०५ असार २०८३, शुक्रबार
सवारी व्यवस्थापन

सरकारलाई गिज्याइरहेको ‘ट्राफिक लाइट’ : पहेंलो बत्ती बालेर सिटी फुक्छन् प्रहरी

असोज २०, २०७९
सरकारलाई गिज्याइरहेको ‘ट्राफिक लाइट’ : पहेंलो बत्ती बालेर सिटी फुक्छन् प्रहरी

काठमाडौं उपत्यकाका अधिकांश चोकमा ट्राफिक लाइटहरू छन् तर सञ्चालनमा भने बिरलै मात्र आउँछन् । विशेषगरी थापाथली चोक, सिंहदरबार अगाडि र नयाँ बानेश्वर चोकमा बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म ‘ट्राफिक सिग्नल’मा पहेँलो बत्ती मात्र झिपिकझिपिक गरिरहेको देख्न सकिन्छ ।

सो समय चोकको मध्यभागमा उभिएका ट्राफिक प्रहरीले सवारी चालकलाई निर्देशनात्मक संकेत दिँदै सवारी आवागमनमा सहजीकरण गर्छन् । झिपिकझिपिक गरिरहेका ट्राफिक लाइटमुनि बसेर सिटी फुक्नु ट्राफिक प्रहरीहरूको दैनिकी नै बनिसकेको छ ।

यसमै बानी परिसकेका हामी नेपालीलाई यो दृश्य सामान्य लागे पनि बाहिरबाट आएकाहरू भने यस्तो देखेर अचम्मित हुने गरेका छन् ।

यता ट्राफिक प्रहरीले भने ‘पीक आवर’मा लाइट सञ्चालन गरेर ट्राफिक व्यवस्थापन गर्नै नसकिने दाबी गरेको छ । अत्याधुनिक प्रविधिको अभाव र सडकको अवस्थाका कारण पीक आवरमा म्यानुअल रूपमै सवारी व्यवस्थापन गर्नुपरेको प्रहरीको दाबी छ ।

‘ट्राफिक लाइट सञ्चालन गर्दा कतिपय अवस्थामा सवारी व्यवस्थापन गर्न असहज हुने गरेको छ । सोही कारण पीक आवरमा लाइट बन्द गरेर म्यानुअल्ली सञ्चालन गर्नुपर्ने अवस्था छ,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बालनरसिंह राणाले लोकान्तरसँग भने ।

फिल्डमा खटिने प्रहरीहरूका अनुसार सवारीको चाप हेरेर लाइटको समयलाई कम तथा बढी गर्न मिल्दैन । यस्तो हुँदा कुनै दिशाबाट कम सवारी आउँदा पनि बढी समय उपलब्ध हुने र कुनै दिशाबाट सवारीको उच्च चाप हुँदा पनि थप समय उपलब्ध गराउन नसकिने अवस्था छ ।

सामान्यतया ट्राफिक लाइट सवारी साधन व्यवस्थापन गर्ने प्रविधि हो । तर नेपालमा भने प्रविधिको प्रयोगलाई प्रयोगभन्दा पनि देखाउने दाँतको रूपमा राखिएको छ । उपत्यकामा मात्रै झण्डै १४ सय ट्राफिक प्रहरी सवारी साधनको दैनिक चाप व्यवस्थापनमा खटिएका छन् ।

साविकको महानगरीय ट्राफिक प्रहरी महाशाखा र अहिलेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा समय–समयमा प्रमुखहरू फेरिँदा प्रविधि मैत्री ट्राफिक व्यवस्थापन गर्छौं भन्ने गरेका छन्, तर व्यवहारमा भने त्यस्तो देखिएको छैन ।

नयाँ प्रमुखहरूले प्रचारबाजीका लागि मात्र नारा प्रयोग गर्ने गरेको देखिन्छ । प्रमुख भएर बिदा हुँदा सरकारले स्रोत साधन उपलब्ध नगराएको, जनतामा चेतना नआएको, सडक साँघुरो भएको भन्दै दोष लगाएर आफू पन्छिने गरेका छन् ।

उपत्यकामा सञ्चालन भएका ट्राफिक लाइटको ‘सिङ्क्रोनाइज’ कसरी गर्ने भन्नेतर्फ कसैको ध्यान गएको देखिँदैन । न त कहाँ ट्राफिक लाइट राख्नु पर्ने हो वा होइन भन्ने सामान्य काम पनि गरेको देखिँदैन ।


 नेपालमा ‘सिङ्क्रोनाइज’ प्रविधि नभएकाले समास्या उत्पन्न भएको काठमाडौं उपत्यका ट्राफिक कार्यलयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले बताए ।

‘अहिले ट्राफिक लाइटमा देखिएको समस्या त्यसलाई सिङ्क्रोनाइज गर्ने प्रविधि नभएर पनि हो,’ प्रवक्ता रिजालले लोकान्तरसँग भने, ‘हामी त्यो प्रविधि ल्याउनका लागि छलफलमा छौं ।’ 

उपत्यकामा ट्राफिक लाइट कुन ठाउँमा आवश्यक छ, कुन ठाउँमा आवश्यक छैन भन्ने विषयमा अध्ययन गर्न ट्राफिक प्रहरीले एउटा टोली परिचालन गरेको छ । त्यसले सबै विषयको अनुसन्धान गरेर प्रतिवेदन दिएपछि मात्र त्यसको व्यवस्थापन हुने एसपी रिजालले दाबी गरे ।

अव्यवस्थित ट्राफिक लाइट

अहिलेसम्म उपत्यकामा अध्ययन र खास योजना विना नै ट्राफिक लाइट जडान हुँदै आएको छ । उपत्यकामा ट्राफिक लाइटैलाइट भएर पनि ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त छ ।

‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी कार्ययोजना २०७८’ अनुसार उपत्यकाका ग्वार्को, सातदोबाटो, चापागाउँ दोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना, जावलाखेल चोक, दमकल मोड, कानदेवतास्थान, बल्खु चोक, थापाथली, माइतीघर, काठमाडौं प्लाजा, कमलादी मोड, जय नेपाल चोक, सिंहदोबाटो, नागपोखरी, इटालीयन एम्बेस्सी मोड, छालगणेश, बालमन्दिर मोड, ज्ञानेश्वर ओरालो चोक, मैतीदेवी चोक, मैतीदेवी मोड, डिल्लीबजार, कलंकी, नयाँबाटो, टेकु, भोटेबाहाल, सोह्रखुट्टे चोक, गल्कुपाखा, डीडीसी मोड, केशरमहल, खानी विभाग, दरबार मार्ग दक्षिण गेट र महेन्द्र शालिक चोकमा राख्ने योजना भएको छ । त्यसमा कतिपय स्थानमा सञ्चालनमा आएका छन् । कतिपय स्थानमा जडान समेत भएका छैनन् । 

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसपी सिताराम रिजालका अनुसार अहिले उपत्यकामा जडान भएकामध्ये ४० वटा ट्राफिक लाइट सञ्चालनमा छन् । १३ वटा ट्राफिक लाइट सञ्चालनको तयारी र ७ स्थानमा जडान हुन बाँकी छन् ।

ट्राफिक नदेखे रातो बत्तीमै हुइँकिन्छन् गाडी !

सञ्चालनमा भएका ट्राफिक लाइटको पालना सवारी चालकले गर्ने गरेका छैनन् । पीक आवरभन्दा अन्य समयमा सडकमा ट्राफिक प्रहरी नदेखे रातो बत्तीमै पनि गाडी हुइँक्याउने प्रवृत्ति छ ।

‘प्रहरीले सिटी फुकेन भने रातो बत्तीमा पनि गाडी हुइँक्याउँछन् । रातो बत्तीमा रोकिन समेत मान्दैनन्, त्यस कारणले ट्राफिक बस्नु परेको हो,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता रिजालले भने ।

पुरानो भएकाले काम गर्न सकेको छैन : सडक विभाग 

उपत्यकामा भएका ट्राफिक लाइटहरू पुरानो प्रविधिको भएका कारणले राम्रोसँग सञ्चालनमा आउन नसकेको सडक विभागका ट्राफिक लाइट प्रमुख वेदबहादुर भुजेलले बताए ।

उनका अनुसार उपत्यकामा अहिले भएका अधिकांश लाइटहरू पुरानो आइसोलेटेड प्रकृतिका छन् । तिनीहरूलाई एक अर्कामा इन्टरकनेक्ट गर्न सकिँदैन । त्यसैले उपत्यकाका सबै ठाउँमा समान हिसाबले ट्राफिक लाइटको व्यवस्थापन गर्न नसकिएको बताए ।

‘हामी अहिले अध्ययनमै छौं । उपत्यकाका रुटलाई कसरी लाइट व्यवस्थापन गरेर चलाउन सकिन्छ भन्ने अनुसन्धान गरिरहेका छौं,’ भुजेलले लोकान्तरसँग भने । उनका अनुसार उपत्यकामा विभिन्न खाले रुट भएकाले एउटा रुटका लागि एउटै प्रकृतिको सफ्टवेयर चाहिने अवस्था छ ।

‘उपत्यकाभरीको ट्राफिक लाइटलाई जाम नहुने गरी सञ्चालन गर्न शफ्टवेयर आवश्यकता पर्छ, त्यो हामी ल्याउने प्रक्रियामा छौं,’ भुजेलले भने । 

उनका अनुसार हरेक चोकमा ट्राफिक लाइट राख्नुपर्छ । तर त्यसलाई सञ्चालनमा भने चुनाैती देखिन्छ । उपत्यका प्रत्येक ५०/६० मिटरको दुरी एउटा चोक भएकाले त्यसलाई व्यवस्थापन गर्न चुनौती रहेको हो ।

अनुसन्धान नगरिकन ट्राफिक लाइट राख्दा समस्या देखिएको छ : सीताराम हाछेथु

उपत्यकामा जथाभावी ट्राफिक लाइट राख्दा समस्या देखिएको पूर्व ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) सीताराम हाछेथुले बताए । 

‘हाम्रोमा ट्राफिक लाइट अव्यवस्थित तरिकाले राखिएको छ । सामान्यतया साँघुरा गल्लीमा ट्राफिक लाइट राख्नुहुँदैन,’ पूर्व इन्स्पेक्टर हाछेथुले लोकान्तरसँग भने, ‘सानो सडकमा एकतर्फी बनाउने हो ।’

उपत्यकामा महानरपालिका, वडा कार्यालय र स्थानीय टोल समितिले जथाभावी ट्राफिक लाइट राख्दा लाइटहरूको सिङ्क्रोनाइज गर्न समस्या आएको छ । सबै ठाउँमा उही साइज र प्रकृतिका लाइट राख्नुपर्ने उनले बताए ।

‘हामीकहाँ कतै साना त कतै ठूला लाइटहरू छन्, जसले गर्दा गाडी चलाउने मान्छे झुक्किने अवस्था छ, त्यस्तो हुनुहँुदैन । सबै ठाउँमा एकै प्रकारको लाइट राख्नुपर्छ,’ हाछेथुले भने ।

तस्वीर : विश्वास खनाल

salt training

कमेन्ट गर्नुहोस्