कात्तिक २४, २०८०
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
काठमाडाैं | कात्तिक १५, २०८०
नेपाल वैदिककालदेखि नै ज्ञान, सीप, कला/कौशल र सृजनाको केन्द्र रहिआएको स्थान हो। मानव सभ्यताको विकासक्रममा यहाँका विभिन्न रैथाने जाति र समुदायले विभिन्न किसिमका सीप, कला/कौशलको विकास तथा मानव संस्कृतिको निर्माण गरी आजको आधुनिक युगसम्म ल्याउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। तर आधुनिकता सँगसँगै भूमण्डलीकरणका कारण यस्ता सनातनी ज्ञान तथा रैथाने सीप, कला/कौशल र संस्कृति ओझेलमा पर्दै गएका छन्।
नेपालमा विगत लामो समयदेखि जसले शिक्षा पायो उसले श्रम र श्रमिकलाई सम्मान गर्ने संस्कृति बसाउन सकेन भने श्रम गर्नेहरूलाई संरचनात्मक ढंगले नै शिक्षाबाट वञ्चित गरियो । परिणामस्वरूप आजसम्म न रैथाने सीप र प्रविधिको संस्थागत विकास हुन सक्यो, न त रैथाने सीपका धनी समुदायको आर्थिक र सामाजिक उन्नति नै । बरु समाजमा यससँगै नैतिक मूल्य/मान्यताहरूका साथै मानवताका आधारभूत कुराहरू निरन्तर ह्रास हुँदै गए । मुलुकमा स्थापित विश्वविद्यालयहरूले यसलाई अध्ययनको विषयवस्तु बनाउन नै नसकेको देखियो। फलस्वरुप आफ्नै रैथाने शिल्पकला तथा संस्कृतिको जगेर्नामार्फत समाजलाई नैतिक मूल्य/मान्यताका साथ समृद्ध र आत्मनिर्भर बनाउने अवसर मुलुकले गुमाउँदै गयो।
यसै सन्दर्भमा मिति २०७८ भाद्र ३० गते शैक्षिक क्षेत्रका जानकार व्यक्तित्वहरू, शिक्षाविद्हरू तथा युवाहरूको उपस्थितिमा भएको एक छलफलमा यो विषय मुलुककै एक विशिष्ट विधा भएको र यसको खोज, अध्ययन, अध्यापन तथा अनुसन्धान पनि विशिष्ट किसिमले नै गर्नुपर्ने भएकाले एक विशिष्टीकृत उच्चस्तरीय शैक्षिक संस्थाको आवश्यकता रहेको कुरा औंल्याइएको थियो। उक्त छलफलबाट यो विषयलाई अगाडि बढाउन यस लेखका लेखकको संयोजकत्वमा एक तयारी समिति गठन गरी सम्बन्धित विषयका प्रबुद्ध व्यक्तित्वहरू सल्लाहकार रहने व्यवस्था गरिएको थियो। उक्त समितिले विभिन्न चरणमा विषयविज्ञहरूसँग छलफल गरी राष्ट्रिय संस्कृति नीति, २०६७ तथा राष्ट्रिय शिक्षा नीति २०७६ मा व्यवस्था भएअनुसार रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापना सम्बन्धमा तयार गरेको आशयपत्र र प्रारम्भिक प्रस्ताव शिक्षा मन्त्री तथा अन्य सम्बन्धित मन्त्रालयमा बुझाएको थियो।
सोहीअनुसार यो विषयलाई गम्भीरताका साथ अगाडि बढाउन राजनीतिक दलका नेताहरू, सांसदहरू, सम्बन्धित नागरिक समाज, प्रदेश सरकार र स्थानीय तहहरूसँग पनि संवाद गर्दै आएको छ। साथै यो अभियानलाई औपचारिक रूप दिनका लागि गुठी प्रणालीमा सञ्चालन गर्नेगरी रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपाल स्थापना गरी विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ। यसका अलावा देशभित्र र देशबाहिर रहेका यस विषयका जानकारहरू, विषय विज्ञहरू र यस्तै प्रकृतिका शैक्षिक संस्थाहरूसँग पनि परामर्श र संवाद गरिँदै आएको छ ।
