साउन २०, २०८०
माछा धेरैलाई मनपर्छ, त्यसमा पनि टाउको मन पराउने धेरै हुन्छन् । माछाको टाउको खाने चलन नेपालमा मात्र होइन, संसारमा प्रायः सबै देशहरूमा माछाको परिकारलाई मन पराएको पाइन्छ । माछाको टाउकोमा धेरै पोषक तत्वहरू ...
बैशाख १५, २०८०
श्री शेरबहादुर देउवाज्यू,
सभापति नेपाली कांग्रेस ।
राजनीतिक भूकम्पको केन्द्रबिन्दु तनहुँको सदरमुकाम दमौली बजारबाट खुलापत्र लेख्दैछु । तपाईंसम्म निमुखाहरूको आवाज पुग्छ कि पुग्दैन थाह छैन । तर, मनभित्रका ज्वारभाटा रोक्न नसकेर यो पत्र लेख्दैछु । सामाजिक सञ्जाल असामाजिक बन्दै गएको भान शायद तपाईंलाई पनि होला । शान्त भएर आफूमा समाधान खोज्नेभन्दा पनि अरूलाई खराब देख्ने तपाईंको बदलिएको आदतबाट निराश छु । जनजीविकाको सवालभन्दा तपाईंको प्राथमिकता सरकारमा पुग्ने र टिक्नेमा सीमित रह्यो ।
२०४७ सालको राजनीतिक परिवर्तन हुँदा तोते बोली बोल्दै गरेको म आज ४० वर्षको भएँ । तपाईं २०४८ सालमा गृहमन्त्री भइसकेको मान्छे । २०८० सालमसम्म निरन्तर सरकार सञ्चालनको केन्द्रबिन्दुमा हुनुहुन्छ । नागरिकले तपाईंप्रति भरोसा र विश्वास नगरेको हुन् र ? पहिलो/दोस्रोपटक प्रधानमन्त्री हुँदासम्म तपाईंप्रति जनताको उभार कस्तो थियो ? सम्झना छ ?
तपाईं साँच्चिकै क्रान्तिकारी हुनुहुन्थ्यो । तर ती सबै विगत भइसके । तपाईंका लागि ज्यानको बाजीसम्म लगाउन तयार जनमत थियो । तर अब तपाईंसँग समय छैन । नागरिकले तपाईंप्रति कुनै भरोसा नै राख्दैनन् । छ दशक हाराहारीकी मेरी आमाले रुख चिह्नमा मतदान गर्दा हात कमाउनुभयो‚ कारण अरू होइन तपाईं र तपाईंको कार्यशैली हो । तनहुँमा आएर गोविन्दलाई मन्त्री बनाउँछु‚ चितवन गएर जीतनारायणलाई मन्त्री बनाउँछु भन्दा पनि मतदाताले पत्याएनन् । सबैले एक साथमा भने, 'देश बनाउने कुरा गर, एकथान मन्त्री हामीलाई चाहिएको छैन ।'
तपाईंकै जिल्लाबाट सुरु भएको फिलिङ्गो तनहुँसम्म पुगेको छ । कांग्रेस अब दुर्घटनाको डिलमा छ । २५० वर्ष लामो इतिहास बोकेको राजतन्त्र सकिएजस्तै पनि हुन सक्छ । कांग्रेस सच्चिनुको विकल्प छैन । यथास्थितिमा रहनुभयो भने सक्किने कुरा आगामी निर्वाचनको परिणामले पुष्टि गर्नेछ । तपाईंहरूले झण्डै-झण्डै गुमाइसकेको राजनीतिक वैधता २०६२/०६३ सालको आन्दोलनले पुनःस्थापित गरिदिएको हो । सबै गल्तीलाई माफी दिएर पुनः अनुमोदित हुनुभएको थियो । तर, सम्झनुस् त नागरिकको जनजीविकाको सवालमा तपाईंहरू कति इमान्दार हुनुभयो ? तपाईंले ५३ दिन विपक्षी दलको सुविधा पाउँ भनेर संसद् सचिवालयमा निवेदन दिँदा मलाई कुरीकुरी लाग्यो । नियमले पाउने सुविधा किन छाड्ने भन्ने तपाईंको तर्क होला । तर यो पछौटेपनको उपजभन्दा केही होइन । राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा धनकुटे काजीलाई पठाउँदा अलिकति लोकलाजको ख्याल गर्नुभएन ? राजनीतिमा तपाईं अनि तपाईंको पार्टी टिकिरहन केही निर्मम कदमहरू चाल्नै पर्ने देखिन्छ । करिब दुई दशक पार्टीको शुभेच्छुकका नाताले बुँदागत रूपमा निम्नानुसारका सुझावहरू प्रस्तुत गरेको छु ।
