२४ जेठ २०८३, आइतबार

एक दिनले गर्दा बढुवा हुन पाएका दुई भाग्यमानी सई

माघ ५, २०७८
एक दिनले गर्दा बढुवा हुन पाएका दुई भाग्यमानी सई

एक दिनले गर्दा बढुवा हुन पाएका प्रहरीका दुई भाग्यमानी सई

मान्छेको भाग्य कस्तो हुन्छ, दैवलाई पनि थाहा हुँदैन भन्ने नेपाली कथन छ । त्यस्तै भयो नेपाल प्रहरीका दुई प्रहरी सहायक निरीक्षकहरूको हकमा ।

काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका– ६ का नेत्रबहादुर जर्गा मगर र ओखलढुंगाको चिचाङगढी गाउँपालिका– १ हेमबहादुर अधिकारी त्यस्तै भाग्यमानी प्रहरी हुन् । 

प्रहरी प्रधान कार्यालयको विषेश पहलमा सरकारले प्रहरी नियामवली– २०७१ को नवौं संशोधन गरेपछि उनीहरू १ दिनले प्रहरी सहायक निरीक्षक (असई)बाट प्रहरी नायब निरीक्षक (सई) पदमा बढुवा भएर सेवानिवृत्त हुन लागेका हुन् । 

यसअघि प्रहरी निरीक्षक (इन्स्पेक्टर) भन्दा तल १२ वर्ष सेवा गरेपछि मात्र माथिल्लो तहमा बढुवा भएर सेवानिवृत्त हुने व्यवस्था थियो । नवौं संशोधनले त्यसलाई ८ वर्षमा झारेपछि उनीहरूको भाग्य खुलेको हो । 

यदि सरकारले पुस ४ गते राजपत्रमा नियमावली संशोधन प्रकाशित नगरेको भए आज पुस ५ गते उनीहरू असईबाटै सेवानिवृत्त हुने थिए ।

काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका– ६ मा जन्मेका नेत्रबहादुर जर्गा मगरलाई त्यो बेला प्रहरीमा जागिर खान हुटहुटी थियो ।

९ कक्षा पढ्दै गरेका उनलाई प्रहरीमा कसरी जागिर खान पाइन्छ भन्ने थाहा थिएन, तर साथीभाइले भनेपछि २०४८ सालमा कार्यालय सहयोगीमा भिड्न काठामाडौं आए । 

०४८ मा माघ ५ गते कार्यालय सहयोगीमा नाम निकालेर भर्ना भए ।

एसएलसी पास गरेपछि २० महिनापछि प्रहरी जवानमा नाम निकाले । उनको पोस्टिङ दोलखाको जिरीमा भयो । त्यो बेला द्वन्द्व थियो । त्यही बीचमा उनको सरुवा प्रहरी एकेडेमीमा भयो । 

उनले एकेडेमीमा आएपछि सवारी चालकको तालिम लिएर त्यसयता प्रहरीको गाडी चलाउँदै आएका थिए ।

उनी २०६१ असार महिनामा प्रहरी हवल्दारमा बढुवा भएका थिए भने २०६७ चैत २१ गते प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा भएका थिए ।

असईमा बढुवा भएपछि उनलाई त्योभन्दा माथि जान्छु भन्ने कल्पना समेत थिएन ।

‘असई भएपछि सई हुन्छु भन्ने त मैले कल्पना गरेको पनि थिइनँ, किनकी १२ वर्ष नभएसम्म बढुवा हुँदैनथ्यो, मेरो १० वर्ष ९ महिना १३ दिन मात्र हुने थियो,’ नेत्रबहादुरले लोकान्तरसँग भने, ‘८ वर्षमा झारेपछि म बढुवा हुन पाएँ ।’

अहिले उनको खुशीको सीमा छैन ।

वर्तमान प्रहरी महानिरीक्षक र प्रहरी संगठनले तल्ला तहका कर्मचारीप्रति गरेको मायाको आशीर्वाद नै लाग्ने उनको भनाइ छ ।

‘सरहरूलाई हामी जस्ताको आशीर्वाद लागोस् । उहाँहरूले गर्दा हामी जस्ता तल्लो तहका कर्मचारी खुशी छौं,’ मगरले हँसिलो मुद्रामा लोकान्तरसँग भने ।

संगठनमा १९ वर्ष सवारी चलाएको पुरस्कार संगठनले दिएको उनले बताए ।

‘आज ४ बजेसम्म मेरो ड्युटी हो, त्यसपछि बिदा भएर घर जाँदैछु । अब घरमा पनि सई भएर आएँ भन्दा अर्कै शान हुन्छ,’ उनले भने ।

यो व्यवस्थाको लाभ पाउने अर्का भाग्यमानी हुन्, इलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) हेमबहादुर अधिकारी । 

ओखलढुंगाका अधिकारी २०४८ साल माघ ८ गते प्रहरी जवानमा भर्ना भएका थिए । 

उनी २०६० असोज १० गते प्रहरी हवल्दारमा बढुवा भएका थिए भने ०६९ पुस १६ गते असईमा बढुवा भएका थिए । 

यदि यो व्यवस्था नआएको भए उनी असईबाटै बिदा हुने थिए । तर, सौभाग्य! एक दिनले बढुवा भएर अवकाश पाउँदैछन् ।

प्रहरी प्रधान कार्यालयले तल्लो तहका कर्मचारीहरूको गुनासो सम्बोधन गर्न आईजीपी शैलेश थापा क्षेत्रीको विषेश पहलका नियमावली संशोधन गराएको हो ।

salt training

कमेन्ट गर्नुहोस्