नीतिगत व्यवस्था
पछिल्लो समय यो विषयलाई मुलुकले नीतिगत व्यवस्था गरी महत्त्वका साथ उठान गरेको पाइन्छ। नेपालको संविधानको धारा ५१ को सामाजिक र सांस्कृतिक रूपान्तरणसम्बन्धी नीतिको (२) मा ऐतिहासिक पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन र विकासका लागि अध्ययन, अनुसन्धान, उत्खनन तथा प्रचारप्रसार गर्ने कुरा उल्लेख छ भने (६) मा देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सह–अस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायको भाषा, लिपी, संस्कृति, साहित्य, कला, चलचित्र र सम्पदाको संरक्षण र विकास गर्ने कुरा उल्लेख छ। त्यसैगरी सोही धाराको सामाजिक न्याय र समावेशीकरणसम्बन्धी नीतिको (८) मा आदिवासी जनजाति र स्थानीय समुदायको परम्परागत ज्ञान, सीप, संस्कृति, सामाजिक परम्परा र अनुभवलाई संरक्षण र सम्वर्द्धन गर्ने कुरा उल्लेख छ। त्यस्तै धारा ४० को दलितको हकले दलित समुदायलाई आफ्नो परम्परागत पेसा, ज्ञान, सीप र प्रविधिको प्रयोग, संरक्षण र विकास गर्ने हकको व्यवस्था गरेको छ। यसरी रैथाने शिल्पकला र संस्कृति समाजवादउन्मुख अर्थतन्त्र निर्माणको आधार हुने कुरा हाम्रो संविधानले स्पष्ट रूपले अभिव्यक्त गरेको छ।
नेपाल सरकारले जारी गरेको राष्ट्रिय संस्कृति नीति, २०६७ ले नेपालमा विद्यमान मूर्त र अमूर्त दुवै प्रकारका राष्ट्रिय सांस्कृतिक सम्पदाहरूको अध्ययन, अनुसन्धान गरी तिनीहरूको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी राष्ट्रिय गौरवको जगेर्ना गर्दै समाजमा सद्भाव र सहिष्णुताको भावना जागृत गराई एक अर्कामा सम्मान एवं सामाजिक मर्यादा अभिवृद्धि गरी देशलाई एकताको सूत्रमा गाँस्ने उद्देश्य लिएको छ। उक्त नीतिले देशका विभिन्न भागमा बसोवास गर्ने विभिन्न जाति र समुदायका बारेमा वैज्ञानिक अध्ययन र अनुसन्धान गरी उनीहरूको इतिहास र संस्कृति प्रकाशमा ल्याउने; मूर्त एवं अमूर्त दुवै किसिमका नेपाली सांस्कृतिक सम्पदाहरूको सर्वेक्षण, अध्ययन एवं अनुसन्धान गरी तिनीहरूको वैज्ञानिक तथा प्रामाणिक सूची र विवरण प्रकाशमा ल्याउने; दुवै प्रकारका सांस्कृतिक सम्पदाहरूको स्वामित्वको पहिचान र अभिलेखीकरण गर्ने; तिनीहरूको संरक्षण र व्यवस्थापनको जिम्मेवारी निर्धारण गर्ने; परम्परागत मूर्त लोककला एवं शिल्पकला उत्पादन गर्ने मौलिक सीप र प्रविधिको संरक्षण र व्यवसायीकरण गर्ने; नेपाली संस्कृतिका महत्त्वपूर्ण पक्षको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रचार/प्रसार गरी विविधतापूर्ण राष्ट्रिय सांस्कृतिक पहिचानलाई प्रवाह गरिने लगायतका कुरा उद्घोष गरेको छ।