१. तपाईं राजनीतिक घटनाक्रमलाई आफूअनुकूल बनाएर लाभ लिन माहिर हुनुहुन्छ । धुमिल हुँदै गरेको छविमा केही सुधार गर्न चाहनुहुन्छ भने जनतासामु उदाहरणीय बन्नुस् । सरकारबाट प्राप्त हुने सबै सुविधाहरू त्याग गर्छु भन्ने हिम्मत गर्नुस् । तलब, भत्ता, औषधि उपचार लगायतका सबै प्रकारका सुविधा त्यागेको स्वघोषणा गर्नुस् ।
२. संसद्मा देखिएको बेथिति अन्त्य गर्न सांसदहरूलाई इमानमा रहन लगाउनुस् । बैठकमा नबस्ने हाजिरी गरेर भाग्ने कामचोर प्रवृत्ति त्याग्नुस् । सांसदलाई तलब-भत्ता पठाउँदा बैठक नबसेको, घर मर्मत, बिजुली पानी लगायत अनावश्यक शीर्षकका रकमहरू राज्यकोषमा फिर्ता गर्न लगाउनुस् । विकृतिको पुलिन्दा बनेको संसद् विकासको बजेटका विषयमा पार्टीभित्र बहस गर्न प्रतिबन्ध लगाउनुस् ।
३. कांग्रेसबाट निर्वाचित/मनोनीत मन्त्री‚ सासंदलगायत स्थानीय तहका सबै जनप्रतिनिधिहरूलाई आर्थिक पारदर्शिता‚ जवाफदेहिताको लगाम लगाउनुस्‚ कर्मकाण्डी होइन यथार्थमा ।
तपाईंका अर्बपति सांसद धनाड्यको पहिलो सूचीमा उक्लिँदै जाने अनि कर तिर्नेमा सयौं पछाडि पर्ने कस्तो अचम्म ? तपाईंलाई उदेग लाग्छ कि लाग्दैन सभापतिज्यू ? पार्टीका अघिपछि घुम्ने यस्ता सबै अर्बपतिलाई करको दायरामा ल्याउनुस् ।
४. राजनीतिक सहमतिको पुलिन्दाका रूपमा रहेको प्रदेश सरकार आवश्यकता र औचित्यका विषयमा पार्टीभित्र बहस गर्न ढिला नगर्नुस् । दुई तहका सरकार नेपालका लागी पर्याप्त छ । यसको नेतृत्व गर्नुस् ।
५. राष्ट्रपति‚ प्रधानमन्त्री‚ सांसददेखि वडा सदस्यसम्म राज्यकोषबाट सुविधा लिने निर्वाचित जनप्रतिनिधिको संख्या करिब ३७ हजार १२ छ । सल्लाहकारलगायत अन्य सुविधा लिनेको संख्या थप २० प्रतिशत हुन आउँछ । सेवा-सुविधा कटौतीसम्बन्धी छलफल प्रस्ताव दर्ता गरी ठोस निर्णय गर्नुस् । तपाईंका केही हजार जनप्रतिनिधि रिसाउँदैमा केही हुँदैन । आर्थिक भार पनि कम पर्नेछ ।
६. खर्च कटौतीका लागि निजामती, सेना, प्रहरी सबैको संख्यामा कटौती गर्नुस् । द्वन्द्व व्यवस्थापन भइसकेपछि ठूलो संख्यामा सेना‚ प्रहरी आवश्यक छैन । सबैका चाहनाले राखिएका जातीय/धार्मिक प्रकृतिका संवैधानिक आयोगहरू खारेज गर्नुस् ।
७. आगामी बजेटलाई लोकप्रियभन्दा पनि श्रोत सुनिश्चित गराएर अधुरा योजनाहरू पूरा गराउनुस् । देशभरी भएका अधुरा योजनाहरूको नियमन गराएर कुनै पनि माध्यमबाट पूरा गराउनुस् । चाहे राष्ट्रिय गौरवका आयोजना हुन् वा ग्रामीण सडक वा आमा समूहको भवन । सरकारले विश्वनीयता गुमाउनु हुँदैन ।
८. नियुक्ति सरुवा बढुवालगायत प्रक्रियालाई पारदर्शी बनाउनुहोस् । संसद्मा पम्फा देवीका नामबाट चर्चा भएको सुन्नुभएकै होला । ठूला खरिद नियुक्तिहरूमा तपाईंहरूको रोजाइ क्षमता विज्ञता भएका व्यक्तिभन्दा कम्फर्टेबल रोजाइ त्याग्नुस् ।
९. श्रममा भएका विदेशी नागरिकहरूको सुरक्षित वातावरण बन्दै बनेन । कहाली लाग्दा घटनाहरू दिनदिनै घटिरहेका छन् । सरकारी संयन्त्र नभएको होइन । तर कामै नलाग्ने र पैसा जम्मा गर्ने अखडाका रूपमा सीमित छन् । आयोग गठन गर्नुस् । वर्तमान अवस्थामा श्रोत सम्भावनाको विश्लेषण गरौँ । २० औं वर्ष विदेशिएका नागरिकहरूको मनमा परिवार अनि देशप्रति कति ज्वारभाटा उठिरहेका होलान् ?
