
नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ ।
हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्यो भने हामीले न्युरोडको गुदपाक पसललाई सम्झिहाल्छौं ।
वर्षाैंदेखि गुदपाक व्यवसायमा लागेर गुजारा गर्नेहरू न्युरोड र आसपास धेरै छन् ।
गुद प्रयोग गरेर बनाइने नेपालको अर्को प्रसिद्ध परिकार भनेको सुत्केरी मसला पनि हो । सुत्केरी मसलाको माग नेपालमा निकै नै छ । शरीर बानिने र दुखाइ कम हुने हुनाले सुत्केरी भएको समयमा यो मसला या गुदपाक खुवाइने पुरानो चलन छ । सुत्केरी मसला बनाउँदा विना गुद बनाउन सकिन्न । जुन मसलामा गुद, गरम मसला र विभिन्न ड्राइ नट्सलाई शुद्ध घ्यूमा भुटेर ब्ल्यान्ड गरिन्छ ।
गुद केबाट बन्छ ? यसको खेती कसरी गरिन्छ ?
धेरै कमलाई मात्र थाहा छ । गुद गुदपाक बनाउन र सुत्केरी मसला बनाउन मात्र प्रयोग हुँदैन । गुद धेरै खानाका परिकार बनाउँदा मात्र होइन, औषधीय प्रयोजनका लागि पनि निकै प्रसिद्ध छ ।
गुद या बबुलको वैज्ञानिक नाम अकासिया हो । यो विरुवा संसारको जुनसुकै स्थानमा उपलब्ध हुँदैन । गुदको रुख अस्ट्रियामा निकै पाइन्छ र यसलाई स्थानीय भाषामा वाटल भनेर चिनिन्छ भने अफ्रिकामा भेल्ड अर्थात् सबान्ना नामले प्रसिद्ध छ । गुद भनेको एक विरुवाको चोप हो, जुन निकै गडक हुन्छ । गुदलाई दूधमा मिसाएर खान सकिन्छ भने लड्डु बनाउँदा पनि निकै उपयोगी मानिन्छ । विभिन्न थरिको हलुवा बनाउँदा पनि गुद घ्यूमा फुराएर मिसाउने चलन छ ।
हड्डीको समस्या हुनेलाई पनि गुद खुवाइनु निकै उपयोगी मानिन्छ । शरीरमा स्फूर्ति बढाउन पनि बेलाबेला गुदको सेवन गर्नु राम्रो मानिन्छ । मुटु सम्बन्धी समस्या हुनेहरूका लागि पनि गुदको सेवन उत्तम मानिन्छ । पुरुषहरूका लागि झन् गुद सेवन अत्यन्त फाइदाजनक मानिन्छ, जसले शरीरका सम्पूर्ण अंगहरू मजबुत बनाउन मद्दत गरेको हुन्छ ।
दाँतका लागि झन् गुद निकै राम्रो दवाइ नै मानिन्छ । मिस्री, दही, दूध या कुनै पनि मिठाइमा गुद मिसाएर खान सकिन्छ र यसका कैयौ फाइदाहरू छन् । गुद खानाले लु लाग्ने डर पनि हुँदैन । क्यान्सर, घाँटीमा गलगाड, शरीरमा हुने इन्फेक्सन सबैजसो समस्याहरूको समाधानका लागि गुद बहुउपयोगी हुन्छ । घाँटीमा टन्सिल हुने समस्याका लागि पनि गुद उपयोगी मानिन्छ ।
खासै भन्ने हो भने गुदको खेती किसानहरूले गर्दैनन् । गुदको रुख जंगल या मरुभूमितिर आफैं हुर्केको हुन्छ । किसानहरूले जंगलमा गएर कुनै हतियारले रुखलाई केही भाग काटेर चोट लगाइ छाडेको हुन्छ र त्यहीबाट चोप झर्न थाल्छ र जम्छ । जमेपछि यसको रंग क्रिस्टल या मिस्री जस्तो देखिन्छ र यसलाई बजारमा बेच्न लगिन्छ ।
बजारमा गुदको माग बढ्दो छ र किलोको ३०० देखि ३ हजार रुपैयाँसम्ममा बेचिन्छ । गुदको माग दिनानुदिन बढ्दै जाँदा भारतीय किसानहरूले यसको व्यावसायिक खेती समेत शुरू गरेका छन् । १२–४५ डिग्री सेन्टिग्रेट तापक्रममा यसको खेती सजिलै गर्न सकिन्छ, जहाँ उर्बराशक्ति कम छ, त्यो ठाउँमा गुदको खेती गर्न सकिन्छ ।
भारतमा गुदको खेती गर्नेलाई सरकारबाट ५० प्रतिशतसम्म अनुदान प्रदान गरिएको छ । बजारमा यसको माग दिननुदिन बढ्दै जाँदा जंगलबाट संकलन गरिएको गुद अपुग भएका कारण सरकारले किसानलाई प्रोत्साहनस्वरूप यसको खेती गर्न अनुदान प्रदान गर्दै आएको छ ।
विभिन्न औषधि बनाउन प्रयोग गरिने गुद आयुर्वेद दुनियाँमा पनि निकै उपयोगी जडी मानिन्छ । मूत्रदोषको समस्या निदानका लागि पनि गुद राम्रो मानिएको छ । कब्जियत समस्या हुनेका लागि पनि गुदका धेरै गुणकारी फाइदा छन् । महिलाहरूको स्तन बढाउन पनि गुद फाइदाकारी मानिएको छ । पकवान क्षेत्रमा पनि गुदको ठूलो योगदान छ । सलाद बनाउँदा होस् या सस बनाउँदा होस्, गुद हालेर बनाउँदा छुट्टै मिठास र स्वास्थ्यलाभ मिल्छ ।
विभिन्न मिठाइ तथा आइसक्रिम बनाउन पनि गुदको प्रयोग गरिन्छ । गुद एक प्राकृतिक जडीको गम भएका कारण खासै साइडइफेक्ट पनि हुन्न । गुदको कुनै–कुनै प्रजाति भने हानिकारक पनि हुनसक्छ । तसर्थ खान मिल्ने गुदको रुखबाट मात्र चोप निकालेर सुकाइ प्रयोग गर्नुपर्ने हुन्छ । मासिक रक्तश्राप गडबड हुनेलाई पनि गुद सेवन फाइदाजनक छ । माइग्रेन र टाउको दुख्ने समस्या हुनेलाई पनि गुद राम्रो मानिन्छ ।