×

NIC ASIA

पालिकादेखि हाजिरीसम्म

संघीय मामिलामा मन्त्री-सचिव टसलको चुरो कुरो– सरुवा र पीसी !

काठमाडाैं | साउन ५, २०८०

Prabhu Bank
NTC
Premier Steels

कर्मचारी सरुवाको विषयलाई लिएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करबीच झन्डै एक महिनादेखिको टसल उत्कर्षमा छ ।

Muktinath Bank

पालिकाहरूमा योजनाको भुक्तानी र त्यसबापत कर्मचारीदेखि मेयर/अध्यक्षसम्मका जनप्रतिनिधिले भागबण्डामा पाउने पीसी (पर्सनल कमिसन) सरुवा विवादको मूल जड रहेको स्रोतको दाबी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

असार आर्थिक वर्ष समापन हुने महिना भएकाले विभिन्न स्वार्थ समूहको चाहनाअनुसार कर्मचारी सरुवा गर्ने काममा मन्त्री, सचिवदेखि मन्त्रालयकै कतिपय कर्मचारी र बिचौलियाहरूको व्यापक चलखेल हुने स्वयं कर्मचारीहरू स्वीकार्छन् ।


Advertisment
Nabil box
Kumari

खास गरेर स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि मेयर, उपमेयरदेखि वडाध्यक्ष र निमित्त पाएका प्रमुख प्रशासकीय अधिकृतसम्मले सकेसम्म आ-आफ्नो पैरवी गर्ने गर्छन् । निमित्तको रूपमा टिकिरहने वा आफूले चाहेको प्रमुख प्रशासकीय अधिकृत टिकाउनेमा जोडबल हुन्छ ।

Vianet communication

खास गरेर मधेश प्रदेश र अन्य प्रदेशका पनि तराई भू-भागका पालिकामा 'सरुवा गराउने र जसरी पनि असार मसान्तसम्म टिकाउने' दुईतर्फी शक्तिसंघर्ष चलिरहन्छ ।

पालिकाका जनप्रतिनिधिले आफूसम्बद्ध राजनीतिक दलका नेतादेखि सांसद, मन्त्रीसम्मको पावर लगाउने गर्छन् भने निमित्त पाएका प्रशासकीय अधिकृतले पनि कर्मचारीको ट्रेड युनियनदेखि सरुवा गराउने बिचौलिया, नेता, सांसद, मन्त्रीसम्म सकेसम्म ताकत लगाउने गर्छन् ।

पालिकाको योजना भुक्तानी र त्यसमा पाउने कमिसनको भागबण्डा नै दुई निकायबीच शक्ति संघर्षको मुख्य कारण बन्ने गरेको हुन्छ ।

काम सम्पन्न नभए पनि भुक्तानी गराउन स्थानीय जनप्रतिनिधिले पालिका प्रमुखमाथि दबाब दिने गर्छन् । आफ्नो अनुकूलको प्रशासकीय अधिकृत भए मिलेर कमिसनको भागबण्डा तय गरी काम सम्पन्न नभए पनि भुक्तानी हुने गर्छ । तर, अनुकूल नहुँदा भुक्तानी रोकिने र कमिसन पाउनबाट समेत वञ्चित हुने हुँदा दुवैबीच टकराव अन्तिम तहसम्म पुग्छ । र, त्यो टकराव अन्ततः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्म पुग्छ ।

त्यही टकराव र टसल २०८० असार २८ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अन्ततः विस्फोट भयो । विभिन्न पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गर्नका लागि असारको प्रारम्भदेखि दिँदै आएको मौखिक निर्देशनलाई अटेर गरिरहेका सचिव पुष्करको हाजिरीमा नै रातो लगाएर मन्त्रीले आफ्नो भडास पोखेका थिए ।

असार २८ गते मन्त्री मोदीले छड्के गरी कार्यालयमा अनुपस्थित देखिएको भन्दै सचिव  पुष्कर र सहसचिव स्किम श्रेष्ठको हाजिरी पुस्तिकामा रातो घेरा लगाइदिए ।

साढे ४ बजेतिर मन्त्री मोदीले सचिव पुष्कर र सहसचिव श्रेष्ठको कार्यकक्षमा पुगी अनुपस्थित भएको देखेपछि उनीहरूले बिहान १० बजे नै गरिसकेको हाजिरीमा रातो घेरा लगाएर कैफियत नै लेखे ।

सचिव पुष्करको हाजिरीमा '२०८० असार २८ गते विनाजानकारी आफूखुशी हिँडेको र कार्यालय समयमा नरहेको' भन्ने कैफियत लेखी मन्त्री मोदीले आफ्नो हस्ताक्षर पनि गरेका थिए ।

