
विराटनगरको ग्रिन क्रस हस्पिटलमा एक दिनका नवजात शिशु हराएपछि पक्राउ परेका उपचारमा संलग्न चिकित्सकसहित दुई जनालाई प्रहरीले म्याद थप गरेको छ ।
पक्राउ परेका उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ विराटनगरका ६८ वर्षीय डा तपेश्वरलाल कर्ण र भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई प्रहरीले ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ आइतबारबाट लागू हुने गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन दाहालले जानकारी दिए ।
पक्राउ परेका प्रतिवादीले अविवाहित किशोरीबाट जन्मिएका शिशु कता लगे अहिलेसम्म नबताएको उनको भनाइ छ । ‘म्याद थप भएको छ । अब अनुसन्धान सुरु हुनेछ,’ डिएसपी दाहालले भने, ‘थप विषयपछि नवजात शिशु कहाँ लगे त्यो खुल्नेछ ।’
पक्राउ परेका राई २६ वर्षीय किशोरीका प्रेमी हुन् । १३ असारमा ती किशोरीको ग्रिन क्रस हस्पिटलमा प्रसूति भएको थियो । उनले ‘नर्मल डेलिभरी’मार्फत छोरीलाई जन्म दिइन् । दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर लिएर आएका थिए ।
सुरुमा ग्रिन क्रस अस्पतालनजिकै रहेको दीपेश मेडिकल क्लिनिकमा लिएर आएको बताइएको छ । उक्त क्लिनिक डा कर्णको हो । क्लिनिकमा आएका बिरामी भर्ना गर्नुपर्दा उनले ग्रिन क्रस अस्पतालमा लगेर उपचार गर्दै आएका छन् । उनको क्लिनिकबाट ग्रिन क्रस ५० मिटर पश्चिममा रहेको छ । डा कर्णले ती किशोरीका प्रेमीसँग ३५ हजार रुपैयाँ लिएर प्रसूति गराएका थिए । उनीहरूबाट जन्मिएकी शिशुको व्यवस्थापन गर्ने जिम्मा पनि डा कर्णले नै लिए ।
किशोरीलाई वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फेक नाम तथा र ठेगाना उल्लेख छ । व्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले १४ असार दिउँसो डिस्चार्ज दिएको अस्पतालको रेकर्डमा देखिन्छ । डिस्चार्ज हुँदा नवजात शिशुलाई राईले हस्ताक्षर गरेर बुझेको देखिन्छ