आफूलाई बाच्नका लागि ज्यामी काम गरिन्, सडकमा बसेर मकै पोलिन् । दिनभर दुःख गरेर आयो घरमा पनि शारीरिक यातना पनि सहनुपर्ने हुन थाल्यो । अति भएपछि वैदेशिक रोजगारमा जाने निर्णय गरिन् । छोरालाई भैरहवाको आश्रममा छोडेर साउदी अरेबिया गइन् । साउदीमा काम गर्दा छोराको यादले सताएपछि त्यहाँ बस्न नसकेर उनी चार महिनामै घर फर्किइन् । 

फेरि श्रीमानको पिटाइ खानुपर्छ भनेर विदेश फर्किएपछि उनले बुटवल नजाने निर्णय गरिन् । काठमाडौंकै एकजना दिदीसँग बसिन् । अनि टयाम्पो सिकेर चलाउन थालिन् । आफूसँगै राख्न भनेर भैरहवास्थित आश्रमबाट छोरालाई पनि काठमाडौं ल्याइन् । काठमाडौंमै पढाउन थालिन् । ‘ट्याम्पो’ सिक्दा विभेद गरियो । यसले गर्दा उनी ट्याम्पो नचलाउने सोचमासमेत पुगिन् । तर, सँगै बस्ने दिदीले ढाडस दिएपछि काठमाडौं ड्राइभिइ सेन्टरमा गएर कार सिकिन् । यसका बाबजुद उनले पछि फेरि ट्याम्पो चलाउने पेशा नै रोजिन् । तर उनलाई ट्याम्पो चलाउने र छोरालाई पनि समय दिने दुई चुनौती एकसाथ थपिए । ‘छोरालाई कोठामा थुनेर जान्थेँ । आएर खाना खुवाउँथें,’ उनी विगतका दुःखका दिन सम्झिन्छिन् । यति दुःख गरेर हुर्काएका छोरा विवेक विस्तारै ठूला भए । १२ कक्षा पास गरे । छोरा विवेक इन्जिनियर पढ्ने तयारीमा थिए । अब चाहिँ छोराले केही गर्छ भन्ने रेबिकालाई लाग्न थाल्यो । तर त्यसमा ठूलो बज्रपात पर्यो । १७ वर्षका उनका छोरा विवेकको मृत्यु भयो । ‘मेरो सपना पूरा गर्ने बेला आफ्नै हातले बिदा गर्नुपर्ने भयो । त्यो बेला म फेरि जिउनै नसक्ने अवस्थामा पुगेकी थिएँ,’ दुःखका ती दिन सम्झिँदै उनी भावुक हुन्छिन् । तर फेरि सबैको साथले नयाँ जीवन बाँचेको उनी बताउँछिन् । 

null

‘धेरै आग्रहलाई स्वीकार गरेर मैलै फेरि विवाह गर्न बाध्य भए । अहिले मेरो छोरा छ । धेरैले अहिलेको छोरालाई विवेक फर्केर आयो भन्छन्’ उनले भनिन् । कलिलो उमेरमै छोरा गुमेपछि उनको सम्झनामा रेबिकाले विवेक स्वच्छ सेवा केन्द्र खोलेकी हुन् । जहाँ बुवा–आमा पत्ता नलागेर टुहुरा भएका बालबालिकाले आश्रय पाएका छन् । कोरोना भाइरस महामारीपछिको ‘लकडाउन’का बेला वि. स २०७७ मा उनले शुरू गरेको मानवसेवाका काममा धेरैले सहयोगका हातहरू फैलाउँदै आएका छन् । 

रेबिका अब यातायात क्षेत्रबाट पछि नहट्ने सोचाइमा छिन् । सवारीचालक बन्न चाहने महिलालाई साथ दिने उनको सोच छ । ‘नारी पनि गाडी चलाउन सक्ने बन्न सकुन् । आत्मबल आफैँले बढाउने हो, अर्कोले दिँदैन,’ उनी भन्छिन् । ड्राइभिङ पेशालाई मर्यादित र व्यवस्थित बनाउन यातायात व्यवसायीहरूको ठूलो जिम्मावारी हुने उनी बताउँछिन् । यो विषय उनले सधैँ उठाउँदै आएकी छिन् । ‘एकले अर्कालाई इज्जत गर्न जान्नुपर्छ । आफ्ना हक– अधिकारका लागि राज्यको ढोका ढक्ढक्काउन पनि एकजुट भएर लाग्नुपर्ने आवश्यकता छ,’ उनी थप्छिन् । 

छोरा विवकेको नाममा खोलिएको सेवा केन्द्रमा ३५ जना बालबालिका छन् । रेबिका अहिले ती सबैकी आमा हुन् । धेरै दुःख–कष्ट भोगेर सफलता चुमेकी रेबिका काठमाडौंमा घर बनाउन सफल भएकी छिन् । उनको कामनपा वडा नम्बर ११ स्थित बबलमहरमा घर छ ।

salt training

कमेन्ट गर्नुहोस्