त्यसैगरी सहसचिव श्रेष्ठको हाजिरीमा 'कार्यक्रममा सहभागी हुँदा सम्बन्धित मन्त्रीलाई समेत जानकारी नगराएको साथै छड्के गर्दा आफ्नो कार्यकक्षमा नरहेको' भन्दै मन्त्री मोदीले रातो अक्षरले कैफियत लेखेका थिए ।

मन्त्री मोदी कार्यालयमा सुशासन कायम गराउन छड्के गर्दा अनुपस्थित रहेका कारण रातो लगाएको बताउँछन् ।

'मैले सुशासनका निम्ति आफ्नै मन्त्रालयमा यसअघि यिनै सचिव पुष्करमार्फत छड्के गर्न लगाउँदा १०४ जना आफ्नै मन्त्रालयका कर्मचारीहरूको हाजिरीमा उहाँले रातो लगाउनुभएको थियो,' मन्त्री मोदीले लोकान्तरसँग भने, 'त्यसैगरी मैले पनि २८ गते मन्त्रालयमा छड्के गर्दा सचिव र एक सहसचिव कार्यालयमा नदेखेपछि रातो लगाएको हो ।'

कुनै बदनियत राखेर वा आग्रह/पूर्वाग्रह राखेर छड्के नगरिएको मन्त्री मोदीको जिकिर छ । यसअघि निजामती किताबखानाको कार्यालय, सिभिल अस्पताल लगायतमा समेत छड्के अनुगमन गरिएको हुनाले यसलाई त्यसैको निरन्तरताको रूपमा बुझ्नुपर्ने उनको दाबी छ ।

'यहाँ मन्त्रालयमा सेवाग्राहीहरूको भीड छ, तर सचिवज्यू कुनै जानकारी नगराई सधैं गायब भइदिने गर्नुहुन्छ,' मोदीले लोकान्तरसँग थपे, '२८ गते एक त मन्त्रालयमा सेवाग्राहीहरूको भीडभाड थियो । म राष्ट्रियसभामा जवाफ दिन जानुपर्ने अवस्थामा उहाँ उपलब्ध हुनुभएन ।'

राष्ट्रियसभाबाट फर्किएर मन्त्रालय आउँदा पनि सचिव नभएपछि छड्के गरी रातो लगाउन बाध्य भएको जिकिर उनले गरे ।

'छड्के गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गएको हुनसक्ने भन्ने सूचना पाएपछि मैले मुख्यसचिव वैकुण्ठ अर्याललाई फोन गरेर हाम्रो सचिवज्यू तपाईंकोमा हुनुहुन्छ ? भनेर सोधें । तर, उहाँ बिहान त आउनुभएको थियो, अहिले हुनुहुन्न भनेर मुख्यसचिवज्यूले मलाई फोनमै जानकारी गराउनु भयो,' मन्त्री मोदीले थपे, 'त्यसपछि मैले छड्के गरी उहाँको हाजिरीमा रातो लगाएको हो । आखिर यो मन्त्रालयबारे प्रधानमन्त्रीज्यूलाई त मैले जवाफ दिनुपर्छ ।'

त्यस दिन पनि सचिवलाई पटक-पटक फोन सम्पर्क गर्ने प्रयास गरेको तर कुराकानी हुन नसकेको उनको दाबी छ ।

यता सचिव पुष्कर भने त्यो दिन बिहानै ८ बजे मन्त्रालय आएर विभिन्न मिटिङ गरी प्रधानमन्त्री कार्यालय गएको बताउँछन् ।

त्यति मात्र होइन, आफूसहित केही सहसचिवहरू मन्त्रीसँगै बसेर राष्ट्रियसभामा दिने जवाफका लागि टिपोट समेत तयार पारेको उनको भनाइ छ ।

'राष्ट्रियसभामा मन्त्रीज्यूले के बोल्नुहुन्छ भन्ने कुराको जवाफ तयार पारेर, एक जना सहसचिवलाई उहाँसँगै खटाएर म प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गएको थिएँ,' सचिव पुष्करले लोकान्तरसँग भने, 'त्यो दिन गिट्टी, ढुंगा, बालुवा तथा क्रसरसँग सम्बन्धित कानून बनाउनका लागि मुख्यसचिवज्यूले डाक्नुभएको बैठकमा सहभागी थिएँ ।'  

उनले थपे, 'प्रधानमन्त्री कार्यालयमा तीनवटा मिटिङ थियो । त्यो सबैमा म सहभागी भएँ । सोही बेला मन्त्रीज्यूले मुख्यसचिवज्यूलाई फोन गरी म बैठकमा छु कि छैन भन्ने सोध्नुभयो । मुख्यसचिवज्यूले यहीँ हुनुहुन्छ भन्दाभन्दै मेरो हाजिरीमा रातो लगाउनुभयो,' सचिव पुष्करले लोकान्तरसँग भने ।

