२५ जेठ २०८३, सोमबार
उहिलेका कुरा

कपाल काटेर १०० मन धान भित्र्याउने अक्षलाल

फागुन १४, २०७८
कपाल काटेर १०० मन धान भित्र्याउने अक्षलाल

मोरङको विराटनगरका अक्षलाल ठाकुर अहिले ७८ वर्षका भए । अहिले पनि उनको जोसजाँगर २२–२५ वर्षका युवाको जस्तै छ ।

१०–११ वर्षको उमेरदेखि कपाल काट्न थालेका ठाकुर अहिले पनि कहिलेकाहीँ कपाल काट्ने काम नै गर्ने गर्छन् ।

उमेर छिप्पिँदै गएपछि पहिला गरेको काम पनि डर लाग्ने गरेको उनी बताउँछन् । ‘पुराना साथीहरू भेट्दा कपाल काटौं काटौं लाग्छ तर छोराले गाली गर्ने गरेका कारण छाडेको हुँ,’ अक्षलालले भने ।

केही काम नगरी दिन काट्न समस्या भएपछि गाई पालेर त्यसकै स्याहार गरेर उनले दिन बिताउने गरेका छन् । नाति–नातिनाको माया तथा शुद्ध दूध खुवाउने उद्देश्यले गाई पालेको उनले बताए ।

‘१ रुपैयाँमा ४ किलो दूध बेच्थ्यौं, अहिले १ किलोलाई झण्डै सय रुपैयाँ पर्छ,’ उनले भने, ‘गाई पालेर शुद्ध र ताजा दूध पनि खान पाइयो, मलाई दिन कटाउने माध्यम पनि बनेको छ ।’

विराटनगरमा कपाल काट्ने पहिलो आफ्नो परिवार नै भएको उनको दाबी छ । उनका ४ पुस्ताले विराटनगरमा कपाल काटेको छ । हजुरबुवा, बुवा र उनका छोराले एउटै पेशा अँगालेका छन् ।

कपाल काटेर वार्षिक १०० मन धान संकलन

अक्षलालका १ दाजु र १ भाइ छन् । अक्षलालका बुवा पनि विराटनगरमै जन्मेका हुन् । अहिले बसोबास गरिरहेको घर अक्षलालले जान्दा जंगलको छेउमा थियो । अहिले जस्तो जतासुकै घर थिएनन् ।

आफ्नो परिवार विराटनगरको पहिलो ठाकुर भएको उनको दाबी छ, ठाकुर भएकाले कपाल काट्ने मुख्य पेशा हो । ‘त्यो समयमा अहिले जस्ता कपाल काट्ने शैलुनहरू थिएनन् । घरघरमा गएर कपाल काट्ने गरिन्थ्यो,’ उनले भने, ‘बुवा, दाजुभाइसहित चारै जना घरघरमा गएर कपाल काटिदिन्थे । कपाल काटिसक्दा पैसा तिर्ने चलन त्यतिबेला थिएन, कपाल काटेबापत ६ महिना तथा वर्ष दिनमा अन्न ल्याउने गरेका थिए । त्यसरी अन्न लिएर काम गर्ने चलनलाई बालीघरे प्रथा भन्ने गरिन्थ्यो । साहु महाजनको घरमा गएर कपाल काट्ने गरेका थिए ।’

बालबालिकाको कपाल काट्दा वर्षमा १ मनसम्म र ठूलाको कपाल काट्दा त्योभन्दा बढी धान दिने गरिएको उनी बताउँछन् । १ मन बराबर ४० किलोग्राम हुन्छ । १०० घरभन्दा बढी साहुको घरमा गएर कपाल काट्ने गरेको उनले बताए ।

‘साहु महाजनले धान काट्दा पनि बोलाउँथे र बिटा लगाउँदा बर्षभरि काम गरेकोमा बोक्न सक्ने गरी धान दिन्थे,’ उनले भने । एक साहुको घरबाट २ मनसम्म धान बोकेर घर ल्याउने गरेको उनले बताए । त्यसबेला सबैतिरको बाली उठाइसक्दा साहु महाजनको घरमा भन्दा बढी अन्न भित्र्याउन सकिने उनले स्मरण गरे ।

एउटा टोलमा ८–१० दिनमा पुगेर कपाल–दाह्री काट्ने चलन थियो । ‘टोलमा हजाम आएको छ’ भन्दै खुशी हुँदै आउने गरेका उनले बताए । ‘हजुरबुवाले भारतबाट कैची ल्याइदिनुभएको थियो,’ उनले भने, ‘कैची छुरा बोकेर बुवाहरू कपाल काट्न जानुहुन्थ्यो ।’

त्यतिबेला घरमा कपाल काट्न आउनेलाई दूध, दही, मही, घ्यू र अचारसहित ज्वाइँ खाना खुवाउने गरिएको उनले बताए । घरका ४ जनाले मात्रै कपाल काट्न नभ्याएपछि भारतबाट केही हजामहरू ल्याएर तलब दिएर हजुरबुवाले राखेका अक्षेलालले सम्झिए । ‘हजुरबुवाले दैनिक ज्यालादारीमा काम लगाउने गरेका थिए । दैनिक ५० पैसा दिएर काम लगाउने गरिएको थियो,’ उनले भने ।

गाउँघरबाट अन्नबाली अक्षलालका परिवारले उठाउने गरेका थिए । बुवा–बाजेदेखि गर्दै आएको पेशा उनका छोराले गर्दै आएका छन् । छोराले शैलुन खोलेर कपाल काट्ने गरेका छन् ।

दाइजो प्रथा विरोधी अक्षलाल

अक्षलाल १३ वर्षको हुँदा विवाह भएको थियो । ‘मेरो विवाह भएको समयमा मधेशी जातभित्र दाइजो प्रथा थिएन,’ उनले भने, ‘माइती पक्षले सुनचाँदीका गरगहना दिने चलन थियो ।’

समय परिवर्तन हुँदै जाँदा दाइजोको चलन आएको उनी बताउँछन् । ‘छोराको विवाहमा ससुरालीले मोटरसाइकल लगायतका अन्य दाइजो दिने बताएका थिए । मैले छोरालाई बुहारी मात्रै चाहिएको हो भनेर भन्न लगाएँ,’ उनले भने ।

उनले छोरीको विवाहमा पनि दाइजो नदिएको बताए । छोरीहरू माग्न आउनेलाई पनि छोरी मात्रै दिने दाइजो नदिने भनेर पठाएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्