३१ जेठ २०८३, आइतबार
पेशा–कर्म

जसको ३ पुस्ता फोटोसँगै रमायो

चैत १२, २०७८
जसको ३ पुस्ता फोटोसँगै रमायो

बुटवलमा विक्रम् संवत् २०२० सालतिर केआर फोटो सेन्टर खुबै प्रख्यात थियो । त्यसका सञ्चालक थिए केशवराम श्रेष्ठ ।

श्रेष्ठले सम्भवतः पश्चिम क्षेत्रमै पहिलोपटक बुटवलमा व्यावसायिक रूपमा क्यामेरा चलाएर फोटो खिच्ने कामको शुरूआत गरेका थिए । त्यो बेला केशवको क्यामेरा एकछिन पनि रोकिन पाउँदैनथ्यो ।

केशवका बुवा जगत काठमाडौंबाट घुम्दैफिर्दै २००० सालतिर बुटवल झरेका थिए । जगत बुटवलमा सरकारी जागिरे बने ।

उनले बुटवलमै स्थायी रूपमा बसोबास थाले । व्यवसाय गर्ने मनसाय भएका केशवलाई पाल्पाका गंगाप्रसाद श्रेष्ठले क्यामेरा र फोटो व्यवसायीमा लाग्न प्रेरित गरे । केशवले अनि लाहुरेहरूले विदेशबाट ल्याएका क्यामेरा किनेर बुटवलमा व्यावसायिक फोटो खिच्ने पेशा अँगाले । त्यो बेला पनि लाहुरेसँग ५–६ हजार रुपैयाँमा क्यामेरा किन्नुपर्थ्यो । अहिलेजस्तो सहजै क्यामेरा किन्न पाइँदैन्थ्यो ।

केशवले ३० वर्ष फोटो खिचे । २०४८ सालमा उनको निधन भयो । केशवको त्यो व्यवसायलाई छोरा कृष्णकुमार श्रेष्ठले निरन्तरता दिइरहेका छन् । बुवासँगै २०३५ सालदेखि फोटो खिच्न थालेका कृष्णले हालसम्म पनि त्यसैलाई निरन्तरता दिइरहेका छन् । 

कृष्णका झण्डै ४ दशक क्यामेरामै बिते । बुवाजस्तै कृष्णले पनि क्यामेरालाई सबथोक मानेका छन् । बुटवलमा जन्मे–हुर्केका उनी बुवासँगै नजानिँदो रूपमा फोटोग्राफीतिर मोहित हुँदै गए । भोगाइ र लगनशीलता उनका गुरू भए ।

बुवा निधनपछि कृष्णले पेशालाई केही परिमार्जित गरे । फोटो खिच्नेसँगै फोटोहरू धुलाइ गर्ने ‘कलर ल्याब’ पनि २०५० सालदेखि शुरू गरे । बुटवलको अमरपथमा उनको शिद्धबाबा कलर ल्याब छ । 

३५ वर्षभन्दा बढी समयको निरन्तर मेहनतले उनलाई क्यामरामा देखिने फोटो र ल्याबका फोटो खिच्न र धुलाइ गर्न मात्र सिकाएको छैन, क्यामेराका समस्या समाधानदेखि काम गर्दागर्दै उनले स्टुडियोमा पुराना क्यामेराको संग्रालय नै बनाउन सकिने गरी सबै सामग्रीको संकलन गरेका छन् ।

कुनै बेला कृष्ण भर्भराउँदा फोटोग्राफरमध्ये पर्थे । अहिले पनि त्यस्तै जोशजाँगर उनीसँग छ । ‘फोटोग्राफी लगाव चाहिने काम हो । त्यसका साथै फोटोग्राफीमा अझ बढी धैर्य र मेहनत आवश्यक हुन्छ,’ उनले भने ।