त्यसैगरी राष्ट्रिय शिक्षा नीति २०७६ को बुँदा नं. १०.१५.१ मा विश्वव्यापीकरण एवं अन्तर्राष्ट्रियकरण र स्थानीयकरणबीच सन्तुलन तथा ऐतिहासिक ज्ञानलाई आधुनिक ज्ञानसँग र स्थानीय ज्ञानलाई विश्व ज्ञानसँग जोड्दै राष्ट्रिय आवश्यकता सम्बोधन हुनेगरी उच्च शिक्षा तथा अनुसन्धानका कार्यक्रमहरू सञ्चालन गर्दै जाने कुरा र बुँदा नं. १०.२४.३ मा नेपालको आफ्नै मौलिक कला र संस्कृतिलाई समेटेर विशिष्टतामा आधारित कला तथा संस्कृति विश्वविद्यालयमार्फत विदेशी विद्यार्थीहरूलाई आकर्षण गरिने कुरा उल्लेख छ । त्यस्तै उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०७५ को प्रतिवेदनमा परम्परागत ज्ञान, सीप र प्रविधि पाठ्यक्रममा समावेश गर्ने तथा कार्यान्वयन गर्ने भन्ने कुरा उल्लेख छ। औद्योगिक नीति २०६७ ले समेत स्थानीय स्रोत, कच्चा पदार्थ, सीप र साधनको परिचालन गरी सन्तुलित राष्ट्रिय तथा क्षेत्रीय विकासमा योगदान बढाउने कुरा उल्लेख गरेको छ।
यसरी विभिन्न सरकारी दस्तावेजहरू मार्फत नेपाल सरकारले यो विषयलाई प्राथमिकताका साथ नीतिगत व्यवस्था गरेको पाइन्छ। त्यस्तै प्रदेश सरकार र स्थानीय तहहरूले पनि यस्ता रैथाने ज्ञान, सीप, कला-कौशल र संस्कृतिको खोज गरी सामाजिक, आर्थिक विकासको मूलप्रवाहमा ल्याउने कुरा प्राथमिकताका साथ अगाडि बढाएका छन् । सो अनुरूप प्रदेश सरकार र स्थानीय तहहरूले त्यससम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्दै आएका छन्। कतिपय स्थानीय तहहरूले त यस सम्बन्धमा स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन गराउन थालिसकेका छन्। तर यस्तो अध्ययनलाई उच्च शिक्षासम्म पुर्याउनका लागि त्यस्तो शैक्षिक संस्था भने हालसम्म स्थापना भएको छैन।
नेपाल सरकारबाट अध्ययन समिति गठन
प्रतिष्ठानले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मा. मन्त्री सुदन किरातीको उपस्थितिमा विश्वविद्यालय स्थापनासम्बन्धी अवधारणा र प्रतिष्ठानले अघि सारेका विभिन्न अभियान/कार्यक्रमहरूका बारेमा २०७९ चैत्र ९ गते एक छलफल कार्यक्रम राखिएको थियो। प्रस्तावित विश्वविद्यालय र स्थानीय तहमा रैथाने शिल्पकला तथा संस्कृति सिकाई केन्द्र सञ्चालन गर्ने सन्दर्भमा मन्त्रालयको विशेष चासो रहेको देखियो । परिणाम स्वरूप मिति २०७९ चैत २० गते नेपाल सरकार (मा.मन्त्री स्तर)बाट रैथाने शिल्पकला तथा संस्कृति विश्व विद्यालय स्थापना सम्बन्धमा सम्भाव्यता अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन भएको थियो। उक्त समितिले विभिन्न सरोकारवालासँग विभिन्न चरणमा परामर्श गरी तयार गरिएको प्रतिवेदन मिति २०८० जेष्ठ २५ मा बुझाएको थियो।
