२४ जेठ २०८३, आइतबार
भारतीय निर्वाचनको चर्चा

भारतमा विधानसभा निर्वाचन : यूपीमा मोदी–योगी जादू चल्दा पञ्जाबमा कसरी उदायो आम आदमी ?

फागुन २७, २०७८
भारतमा विधानसभा निर्वाचन : यूपीमा मोदी–योगी जादू चल्दा पञ्जाबमा कसरी उदायो आम आदमी ?

भारतका पाँच राज्यमा भएका विधानसभा निर्वाचनको मतपरिणाम हेर्दा जनताले विकास र सुशासनको पक्षमा मत दिएको स्पष्ट हुन्छ । 

चारवटा राज्यमा सत्तारूढ भारतीय जनता पार्टीले पुनः सरकार चलाउने मतादेश पाएको छ भने पञ्जाबमा आम आदमी पार्टीले दुईतिहाइ बहुमत प्राप्त गरेको छ । पुरानो विरासत बोकेको कांग्रेस पार्टी र क्षेत्रीय दलहरूले जनताको विश्वास जित्न नसकेको देखिन्छ । 

शुरूमा उत्तर प्रदेशको कुरा गरौं । भारतको सबभन्दा ठूलो राज्य तथा लोकसभामा सर्वाधिक बढी ८० सीट भएको उत्तर प्रदेशमा विधानसभा निर्वाचनले राष्ट्रिय राजनीतिको तस्वीर बदल्ने शक्ति राख्दछ । 

त्यहाँ विगत चार दशकमा कुनै पनि मुख्यमन्त्रीले लगातार दुईपटक कार्यकाल चलाएको इतिहास छैन । तर योगी आदित्यनाथले कीर्तिमान कायम गरेका छन् । योगीको नेतृत्वमा भारतीय जनता पार्टीले ४०३ सीटमध्ये २५५ मा जीत हासिल गरेको छ । 

योगीको यस जीतमा उनले गरेका विकास, सुशासन, गरीब कल्याण लगायतका पहल जिम्मेवार छन् । आफूअघिको सरकारले गरेका कुकार्यलाई योगीले दोहोर्‍याएनन् । 

उत्तर प्रदेशमा समाजवादी पार्टीले कुशासन चलाएको र गुण्डा तथा भूमाफियालाई प्रोत्साहन गरेको भन्दै जनतामा चरम असन्तुष्टिको स्थिति थियो । अनि सपाले यादव समुदायलाई मात्र प्राथमिकता दिएको भनी उत्तर प्रदेशका जनता रिसाइरहेका थिए ।

योगीले आफ्नो पाँच वर्षे कार्यकालमा सुशासन कायम राख्न निकै जोड दिए । विभिन्न जिल्लामा आतंक मच्चाउने र जनतासँग पैसा असुल्ने गुण्डाहरूलाई उनले तह लगाए । चेलीबेटी घरबाट निस्कनै नसक्ने अनि व्यापारीहरू सधैं त्रासको स्थितिमा रहने गरेकोमा योगीले प्रदेशलाई त्यसबाट मुक्त गराए । 

योगी आदित्यनाथले विकास निर्माणमा अत्यधिक जोड दिएकाले पनि जनताले उनलाई पत्याएका हुन् । अनेकौं द्रुतमार्गहरू समयमै निर्माण सम्पन्न गर्न योगी सरकार सफल भएको छ । 

उत्तर प्रदेशमा नयाँ नयाँ विमानस्थलहरू खुलेका छन् । त्यस्तै विद्युतीय सामग्रीहरूको निर्माणलाई प्रोत्साहित गर्न विभिन्न क्लस्टर खोलिएको छ । रक्षा उद्योग कोरिडोरको निर्माण भएको छ । लाखौं मानिसले रोजगारी पाएका छन् । यी सबै उपलब्धिको हिसाब जनताले गरेर राखेकाले विधानसभा निर्वाचनमा भाजपालाई भोट दिएको भन्न सकिन्छ । 

विकासका साथै ध्रुवीकरणको राजनीतिलाई पनि भाजपाले चर्काएकाले सफलता पाएको हो । हिन्दू–मुसलमान, जिन्ना–गन्नाको कुरा उठाएर बहुमत हिन्दूहरूको मत सोहोर्न भाजपा सफल भएको हो ।

योगीको आफ्नै पहलका साथै प्रधानमन्त्री नरेन्द्र मोदीले जनतामाझ बनाएको सकारात्मक छविले पनि भाजपालाई चुनाव जित्न सहयोग गरेको हो । मोदीले गरीबहरूलाई प्रत्यक्ष लाभ दिने योजना (डिरेक्ट बेनिफिट ट्रान्सफर) को सफल कार्यान्वयन गराएकाले ठूलो संख्याका मतदाताहरू उनीप्रति नतमस्तक छन् र उनैलाई भोट दिन्छन् । काम गरेर पनि देखाएको अनि आफ्ना दमदार भाषणहरूमार्फत पनि जनतालाई मन्त्रमुग्ध बनाएकाले मोदी (र योगी)को पक्षमा जनताको मत खसेको हो । 

