२६ जेठ २०८३, मंगलबार

‘माग्ने बुढा’लाई बचाउन जन्माएको ‘बल्छी धुर्वे’ क्यारेक्टर, त्यही बन्यो मरिचमानको परिचय

‘फिल्म निर्माणको तयारी गर्दैछु’
जेठ ६, २०८०
‘माग्ने बुढा’लाई बचाउन जन्माएको ‘बल्छी धुर्वे’ क्यारेक्टर, त्यही बन्यो मरिचमानको परिचय

‘९० प्रतिशतले बल्छी भनेर चिन्नुहुन्छ, त्यही भनेरै बोलाउनुहुन्छ । वास्तविक नाम त हराएजस्तै भएको छ ।’ 

यो भनाई चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठको हो । जसको रियल नामलाई रिलको नामको लोकप्रियताले छोपेको छ । 

उनी मरिचमानभन्दा ‘बल्छी धुर्वे’का नामले यत्रतत्र छाएका छन्, रिल नामबाट कलाकारितामा छुट्टै पहिचान बनाएका छन् । आफूले निर्वाह गरेको पात्रमार्फत दर्शकमाझ चिनिन पाउँदा छुट्टै खुशी लाग्ने उनी बताउँछन् ।

मरिचमानले ‘बल्छी धुर्वे’को परिचय हास्य टेलिशृंखला ‘मेरी बास्सै’बाट पाएका हुन् । ‘बल्छी धुर्वे’ क्यारेक्टरको जन्मदाता भने केदार घिमिरे ‘माग्ने बुढा’ रहेछन् । 

हास्य टेलिशृंखला ‘जिरे खुर्सानी’ हुँदै केदारको माध्यमबाट मरिचमान ‘मेरी बास्सै’सम्म जोडिएका थिए । ‘जिरे खुर्सानी’मा भने उनी जितु नेपालको माध्यमबाट जोडिएका थिए । ‘जितु दाइको फोन नम्बर पाएको थिएँ । उहाँलाई फोन गरेर ‘जिरे खुर्सानी’मा रोलका लागि अनुरोध गर्थे । त्यहाँ कतैकतै देखिने अवसर पाएँ,’ मरिचमानले शुरूआती दिन सम्झिए, ‘सोही क्रममा केदार दाइको फोन नम्बर पाएँ । उहाँलाई दिनहुँ फोन गरेर ‘मेरी बास्सै’मा रोलका लागि अनुरोध गर्न थालें । उहाँले ‘आऊ तर अहिले नै रोल चाहिँ पाइन्न’ भनेर बोलाउनुभयो । त्यसपछि ‘मेरी बास्सै’को सेटमा दैनिक जान थालें ।’

सिरियलमा उनले स्पटब्वाय, साउन्ड म्यान भएर काम गरिरहेका थिए । कहिलेकाहीँ आक्कलझुक्कल देखिने अवसर पनि पाउँथे सिरियलमा । 

केदार र सिताराम कट्टेल ‘धुर्मुस’को लेखन एवं निर्देशनमा सिरियल तयार हुँदै आएको थियो । उनीहरू सिरियलमा शीर्ष भूमिकामा अभिनय समेत गर्दै आएका थिए । 

सोहीबखत सिरियलमा आगामी एपिसोडका लागि यस्तो कथा सिर्जना गरियो, ‘माग्ने बुढा’ पात्रलाई अपहरण गरेर खोलामा फालिएको दृश्य देखाउनुपर्ने भयो । अब ‘माग्ने बुढा’लाई खोलाबाट बचाउने एक पात्र आवश्यक देखियो ।
 
कस्तो पात्र ? माझी । 

केदारले भने, ‘ल अब, मरिचको पालो । उसलाई माझी बनाउनुपर्‍यो ।’

अब चाहियो पात्रको नाम ।

माझी भएपछि खोलासँग जोडिएको नाम सोच्न थालियो । ‘बल्छी धुर्वे भन्दा क्याच्चि हुन्छ,’ केदारले नै नाम जुराइदिए । त्यसपछि मरिचमान ‘बल्छी धुर्वे’ बनेर सिरियलमा प्रस्तुत हुन थाले । 

‘मेरी बास्सै’मा ‘माग्ने बुढा’ पात्रलाई बचाउन सिर्जना गरिएको ‘बल्छी धुर्वे’ पात्रको भूमिका सिरियलमा क्रमशः बढ्दै गयो, दर्शकले पनि रुचाउँदै गए । 

सितारामसँग मरिचमान स्टेज कार्यक्रमतिर जान थाले । देशदेखि विदेशमा पुगेर प्रस्तुति दिन थाले । लोकप्रियता, व्यस्तता दुवै चुलिँदै गयो मरिचमानको । 

null

त्यसयता मरिचमानले करिअरमा पछाडि फर्किनुपरेन । पछि कलाकार राजु पौडेल ‘राजु मास्टर’सँग मिलेर केही समय ‘मेरी बास्सै’को लेखक एवं निर्देशकको भूमिकामा समेत रहे । 