के छ प्रतिवेदनमा? नेपाल मानव विकास प्रतिवेदनमा असमानताका कारणले मुलुकमा प्रतिवर्ष २५.२ प्रतिशत मानव विकासमा नोक्सानी हुने गरेको उल्लेख छ । यसो हुनुमा रैथाने सीप, कला तथा संस्कृतिमा लगानी नगर्नु र यो विषयलाई शिक्षामा मूलप्रवाहीकरण नगर्नु नै हो। मानव विकासको नोक्सानीलाई दीगो रूपले अन्त्य गर्नका लागि मुलुकको मौलिक सीप, कला, ज्ञान, संस्कृति र सम्पदाको जगेर्ना गर्ने शिक्षा प्रणालीको खाँचो यसले पूरा गर्नेछ । त्यस्तै दिगो विकास लक्ष्य, आईएलओ १६९ तथा युनेस्कोले परिलक्षित गरेका विषयहरूलाई स्थानीयकरण गरी समावेशी तथा संस्कृतिमैत्री विकासको ज्ञान निर्माणमा यो विश्वविद्यालय सहायकसिद्ध हुनेछ। यसले विभिन्न समुदायगत तथा विधागत रूपमा माग गरिएका विश्वविद्यालयहरूको एकमुष्ठ सम्बोधन गर्ने छ। भिन्न रणनीति अवलम्वन गरी खासरूपमा खोज, सिकाई तथा बजारमुखी सेवा तीनै आयाम एकीकृत रूपमा प्रदान गर्ने समुदायमा आधारित एक विशिष्ट रूपान्तरणकारी (Game Changer) शैक्षिक प्रतिष्ठानको रूपमा प्रस्तावित विश्वविद्यालयलाई विकास गरिने छ।
यो विश्वविद्यालय समुदायमा आधारित गुठियारी ढाँचामा स्थापना हुनेछ, जसमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र विभिन्न सामुदायिक संघसंस्था, व्यक्ति तथा व्यवसायिक प्रतिष्ठानहरू यसका गुठीयार हुनेछन् । प्रत्येक प्रदेशमा कम्तीमा एउटा विभाग वा महाविद्यालय सञ्चालन गरिने छ भने स्थानीय तहमा रैथाने शिल्पकला तथा संस्कृति सिकाई केन्द्रहरू रहने छन् । सम्बन्धित रैथाने समुदायहरू सिकाइका मुख्य स्रोत हुनेछन् । त्यस्ता समुदायका अगुवा वा अभ्यासकर्ता वा अध्येता वा कथावाचक यसका आधारभूत स्रोत व्यक्ति हुनेछन् । उनीहरूको सामर्थ्यको स्तरलाई निश्चित कार्यविधि बनाई प्रमाणीकरण गरी उपाधि प्रदान गरिने छ। सिकाइका लागि व्यवहारिक विधि “रमाउँदै सिक्दै, सिक्दै कमाउँदै” को हरित उध्यमशीलताको ढाँचा अवलम्बन गरिनेछ। यो विश्वविद्यालयले आवधिक परीक्षा विधिबाट भन्दा पनि नियमित कार्यशाला मूल्यांकन विधिबाट ज्ञान, सीप र विवेकको सन्तुलित अन्तष्करणको स्तरका आधारमा सिकाइ प्रमाणीकरण गर्नेछ। मूल्याङ्कन परम्परागत योग्यता (Merit) का आधारमा भन्दा पनि सामर्थ्य (Capability) का आधारमा गरिनेछ।
रोजगारमुखी व्यावहारिक सिकाइ हुने हुँदा अध्ययनका लागि विदेश जाने वा वैदेशिक रोजगारीमा जाने क्रमलाई यसले न्यूनीकरण गर्नेछ भने स्थानीय उत्पादनमा आधारित आत्मनिर्भर अर्थतन्त्र बनाउन यो विश्वविद्यालय कोशेढुंगा सावित हुनेछ । प्रस्तावित विश्वविद्यालय रैथाने प्रणालीको जगेर्ना र सुदृढीकरणको अवधारणासँग अन्तर्निहित रहेकाले समकालीन संघीय नेपालको आधारशीला समाजवादउन्मुख हरित अर्थतन्त्र निर्माणका लागि अग्रगामी मार्ग हुनेछ । नेपालका सबै जाति समुदायको इतिहास, पहिचान र सम्पदाको जगेर्नामार्फत देशको आत्मसम्मान र गौरव अन्तर्राष्ट्रिय रूपमा बढ्दै जानेछ ।