उनीसँग यस्ता धेरै स्मृति छन् । तस्वीर खिच्दाका सास्ती र त्यसभित्रको रोमाञ्च भरपुर छ । कृष्णले कतै आवद्ध नभई स्वतन्त्र रूपमा फोटोग्राफी गर्दै आएका छन् । उनले खिचेका तस्वीर थुप्रै सरकारी कार्यालयमा भरिएका छन् । हजारौंका नागरिकतामा छापिएका छन्, लाखौंका लालपूर्जामा छापिएका छन् । उनले खिचेका तस्वीर विभिन्न संघसंस्थाका पुस्तक, इन्टरनेट जताततै छाएका छन् ।

त्यो बेला एनालग (रिलवाला), बक्स क्यामेरा लगायतका क्यामेराबाट फोटो खिचिन्थ्यो । ‘फोटाहरू सबै ‘ब्ल्याक एण्ड ह्वाइट’ हुन्थे, अहिलेजस्तो कलर फोटो खिचिँदैनथ्यो । कलर फोटो धुलाइ गर्न हङकङ पठाएर धुलाइ गरी ल्याउनुपर्थ्यो । जसका लागि १ देखि डेढ महिना लाग्थ्यो,’ कृष्ण भन्छन् । 

त्यो बेला फोटोको क्रेज खुबै थियो । फोटो धुलाएपछि मात्र कस्तो आएछ भनेर देख्न पाइन्थ्यो । अहिले जस्तो मोबाइल र क्यामेरामा खिच्ने बित्तिकै तत्काल हेर्न मिल्दैन्थ्यो । जसले गर्दा फोटोप्रति खुब रुचि रहेको कृष्ण बताउँछन् । 

कृष्णको फोटोग्राफीसँगै ल्याबतिरको भोक अझै घनिभूति छ । कृष्णको क्यामेरा र ल्याबले धेरैलाई सजाएको छ । भिन्न र कलात्मक तरिकाबाट फोटो खिच्ने कृष्णको चिनारी छ । 

‘अहिले लाखौं मूल्यमा डीएसएलआर क्यामेरा आएका छन् । महंगो क्यामेरा हुँदैमा राम्रो फोटोग्राफी हुँदैन । फोटोमा मस्तिष्क जोडिनुपर्छ, त्यसै राम्रो हुन्छ,’ कृष्णले भने । 

कृष्णको ३ पुस्ता फोटोसँगै जोडिएको छ । फोटो नै उनको उद्यम बनेको छ । ‘खिच्दा बजारले कस्तो रुचाउँछ भनेर सोच्दैनन् । जस्तो दृश्य आँखामा नाच्छ, त्यस्तै क्यामेरामा सजाउँछन्,’ कृष्ण भन्छन् ।

कृष्णका छोराहरू पनि अहिले फोटोसँगै जोडिएका छन् । अहिले फोटोमै उनको ३ पुस्ता जोडिएको छ । पछिल्लो समय फोटो पेशा नै लोप हुने अवस्थामा पुगेको भन्दै कृष्ण चिन्तित छन् । सबै क्षेत्र डिजिटल बन्दै गएको छ । सबै व्यक्तिका हातहातमा महंगा–महंगा मोबाइल छन् । घरघरमा लाख मूल्यभन्दा बढीका क्यामेरा छन् । जसले गर्दा फोटो पेशा लोप हुने डर उनलाई छ ।

‘सरकारी कार्यालय प्रयोजनका लागि पनि मानिसहरू फोटो खिच्थे,’ कृष्ण भन्छन्, ‘कार्यालयहरूले पनि ठाउँको ठाउँ खिच्छन् । प्रिन्ट फोटो आवश्यक पर्दैन । फोटोहरू खिचेर संग्रह गर्ने बेला गयो । पछिल्लो समय त मृत्यु भइसकेका व्यक्तिको मात्र फोटो प्रिन्ट हुने हो कि भन्ने जस्तो लाग्न थाल्यो । अरु सबै डिजिटल बनिसक्यो ।’

उनी कहाँ ४० वर्ष पुरानासम्म क्यामेरा छन् । जसलाई उनले संग्रह गरेर राखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्