पञ्जाबको कुरा गर्दा, आम आदमी पार्टी (आप) ले धेरैको अपेक्षाविपरीत प्रचण्ड बहुमत ल्यायो । कुल ११७ सीटमा आप एक्लैले ९२ सीट जितेको छ । बहालवाला कांग्रेस सरकारले पाँच वर्षको कार्यकालमा पञ्जाबी जनताले अनुभव गर्ने कुनै पनि काम गर्न नसकेकाले दिल्लीमा काम गरेर देखाएको आपलाई पत्याएका हुन् भन्न मिल्छ । 

पञ्जाबका मतदाता सार्थक काम गर्न नसक्ने सरकारप्रति सधैं कठोर देखिन्छन् । यसपालि पनि उनीहरूले बेकामे कांग्रेस सरकार र त्यसअघिको अकाली दललाई नकारेका छन् । काम गर्ने प्रतिज्ञाका साथ चुनावमा होमिएको आपलाई प्रचण्ड बहुमत दिएर उनीहरू विना बाधाव्यवधान काम गर्न मतादेश दिएका छन् । 

दिल्लीमा पाएको सफलतालाई उदाहरणका रूपमा पेश गर्न आपलाई सहज पनि भयो । दिल्लीमा रोजगारी सिर्जना गरेको, भ्रष्टाचार न्यूनीकरण गरेको, निःशुल्क विद्युत् तथा पानी उपलब्ध गराएको, स्वास्थ्य तथा शिक्षामा उल्लेख्य लगानी गरेको आपलाई आफ्नो एजेन्डा जनतालाई बुझाउन सजिलो भएको थियो । 

चुनाव प्रचारका क्रममा आपले गुणस्तरीय सरकारी विद्यालय र सुविधासम्पन्न अस्पताल निर्माण गराउने वाचा गरेको थियो । महिलाहरूलाई प्रत्येक महिना एक हजार भारु दिने समेत उसले वाचा गरेको थियो । ४०० युनिट निःशुल्क बिजुली समेत दिने भनेको थियो । दिल्लीमा त्यो सबै काम गरिसकेकाले उसको कुरा पञ्जाबी जनतालाई पत्याउन सजिलो पनि भयो । 

भगवन्त मानलाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्नु पनि आपको चतुर रणनीति साबित भयो । पञ्जाबमा सिख समुदायबाहेक अन्य कोही पनि मुख्यमन्त्री बनेको इतिहास छैन । त्यहाँ आपका संयोजक अरविन्द केजरीवालले चुनाव प्रचार गरेको भरमा जनताले अपनाउने सम्भावना थिएन । दिल्ली मोडलको सुशासनका साथै लोकप्रिय सिख अनुहारका रूपमा भगवन्त मानलाई अघि सारेकाले आप पञ्जाबी मतदाताको मन जित्न सफल भएको हो । 

अनि अन्य किसिमका चतुर रणनीति अपनाएकाले पनि आपले सफलता पाएको हो । भारतीय विश्लेषक मनीष शर्माका अनुसार, विभिन्न सुविधा उपलब्ध गराउने घोषणाका साथ आपले गरीब र दलितहरूको मन जितिसकेको थियो । गाउँका मानिस आपको समर्थक बनिसकेका थिए । ग्रामीण क्षेत्रमा अविवादित नेतालाई टिकट दिएर आपले सद्भाव कमायो ।

शहरी क्षेत्रमा आपले अन्य दलका लगभग ५० जना नेतालाई पार्टीमा भित्र्यायो । ती नेताहरूको आफ्नै किसिमको बलियो जनाधार थियो । कल्याणकारी योजना, बेदाग छविका नेता र बलियो जनाधार भएका उम्मेदवार राखेकाले आपले प्रचण्ड बहुमत हासिल गर्न सकेको शर्माको विश्लेषण छ । 

अन्य राज्यको कुरा गर्दा उत्तराखण्ड, मणिपुर र गोवामा भाजपाले विकासको काम गरेको भएरै पुनः जनताको बहुमत पाउन सकेको हो । भाजपा सरकारले विभिन्न कल्याणकारी योजना चलाएकाले अनि सुशासन कायम गरेकाले ती राज्यहरूमा जीत हासिल गरेको हो । 

उत्तराखण्डमा भाजपाले लगातार मुख्यमन्त्री फेरिरहेकाले उनीहरूले आफ्नो बुतामा राम्रो काम देखाउन सकेनन् । बहालवाला मुख्यमन्त्री पुष्कर सिंह धामीले त आफ्नो सीट समेत जोगाउन सकेनन् । 