प्रस्तावित रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालयका उद्देश्यहरू:
रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालयको उद्देश्यहरू निम्नलिखित रूपमा प्रक्षेपण गरिएको छ-
– रैथाने ज्ञान, सीप, कला-कौशल र संस्कृतिको खोज, अध्ययन/अनुसन्धान गरी यस्ता सम्पदाहरूको संरक्षण गर्ने ।
– युवा पिँढीलाई रैथाने ज्ञान, सीप, कला-कौशल र संस्कृतिको अध्ययनमा प्रोत्साहन गरी नेपालको मौलिक पहिचानलाई जोगाउँदै मुलुकलाई समृद्ध र आत्मनिर्भर बनाउन योगदान पुर्याउने ।
– यस्ता रैथाने ज्ञान, सीप र कला-कौशलको सम्बर्द्धन गरी विश्वबजारमा प्रतिस्पर्धा गराउन सक्ने जनशक्ति तयार गर्ने ।
– नेपाली सांस्कृतिक सम्पदाहरूको सर्वेक्षण, अध्ययन एवं अनुसन्धान गरी तिनीहरूको वैज्ञानिक तथा प्रामाणिक तथ्य विश्वसामु उजागर गर्ने।
– आर्थिक अवस्थाले गर्दा शिक्षाबाट वञ्चित सम्बन्धित समुदायका विद्यार्थीलाई रैथाने शिल्पकला तथा संस्कृतिको अध्ययनमा संलग्न गराई जीवनोपयोगी गुणस्तरीय शिक्षा प्रदान गर्ने ।
– विश्वविद्यालय स्तर अनुसन्धानबाट रैथाने कला-कौशलको विकास गरी आधुनिक जीवनशैलीसँग मेल खाने गरी स्थानीय कच्चा पदार्थहरूबाट विविध बहुमूल्य वस्तु बनाई ती वस्तु र शिल्पकलाको प्याटेन्ट राइट दर्ता गराई बजारमुखी बनाउने ।
– मानवता प्रबर्धनसँग सम्बन्धित मौलिक ज्ञान, सीप र संस्कृतिको खोज गरी नैतिक-उद्यमशीलतामार्फत मानवता प्रबर्धनको अभियान विश्वव्यापी बनाउने।
– नेपालको मौलिक ज्ञान, कला र संस्कृति जस्ता सम्पदाको अध्ययन गर्न विदेशी विद्यार्थीहरूलाई आकर्षण गर्ने।
प्रस्तावित विश्वविद्यालयको कार्यगत ढाँचा
रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालयको कार्यगत ढाँचा परम्परागत पठनपाठनको ढाँचाभन्दा पनि कार्यशाला सिकाइ विधि अवलम्बन गरिने छ। यसको कार्यगत ढाँचा निम्नलिखित रूपमा प्रक्षेपण गरिएको छ :
– प्रस्तावित विश्वविद्यालय विशिष्टिकृत भएकोले यसलाई गुठी प्रणालीअनुसार सामुदायिक विश्वविद्यालयको अवधारणा अनुरूप सञ्चालन गरिनेछ, जसले गर्दा सरकारलाई व्ययभार न्यून पर्नेछ।
– सबै प्रदेशमा कम्तीमा एक/एकवटा अध्ययन संस्थान रहने गरी व्यवस्था मिलाइनेछ । यसमा अध्यापनका लागि व्यावहारिक विधि 'पढ्दै कमाउँदै'को हरित उध्यमशीलता ढाँचा अवलम्वन गरिनेछ।
– यसको अध्ययन, अध्यापन तथा अनुसन्धानलाई खुला संग्राहालयको रूपमा विकास गरिनेछ।
– भौतिक पूर्वाधारका लागि स्थानीय तहसँगको सहकार्यमा सम्भाव्य स्थानको खोजी गरी यकिन गरिनेछ।
– कतिपय यस्तै कार्यमा संलग्न शैक्षिक संस्थाहरू वा अन्य संघ/संस्थाहरूले चाहेमा यही विश्वविद्यालयमा आपसी सहमतिमा समेट्न सकिनेछ।