केही वर्षयता भने मरिचमान टेलिशृंखला ‘हल्का रमाइलो’ र ‘जुठे’मा देखिँदै आएका छन् । ‘मेरी बास्सै’बाट जोडिएको ‘राजु मास्टर’ र ‘बल्छी धुर्वे’को सहकार्य निरन्तर चलिरहेको छ । 

‘हल्का रमाइलो’ र ‘जुठे’ दुवै सिरियललाई यी दुईले मिलेर संयुक्त रूपमा लेखन एवं निर्देशन गर्दै आएका छन् । दुवै सिरियल दर्शकमाझ निकै लोकप्रिय छन् । 

‘बल्छी धुर्वे’ केदार घिमिरे र सिताराम कट्टेल दुवैलाई आफ्नो गुरु मान्छन् । ‘दुवै दाइहरूले एकदमै माया गर्नुभयो । उहाँहरूप्रति एकदमै कृतज्ञ छु,’ उनी भन्छन् । 

null

‘फल्यास ब्याक’ : सानैदेखि गाउने, अभिनय गर्ने

कलाकारिता मरिचमानको बाल्यकालदेखिकै रुचि हो वा पछि पलाएको ? त्यो जान्नका लागि उनको गृहजिल्ला गोरखामा फर्किनुपर्ने हुन्छ । जहाँ उनी जन्मिए, बाल्यकाल बिताए । 

परिवार, आफन्त एवं समाजमा कलाकारितामा लागेका कोही थिएनन्, उनमा भने सानै उमेरदेखि गायन र अभिनयमा रुचि बढ्दै थियो । 

रेडियोमा बज्ने गीतहरू सुनेर कपीमा टिपोट गर्ने उनी टेलिभिजनमा टेलिसिरियलहरू पनि खुबै हर्थे । उनी गाउनेसँगै विशेषगरी क्यारिकेचर गर्थे ।

‘गायन र अभिनय दुवैतर्फ रुचि थियो,’ उनी सम्झिन्छन्, ‘स्कूल पढ्दादेखि पछि गएर कलाकार बन्नुपर्छ भन्ने सोच्थें ।’ 

एसएलसी सकियो । उनी कलेज पढ्न र कलाकारितामा केही गर्ने भनेर राजधानी छिरे तर राजधानीमा उनले सोचेको जस्तो सजिलो कहाँ थियो र ? बिरानो ठाउँ, अन्जान मान्छेहरू । राजधानीमा टिक्नका लागि पनि निकै गाह्रो थियो । 

‘काठमाडौं आएपछि पैसा नहुँदा जागिर खानका लागि धेरै ठाउँ भौतारिएको छु,’ मरिचमान ती दिन सम्झिँदै अगाडि भन्छन्, ‘ट्वाइटेल सफा गर्ने, भूइँ पुछ्ने लगायतको काम पनि गरेको छु । अहिले ती कामहरू सम्झिँदा आफूप्रति प्राउड महसूस हुन्छ ।’

विगतमा गरेको दुःख, संघर्षले अहिले आफूलाई बलियो बनाएको उनको बुझाइ छ । 

null

गायक पनि

मरिचमानको अर्को परिचय पनि बनिसकेको छ, त्यो हो गायक । काठमाडौं आएपछि उनले पहिले संगीत विषय पढेका थिए । ललितकला क्याम्पसमा ‘प्लस टु’मा संगीत विषय अध्ययन गरेपश्चात मात्रै उनी दर्पण फिल्मस्मा अभिनय सिक्न थालेका थिए । 

सानैदेखिको गायनप्रतिको रुचि उनमा अहिले पनि उत्तिकै छ । सिरियलतिर काम गर्दा पनि उनले घरमा ‘रियाज’ गरिरहेका हुन्थे । 

२०७२ सालतिर उनले ‘टाढा छैनौ जस्तो लाग्छ’ बोलको गीत गाएका थिए । त्यसपछि उनी सिरियलतिरै बढी व्यस्त भए, यद्यपि गाउने चाहना भने सधैं रहिरहेको थियो ।

२ वर्षअघि उनले ‘पारीवन हरियो’ बोलको तीज गीतमा स्वर दिए । यो गीतले स्रोता दर्शकमाझ राम्रो चर्चा पायो । ८ महिनाअघि अर्को गीत ल्याए, ‘आँखै लाउनी हो ।’ 

यो गीतले पनि यूट्युबमा राम्रो भ्युज पायो । ‘गायनमा म व्यावसायिक रूपले होइन, पहिलेदेखिको इच्छालाई मार्नु हुँदैन भनेर गाउने गरेको हुँ,’ उनी भन्छन्, ‘धेरैले बल्छीको स्वर पनि राम्रो रहेछ भन्ने खालका प्रतिक्रियाहरू दिनुभएको छ । त्यस किसिमका प्रतिक्रियाले एकदमै खुशी मिलेको छ ।’

उनले अन्य गीतको तयारी समेत भइरहेको जानकारी दिए । छिट्टै कथानक गीत ल्याउने तयारीमा आफू रहेको उनले बताए । 

सिरियलको स्तरीयता खस्किएको हो ?