तर केन्द्र सरकारले चलाएका योजना र राज्य सरकारले तर्जुमा गरेका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न सफलता पाएकाले उत्तराखण्डी जनताले भाजपालाई नै पत्याए । त्यहाँ कुल ७० सीटमध्ये भाजपाले ४७ सीट जितेको छ ।

गोवाको कुरा गर्दा, भाजपाले बलियो जनाधार भएका उम्मेदवार उठाएकाले सबभन्दा ठूलो दल बन्न सफल भएको विश्लेषणहरू आएका छन् । कुल ४० सीट रहेकोमा भाजपाले २० सीट ल्याएर सबभन्दा ठूलो पार्टी बन्ने सौभाग्य पायो । सानो दल महाराष्ट्रवादी गोमान्तक पार्टीसँग मिलेर भाजपाले सरकार बनाउने भएको छ । 

विपक्षी दलहरू कांग्रेस, तृणमूल कांग्रेस, आम आदमी पार्टी, रिभोल्युसनरी गोअन्स दल र स्वतन्त्र उम्मेदवारबीच मतविभाजन भएकाले पनि भाजपालाई फाइदा पुगेको बताइएको छ । भाजपाले जितेका कतिपय सीटमा मतान्तर ५०० भन्दा पनि कम देखिएकाले विपक्षीहरूको मतविभाजन ठूलो फ्याक्टर बनेको पुष्टि हुन्छ ।

चतुर रणनीति अपनाएकाले पनि आपले सफलता पाएको हो । भारतीय विश्लेषक मनीष शर्माका अनुसार, विभिन्न सुविधा उपलब्ध गराउने घोषणाका साथ आपले गरीब र दलितहरूको मन जितिसकेको थियो । गाउँका मानिस आपको समर्थक बनिसकेका थिए । ग्रामीण क्षेत्रमा अविवादित नेतालाई टिकट दिएर आपले सद्भाव कमायो ।

मुख्य कुरा त, आकर्षक सरकारी योजनाहरूको सफल कार्यान्वयनमा सफलता पाएकाले भाजपा सरकारलाई गोवाका जनताले पुनः विश्वास गरेका हुन् । 

मणिपुरका ६० विधानसभा सीटमा ३२ सीट जितेर भाजपाले स्पष्ट बहुमतका साथ दोस्रो कार्यकाल चलाउने भएको छ । सबका साथ, सबका विकास नाराका साथ मणिपुरका सबै जाति तथा वर्गलाई विकास र सुशासनको अनुभूति दिलाउन सफल भएकाले भाजपा विजयी भएको भन्न सकिन्छ ।

यी पाँच राज्यमा भएका विधानसभा निर्वाचनले राष्ट्रिय राजनीतिको भविष्यलाई पनि संकेत गरेका छन् । कांग्रेस पार्टी अब धराशायी भएको यस निर्वाचनले पुष्टि गरेको छ । राष्ट्रिय दलको हैसियत गुमाउँदै कांग्रेस एकदुईवटा राज्यमा सीमित हुने लक्षण देखिँदैछ । 

भाजपालाई कांग्रेसले निकट भविष्यमा दह्रो चुनौती दिन नसक्ने देखिएको छ । बरू आम आदमी पार्टी बिस्तारै राष्ट्रिय दल बन्ने बाटोमा हिँडिरहेको छ । दिल्लीपछि पञ्जाबमा बहुमत हासिल गरेको आपले गोवामा समेत दुई सीट जितेर खाता खोलेको छ । आपको विकास यसरी नै हुँदै गएमा पछि भाजपालाई राष्ट्रिय स्तरमा चुनौती दिने दल उही हुनेछ । 

सन् २०२४ मा हुने लोकसभा निर्वाचनमा मोदीलाई चुनौती दिनसक्ने हैसियतमा कुनै पनि विपक्षी नेता अहिलेसम्म देखिएको छैन । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले त्यस्तो चुनौती प्रस्तुत गर्ने भनी कतिपयले आकलन गरेको भए पनि बंगाल बाहेक अन्य कुनै राज्यमा तृणमूल कांग्रेसको उपस्थिति देखिएको छैन । 

गोवामा तृणमूलले खासै प्रदर्शन गर्न सकेन । राष्ट्रव्यापी जनाधार नभएको दलकी नेत्री ममताले मोदीलाई सशक्त चुनौती देलिन् भनी सोच्न सकिन्न । 

यी विधानसभा निर्वाचनको परिणामले भारतीय मतदाताहरूमा प्रौढता आएको स्पष्ट पारेको छ । जातभात, धर्म, क्षेत्रका आधारमा मात्र मत नदिएर विकास र सुशासन तथा सरकारको प्रदर्शनलाई मतदाताले मानक बनाउन थालेको यस मतपरिणामले पुष्टि गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्