
नेपालमा राजनीतिक पार्टीहरु जोडिनु र फुट्नु नौलो विषय होइन । नयाँदेखि पुराना राजनीतिक पार्टीमा विभाजन आएको उदाहरण बग्रेल्ती छन् । वैकल्पिक राजनीतिक शक्तिको रुपमा आफूलाई उभ्याउन जमर्को गर्ने राजनीतिक दलभित्रको विवाद र विभाजन भने आफैँमा रोचक विषय हो । यस्तै भएको छ, विवेकशील साझा पार्टीमा । विवेकशील साझा भारतमा आम आदमी पार्टी जस्तै नेपालको वैकल्पिक राजनीतिक शक्तिको रूपमा अगाडि बढ्ने अपेक्षा धेरैमा थियो । तर त्यो आशा निराशामा परिणत हुने संकेतहरु देखिन थालेका छन् ।
एक पटक फुटेर फेरि जुटेको विवेकशील साझा फेरि विभाजित अवस्थामा पुगेको छ । अध्यक्ष रवीन्द्र मिश्र पक्षले मंगलबार संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेसँगै सो पार्टी विभाजनतिर गएको हो । रवीन्द्र मिश्रले केही महिना अघि ‘विचार भन्दा माथि देश’ शीर्षकमा आफ्नो प्रस्ताव अघि सारेपछि सो पार्टीमा विवादको रेखा उत्पन्न भएको थियो । मिश्रको प्रस्तावमा संघीयताको विरोध गर्दै राजतन्त्रको पक्षमा वकालत गरिएको छ । तर सो प्रस्तावलाई ठाडै अस्वीकार गर्दै पाण्डे समूहले आफूलाई गणतन्त्रकै पक्षमा उभ्याएको थियो । त्यसपछि मिश्रले आफ्नो एजेण्डा पार्टीमा लागू गराउन बहुमत बहुमतको सहारा लिएसँगै पाण्डे समूह चिढिएको थियो भने आफ्नै ढंगले पार्टीमा संघर्ष गर्दै आएको थियो । यही विवादको अन्तिम ‘भेरियन्ट’को रुपमा मंगलबार कार्यसमिति बैठकको निर्णय भन्दै पाण्डेलाई पार्टीबाट निष्काशनको घोषणा गरिएको हो ।
यस्तै पाण्डेले पनि आफू नै मुल पार्टी रहेको भन्दै समानान्तर संगठनको घोषणा गरेका छन् ।
००००
यसैगरी पाण्डेले ट्वीटर र एक वक्तव्यमार्फत मिश्रप्रति आक्रोश पोखेका छन् । पाण्डेले तानाशाहीको पतन निश्चित भएको बताउँदै ट्वीटरमा भनेका छन्, ‘त्यो पुस १, त्यो पुस ५, अनि आज पुस ६ । यी दिन लूटतन्त्रका बिम्ब हुन् । तानाशाहीको पतन निश्चित छ भन्ने उदाहरण पनि। लोकतन्त्र र पार्टीले यस्ता पात्र र प्रवृत्ति सामना नगरी पार्टी बलियो हुँदैन। लोकतन्त्र बलियो हुँदैन। सरी ब्रो, राजतन्त्र मान्न सक्दिनँ।’
उनले आफ्नो आस्थालाई कसैले खोस्न र कारबाही गर्न नसक्ने भन्दै आफ्ना लागि राजनीति सत्ताको खेल भन्दा समाजका निम्ति गर्ने योगदान गर्ने अभियान भएको बताएका छन् । यो अभियानमा आफू अझ प्रतिबद्ध रहेको पाण्डेको भनाइ छ ।
००००
वैकल्पिक राजनीति गर्ने अठोटका साथ आएको पार्टीमा पनि उही टुटफुट र विभाजनका साथै राजनीतिक बेमेल भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताका विभिन्नखाले टिकाटिप्पणी गरिरहेका छन् । एक सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन्, ‘वैकल्पिक राजनीतिक शक्ति भनेको यही होइन त ?’
विवेकशील साझा पार्टीमा देखिएको विवादसम्बन्धी समाचारसहित ‘लोकान्तर राउण्डअप’मा स्वागत छ । लोकान्तर राउण्डअपमा हामी बितेको २४ घण्टाका मुख्यमुख्य समाचारलाई समेट्ने गर्छौँ ।
००००
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच दुई अध्यादेश स्वीकृत गरेर प्रतिनिधि सभाको बैठक बुधवारसम्मका लागि स्थगित भएको छ ।
मंगलवार बसेको बैठकको शुरूमै एमालेले वेलमा पुगेर नाराबाजी थाले पनि कानून मन्त्री दिलेन्द्र बडूले पेश गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ स्वीकृत भएको हो । एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै लगातार संसद अव?द्ध पार्दै आएको छ ।
००००
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत केन्द्रीय सदस्यका विभिन्न आरक्षण कोटातर्फको मतगणना जारी रहेको छ । जसअनुसार आरक्षण कोटाबाट उद्योगपति विनोद चौधरी समेत विजयी भएका छन् । यस्तै पूर्व राष्ट्रपति रामवरण यादवका छोरा पनि विजयी भएका छन् । कांग्रेसको सबै पदहरुको मतपरिणाम बुधबार आइसक्ने बताइएको छ ।
००००
एमालेका अध्यक्ष केपी ओलीले बेसहारा र अभिभावकविहीनको अभिभावक एमाले भएको बताएका छन् ।
कपिलवस्तुको बहादुरगंजमा मंगलवार आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले बेसहाराका लागि सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गरेको बताएका हुन् । सो क्रममा ६ हजार जना एमालेमा प्रवेश गरेको दावी गरिएको छ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो गएको बताएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सोमबार पोखरामा आयोजित कार्यक्रममा संसदमा आफ्नो उपस्थितिले ओलीको सातो गए पनि आफूहरूको ध्येय भने कम्युनिष्ट आन्दोलन र नेपाल राष्ट्रको गरिमालाई उचो बनाउनु रहेको बताए ।
००००
नेपाल वायु सेवा निगमले नयाँ जहाज खरिद गर्न सरकारसँग १५ अर्ब रुपैयाँ माग गरेको छ । मंगलवार निगममा आयोजित कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले केही दिनमै नयाँ जहाज खरिदबारे निर्णय गरिने भन्दै पर्यटनमन्त्री प्रेम आले समक्ष यस्तो माग गरेका हुन् ।
००००
निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशहरूलाई पुस १२ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले सातै प्रदेशमा निर्वाचन हुने जिल्लाका न्यायाधीश निर्वाचन अधिकृत नियुक्त भएका जानकारी दिए ।
००००
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवम् शिक्षण संस्थाहरुको स्थलगत निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएका छन् ।
मंगलबार बसेको उच्चस्तरीय मुल्यांकन तथा अनुगमन समितिको बैठकबाट ५ सदस्य समिति गठन गर्दै मन्त्री पौडेलले १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका हुन् ।
००००
धितोपत्र बजारमा लामो समयपछि मंगलवार कारोबार मापक नेप्से परिसूचक हरियो भएको छ । लगातार ओरालो लाग्दै आएको नेप्सेमा सुधार देखिएको हो ।