
रुस र युक्रेनबीच जारी तनावबीच भारत रुसविरुद्ध उत्रिएको थिएन । युद्ध गर्न नहुने भनेर भारतले दुवै देशलाई सुझाव दिए पनि रुस र युक्रेनको विरोध गरेको थिएन ।
पश्चिमा देशहरूले भने भारतले रुसविरुद्ध खुलेरै लाग्नुपर्ने दबाब दिइरहेका थिए तर भारतले वर्षाैंदेखिको गुनलाई बिर्सिन नसक्ने बताउँदै आएको थियो । युक्रेनमाथि ज्यादती गरिरहेको रुसको विरोध नगरेकोमा भारतको आलोचना समेत हुने गरेको छ ।
रुस–युक्रेन युद्धबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरले छुट्टै कूटनीतिक पहिचान स्थापित गरेका थिए ।
यतिबेला भारतले रुसको प्रस्तावविरुद्ध मतदान गरेर ‘स्मार्ट’ कूटनीति प्रदर्शन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा रुसी राष्ट्रपति भ्यादिमीर पुटिनले युक्रेनका राष्ट्रपति भ्यादिमीर जेलन्स्कीलाई अनलाइन भाषण गर्न दिन नहुने भनेर प्रस्ताव पठाएका थिए । जुन प्रस्तावमाथि मतदान हुँदा भारतले प्रस्तावको विपक्षमा मतदान गरेको छ भने जेलन्स्कीलाई भाषण गर्न दिनुपर्ने मत राखेको छ । परिषद्मा आवद्ध १३ देशले रुसको प्रस्तावको विपक्षमा मतदान गरेका छन् ।
जहिल्यै पनि रुसकै पक्ष लिएको भनेर भारतमाथि आरोप लाग्दै आएको थियो । सामान्य औपचारिक प्रस्तावको विपक्षमा मतदान गरेर भारतले आरोपबाट मुक्त हुने मौकालाई उपयोग गरेको छ । यसलाई भारतीय सञ्चारमाध्यमले ‘स्मार्ट गेम’ भनेका छन् ।