मन्त्रीलाई सचिवको हाजिरीमा रातो लगाउने अख्तियारी नै नरहेको उनको जिकिर छ । 'एक त म त्यो दिन बिहानदेखि नै काममा थिएँ । त्यसमा पनि सचिवको हाजिरीमा रातो लगाउने अधिकार मन्त्रीज्यूलाई कुनै पनि कानूनले प्रदान गरेको छैन,' उनले लोकान्तरसँग भने ।

मन्त्रीको गुनासैगुनासो, सचिवको आफ्नै दलिल

कर्मचारी सरुवा गर्नका लागि भन्दा सचिवले नमान्ने, विना जानकारी कार्यालय समयमा गायब हुने गरेको मन्त्री मोदीको आरोप छ । 'उहाँ(पुष्कर)को शुरूदेखि नै संघीय मामिला मन्त्रालयमा काम नगर्ने भन्ने सोच रहेको पाएको छु,' उनले थपे, 'उहाँ यसअघि राजश्व सचिव, अर्थसचिव समेत भएकाले फेरि पनि अर्थसचिव वा गृहसचिव हुन खोज्नुभएको थियो । संघीय मामिला मन्त्रालय उहाँको प्राथमिकतामा नै नपरेकोजस्तो देख्छु ।'

विभिन्न बहानामा निर्देशन पालना नगर्न खोज्ने, टार्न खोज्ने, भागीभागी हिँड्न खोज्ने प्रवृत्ति आफूले पाएको उनले सुनाए ।

'राष्ट्रपति कार्यालयको सचिवालयबाट एकजना उपसचिव पठाइदिन माग आएको थियो । स्वास्थ्यमन्त्रीज्यूले पनि एकजना उपसचिव पठाइदिन आग्रह गर्नुभएको थियो । केही स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेरफेर गर्नका लागि व्यापक दबाब आएको थियो,' मन्त्री मोदीले लोकान्तरसँग भने, 'कम्तीमा यति सरुवा गरिदिनुपर्‍यो भन्दा असार मसान्तमा गर्न सकिँदैन, साउन ७ गते कार्यसम्पादन मूल्यांकन भएपछि मात्र गर्ने भनेर सचिवज्यूले टार्ने काम गर्नुभयो ।'

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको काम नै कर्मचारी सरुवा गर्ने भएकाले विशेष परिस्थितिमा माग भएकाले सरुवा गरिदिन भन्दा पनि सचिवले नटेरेको आरोप उनले लगाए ।

हाजिरीमा रातो लगाएकै विषयलाई लिएर मन्त्री मोदीसँग कुनै किसिमको तनाव नरहेको सचिव पुष्कर बताउँछन् ।

'उहाँ हाम्रो आदरणीय मन्त्री हो । मेरो हाजिरीमा रातो लगाउनुभएको विषयमा हामीबीच कुनै किसिमको टसल छैन । दिनहुँ उहाँसँग मेरो बैठक हुन्छ, सरसल्लाह हुन्छ,' सचिव पुष्करले भने ।

मन्त्री मोदीले पनि सचिवसँग कुनै पनि टसल नभएको प्रतिक्रिया दिए । तर, मन्त्री र सचिवका निकटस्थहरू भने दैनिक भेटघाट र कुराकानी भइरहे पनि सम्बन्ध भने ठीकठाक नचलेको बताउँछन् ।

'मन्त्रीज्यू राजनीतिक व्यक्ति भएकाले विभिन्न मन्त्रालयका मन्त्रीदेखि प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि पनि उहाँलाई नै सरुवाका लागि माग गर्नुहुन्छ,' ती कर्मचारीले लोकान्तरसँग भने, 'सरुवाका लागि विशिष्ट व्यक्तित्वहरूबाट रिक्वेस्ट भएर आएको छ । सरुवा गरिदिनुपर्‍यो भन्दा पनि सचिवज्यूले मन्त्रीजीलाई टेर्नुहुन्न ।'

त्यति मात्र होइन, हरेक मन्त्रालयका मन्त्रीले प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा जवाफ दिने बेलामा सबै मन्त्रालयका सचिव आफै संसद्मा उपस्थित हुने गरेको भए पनि सचिव पुष्कर कहिल्यै उपस्थित नभएको उनले खुलाए ।

केही साताअघि मन्त्री मोदी कोरिया भ्रमणका लागि जाँदा सचिव पुष्कर ढिलो गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