१०. नेपालीहरू ठूलो संख्यामा विदेशिएका छन् । उनीहरूसँग ज्ञान, सीप क्षमता र सम्भावना प्रचुर छ । ती सम्भावनाहरूलाई नेपालमा लगानीयोग्य वातावरण बनाउनुस् । विदेशमा बसेका नागरिकप्रति उदार बन्नुस् । राज्यप्रति विदेशमा रहेका नेपालीको मायालाई पुँजीकृत गर्नुस् ।
रूपान्तरणको सवाल अब तपाईंसँग मात्र सीमित रहेन । पार्टी सभापति र सरकारमा भएको ठूलो दलको हैसियतले तपाईंको दायित्व धेरै हुनसक्छ । अहिलेको सवाल नेतृत्व परिवर्तन मात्र होइन कार्यशैलीमा परिवर्तन हो । सवाल देउवा कि कोइराला भन्ने नै होइन ।
आदरणीय सभापतिज्यू,
बैठकहरूमा तपाईंले प्रस्तुत गर्नुभएका हावादारी तर्कले निरास बनाउँछ । तपाईं सच्चिने कुरा नगर्ने अनि नागरिकमा बदलिएको चेतना स्तरलाई हलुका टिप्पणीले पुग्दैन । उपनिर्वाचनमा गोविन्द भट्टराईको पराजयले नसच्चिए आगामी दिनमा सक्किने पालो तपाईंहरूकै हो । सक्नुहुन्छ भने साधारण नागरिक भएर कुनै दूरदराजको बस्तीमा पुग्नुस् । दु:ख के हो महसूस गर्नुस् । अनि थाहा हुन्छ वास्तविकता । नागरिक भएर कल्पना गर्नुस् त बजार भाउ दिनदिनै बढेको छ । बैंकले ऋण दिँदैन । उद्योगी व्यवसायी धरासायी भइरहेका छन् । नागरिकमा चरम निराशा छ । तपाईं र तपाईंको पार्टीलाई ज्ञानेन्द्रपथमा दौडाएर गूगलमा खोज्ने बनाउने कि बीपी बनेर फुल्ने-फल्ने ? रोजाइ तपाईंकै ।
सन्तोष गोदार‚ दमौली
माछा धेरैलाई मनपर्छ, त्यसमा पनि टाउको मन पराउने धेरै हुन्छन् । माछाको टाउको खाने चलन नेपालमा मात्र होइन, संसारमा प्रायः सबै देशहरूमा माछाको परिकारलाई मन पराएको पाइन्छ । माछाको टाउकोमा धेरै पोषक तत्वहरू ...
रैथाने परिकार प्रबर्द्धनका लागि कृषि ज्ञान केन्द्र रामेछापले बृहत् अभियान शुरू गरेको छ । केन्द्रको रामेछाप र दोलखा जिल्लामा आफ्नो कार्यक्षेत्र हेर्ने जिम्मेवारी रहेको छ । परम्परागत रूपमा चल्दै आएका पुराना मौलिक ख...
राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि इतिहासको विभिन्न कालखण्डमा नेपाली जनताले पटक-पटक गरेका ऐतिहासिक जनआन्दोलन र सशस्त्र संघर्षका क्रममा कम्युनिस्ट एवं लोकतान्त्रिक आन्दोलनका विभिन्न नेता- कार्यकर्ताहरूसँग ...
युवा पुस्तामा मात्र नभई पछिल्लो समय नेपालमा सबै पुस्तामा कफी पिउने संस्कृति दिनानुदिन बढ्दो छ । दूध चिया भन्ने बित्तिकै हुरुक्क हुने हामी नेपाली कफीको संस्कृतिसँगै बिस्तारै विस्थापित हुँदै गएको छ । शह...
कोट नेपालीहरूको अनिवार्य पोसाकजस्तै बनिसकेको छ । विवाह-ब्रतबन्ध, भोजभतेर होस् वा बर्थडे पाटी जताततै कोट लगाउने चलन बढ्दो छ । पाटी भन्नेबितिक्कै पार्टीको कुरा पनि आइहाल्छ । अहिले पार्टी प्रवेश र परित्याग गर्द...
उनकै कार्यकर्ताले मानेनन्, अझ भनौं झन् बढी उल्लंघन गरे, यो बेग्लै कुरा हो तर सरकारबाट हटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा असाध्यै राम्रो कुरा गरेका थिए २०७८ फागुन २७ गते पोखरामा । अन्य दलका क...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...