– रैथाने ज्ञान, सीप, कला तथा संस्कृतिको खोज, अध्ययन, अनुसन्धान गर्ने कार्य सांस्कृतिक सम्पदासँग सम्बन्धित विषय भएकोले सम्बन्धित अन्तराष्ट्रिय निकायहरूको सहयोग उपलब्धताको लागि आवश्यक पहल गरिनेछ।
– खोज, अनुसन्धान तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि अन्य मुलुकका विश्वविद्यालय तथा शैक्षिक निकायहरूसँग सहकार्य गरी सहयोग जुटाइने छ।
प्रस्तावित विश्वविद्यालयले हाल मुलुकमा सञ्चालित कतिपय परम्परागत विश्वविद्यालयहरूको कार्यशैलीभन्दा भिन्न रणनीति अवलम्बन गरी खासरूपमा अनुसन्धान (Research), सिकाई (Learning) तथा बजारमुखी सेवा (Market Oriented Services) तीनै पक्षहरू एकीकृत रूपमा प्रदान गर्ने एक विशिष्ट शैक्षिक प्रतिष्ठानको रूपमा परिकल्पना गरिएको छ । यसका लागि विश्वव्यापी रूपमा स्थापित प्रणाली र खाकाको अध्ययन गरी सम्भाव्य स्थान, स्रोत र सञ्चालन विधि तय गरिनेछ।
रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय तयारी समिति गठन
नेपाल सरकारले नीतिगत रूपमा उद्घोष गरिसकेको विषय भएकाले प्रस्तुत गरिएको सिफारिशअनुसार मिति २०८० असार २५ गतेको नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णयानुसार साविकको समितिलाई विस्तार गरी दश सदस्यीय तयारी समिति गठन गरेको छ जसमा सम्बन्धित सरकारी निकायका प्रतिनिधिहरू पनि सदस्य रहेका छन्। यसबाट सरकारले यो विषयलाई अभिरुचिका साथ लिएको छ भन्ने देखिन्छ । प्रस्तावित रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय शिक्षा क्षेत्रको योजना २०२१-२०३० अनुरूप मुलुकलाई समुन्नत राष्ट्रको स्तरमा पुर्याउने दीर्घकालिक राष्ट्रिय लक्षलाई आत्मसात् गरी दिगो विकास, समावेशिता तथा गुणस्तरीयताको मर्मअनुरूप शिक्षाको विकास गर्न महत्त्वपूर्ण शैक्षिक संस्था हुनेछ। प्रस्तावित विश्वविद्यालय हिमाल, पहाड र तराई-मधेशमा रहेका विभिन्न जातजाति र समुदायहरूको रैथाने सीप, मौलिक ज्ञान र संस्कृतिको सम्बर्धन गरी नेपालको मौलिक पहिचानलाई अन्तर्राष्ट्रियरूपमा अभिवृद्धि गर्दै मुलुकलाई मानवीय नैतिक मूल्य मान्यतासहित समृद्ध र आत्मनिर्भर बनाउने महत्त्वपूर्ण शैक्षिक संस्था हुने विश्वास गरिएको छ। अब समितिलाई विश्वविद्यालयलाई चाहिने जग्गा र भौतिक संरचनाको जोहो गर्ने आवश्यक कानूनको मस्यौदा गर्ने र सिकाइ शिक्षण विधि तय गर्ने जिम्मेवारी आएको छ, यसमा सबैको सहयोग र सद्भाव रहने अपेक्षा गरिएको छ।
(हाल प्राध्यापनमा संलग्न नेपाल सरकारका पूर्वसचिव डा. बीके रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठानका अध्यक्ष र नेपाल सरकारबाट गठन गरिएको रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय तयारी समितिका संयोजक हुनुहुन्छ।)
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...