'मन्त्रीज्यू पहिले कोरिया जानका लागि विमानस्थल पुगिसक्नुभएको थियो तर त्यहाँ उहाँलाई बिदाइ गर्न सचिव नै पुग्नुभएको थिएन, पछि मात्र सचिव त्यहाँ पुगे,' उनले थपे, 'सामान्यतया मन्त्रीको विदेश भ्रमण हुँदा सचिव पनि विमानस्थलमा पुगेर बिदाइ गर्ने, आउँदा विमानस्थलमा नै स्वागत गर्ने अभ्यास र प्रचलन छ । तर, हाम्रो सचिवज्यू त्यतिसम्म पनि कर्टसी मेन्टेन गर्न चाहनुहुन्न ।'

मन्त्री मोदी विदेश जाने दिन नवनियुक्त मुख्यसचिव वैकुण्ठ अर्यालको पहिलो बोर्ड बैठकमा सहभागी हुनुको साथै सिभिल अस्पतालसम्बन्धी एमआरआईका विषयमा इमर्जेन्सी मिटिङमा सहभागी हुनुपरेकाले विमानस्थल पुग्न समय लागेको पुष्करको भनाई छ ।

'यति व्यस्तताका बावजुद मैले सहसचिव बलराम रिजालज्यूको नेतृत्वमा कर्मचारीहरूको टीमलाई एयरपोर्ट पठाएकै थिएँ । पछि म पनि विमानस्थल गएकै थिएँ,' उनले लोकान्तरसँग भने ।

मन्त्रीको चाहनाविपरीत सचिव पुष्कर विना कुनै काम २३ दिनसम्म अमेरिका भ्रमणमा गएको उनको आरोप छ ।

'विना कुनै प्रयोजन घरायसी कारण देखाएर उहाँ २३ दिनसम्म अमेरिका भ्रमणमा जानुभयो,' ती कर्मचारीले थपे, '२३ दिनसम्म उहाँ नहुँदा मन्त्रालयमा सेवाग्राहीहरूको काममा प्रत्यक्ष असर परेको थियो ।'

तर, सचिव पुष्कर भने मन्त्रिपरिषद्लाई जानकारी दिएर र विधिवतरूपमा भ्रमण स्वीकृत गराएर अमेरिका गएको बताउँछन् ।

त्यसबाहेक बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि मन्त्रीलाई कुनै जानकारी नै नदिई सचिवले आफूखुशी बजेट राखेको मन्त्री मोदीको सचिवालयको आरोप छ । त्यस विषयमा पनि सचिवको भूमिका केही नरहेको पुष्कर बताउँछन् । 'दात्री निकायसँगको समन्वयमा राष्ट्रिय योजना आयोगले नै बजेट राख्ने हुनाले त्यसमा सचिवको कुनै भूमिका हुँदैन,' पुष्करले भने ।

सचिव पुष्करनिकट स्रोतका अनुसार असार महिनामा मात्रै १ सय जति कर्मचारीहरूको सरुवा गर्न मन्त्रीले सचिवमाथि दबाब बढाएकाले सम्बन्ध बिग्रिएको हो ।

'अनुचित सरुवाका लागि मन्त्रीज्यूले मौखिक निर्देशन दिनुहुन्छ । नियमविपरीतको सरुवा गर्दा सचिव नै फस्ने हुनाले सचिव त्यसबाट पन्छिन खोज्नुहुन्छ,' संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक कर्मचारीले लोकान्तरसँग भने, 'पोखरामा सम्पन्न राष्ट्रिय समन्वय परिषद बैठकले कर्मचारी सरुवासम्बन्धमा दिएको निर्देशनविपरीत कसरी सरुवा गर्न सकिन्छ ?'

परिषद् बैठकले २ वर्ष नपुगेको प्रमुख प्रशासकीय अधिकृत र १ वर्ष नपुगेको प्रदेश सचिवलाई विशेष परिस्थितिमा बाहेक सरुवा नगर्न निर्देशन दिएको छ ।

बिरामी पर्दा समेत नेपाल मेडिकल बोर्डले सिफारिश गरेको, कुनै किसिमको थ्रेट छ भनेर जिल्ला सुरक्षा समितिले निर्णय गरेको वा सम्बन्धित निकायले विभागीय कारवाही गरेको आवस्थामा बाहेक सरुवा गर्न नमिल्ने निर्देशन रहेको ती कर्मचारीले बताए ।

त्यस बाहेक सरुवाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि निर्देशन दिएका कारण सचिवले मन्त्रीको निर्देशन पालना गर्न नसकेको सचिवनिकट ती कर्मचारीको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x