मरिचमान पछिल्लो समय सिरियलको संख्या बढेको तर स्तरीयता भने खस्किएको बताउँछन् । अहिले कमेडीको नाममा भद्दा कमेडी पनि गर्ने गरिएको उनको गुनासो छ । सामाजिक, पारिवारिक कथाहरू पनि कमै देखिने गरेको उनको बुझाइ छ । 

‘सिरियल भनिसकेपछि परिवारका सबै सदस्यहरू बसेर हेर्न मिल्ने खालको हुनुपर्छ जस्तो लाग्छ,’ उनी भन्छन्, ‘तर कतिपय सिरियलमा बुवाछोरी बसेर हेर्न नमिल्ने सिनहरू, अपाच्य शब्दहरू समेत प्रयोग गरिएको पाउँछौं ।’ 

हामीले के बनाइरहेका छौं, कसका लागि बनाइरहेका छौं भन्ने कुरा निर्माताले सोच्नुपर्ने उनी बताउँछन् । 

स्तरीयता घट्नुमा मेहनत र अध्ययन कम भएको मरिचमानको बुझाइ छ । सिरियलका कलाकारहरूको आयस्रोतको हिसाबले भने पहिलेभन्दा अहिले राम्रो रहेको उनी बताउँछन् ।

‘यूट्युब नहुञ्जेल टीभीसँग मात्रै भर पर्नुपथ्र्यो । त्यसबेला धेरैथोरै पारिश्रमिक पाउँथ्यौं,’ उनी भन्छन्, ‘तर अहिले जो मेकर छ, उसलाई धेरै राम्रो छ । कलाकारहरूलाई पारिश्रमिक पनि राम्रो हुने गरेको छ ।’ 

व्यवसायमा पनि मरिचमान

मरिचमान व्यवसायमा पनि सक्रिय छन् । ४ वर्षदेखि वनस्थली खरीबोटमा ‘बल्छी धुर्वे फूटसल’ सञ्चालनमा ल्याएका छन् । ढुंगेधारामा उनको चप्पल पसल पनि छ ।

‘कलाकारितामा कहिलेकाहीँ फ्री भइन्छ । त्यो समय व्यवसायमा दिन सकियो भने सजिलो पनि हुन्छ,’ उनले भने, ‘कहिलेकाहीँ कलाकारिताबाट कमाइ नहुँदा व्यवसायले बाँचिरहन दिन्छ ।’ 

nullफिल्म निर्माणको तयारी

मरिचमानले फिल्म निर्माणको तयारी पनि थालेका छन् । उनले सामाजिक कथावस्तुमा आधारित फिल्म निर्माण गर्ने तयारी गरेको जानकारी दिए । ‘अहिले कथामा काम गरिरहेको छु । सामाजिक विषयवस्तुमा फिल्म बनाउने तयारी हो,’ उनले भने, ‘समाजको प्रतिनिधित्व गर्ने, समाजमा भएको घटनालाई जस्ताको जस्तै देखाउने प्रयास रहनेछ । अबको १ वर्षभित्रमा फ्लोरमा लैजाने योजना छ ।’

फिल्म उनको एकल लगानीमा बन्न लागेको भने होइन । शेयरमा काम गर्ने टीम भए लगानीमा सहज हुने मरिचमान बताउँछन् । निर्देशनको पनि टुंगो लागिसकेको छैन । यद्यपि आफूले लेखेको कथा भएकाले निर्देशन आफैंले गर्ने सोच उनको छ ।
 
‘१ जनाले लेखेको कथा, अर्कोले निर्देशन गर्दा त्यो पर्दामा जीवन्त नउत्रिन पनि सक्छ । त्यसैले पनि आफैंले निर्देशन गर्ने सोच बनाएको हुँ,’ उनले सुनाए । 

फिल्ममा लिड भूमिकामा आफू नदेखिने उनले बताए । उनले भने, ‘लिडमा म होइन, मभन्दा अग्रज दाइदिदीहरू हुनुहुनेछ । सहायक रोलमा अवश्य पनि देखिनेछु ।’ फिल्म निर्माणमा लागे पनि सिरियललाई पनि निरन्तरता दिनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्