२४ जेठ २०८३, आइतबार

गोकर्णेश्वरमा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क योग शिविर

फागुन १८, २०७९
गोकर्णेश्वरमा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क योग शिविर

गोकर्णेश्वर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क योग शिविर शुरू गरेको छ ।

नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र नारायणटार जोरपाटीमा नगरस्तरीय योग शिविर शुरू गरिएको हो ।

पतञ्जलि योग समिति नेपालको सहयोगमा शुरू भएको निःशुल्क योग शिविरमा केन्द्रमा रहेका अपाङ्गता भएका व्यक्तिका साथै स्थानीयको पनि सहभागिता छ । योग शिविरको शुभारम्भ गर्दै गोकर्णेश्वर नगर प्रमुख दीपककुमार रिसालले प्रत्येक वडामा कम्तीमा एउटा योग भवन बनाउने लक्ष्यका साथ काम भइरहेको बताए ।

नगर क्षेत्रमा हाल १५ स्थानमा नियमित योग शिविर सञ्चालन भइरहेको र यसका लागि आवश्यक सहयोग गरिएको उनले जानकारी दिए । नगर उपप्रमुख सान्नानी लामाले विद्यालय तहदेखि नै योगको जागरणका लागि नगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रममा योगलाई समावेश गरिएको बताए ।

वडा नम्बर ५ का अध्यक्ष नारायणबहादुर सुवेदी एवं वडा नम्बर ६ का अध्यक्ष नवराज लामाले शारीरिक एवं मानसिक स्वस्थताका लागि सबैलाई नियमित योग अभ्यासमा प्रेरित गर्नुपर्नेमा जोड दिएका थिए । साधवी देवादितीले प्रशिक्षण दिएको कार्यक्रममा पतञ्जलि योग समिति बागमती प्रदेशका सहप्रभारी मोहनमान श्रेष्ठ, काठमाडौं जिल्ला अध्यक्ष सुरेन्द्र रिमाल, महिला अध्यक्ष हीरा अधिकारी, गोकर्णेश्वरका नगर संयोजक प्रमेश अधिकारी लगायतका योग प्रशिक्षकले सहजीकरण गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्