०६ साउन २०८३, बुधबार
सरसर्ती २४ घण्टा

तेस्रो न्यायाधीशको आदेशको प्रतीक्षामा बालकृष्ण खाण

मंसिर १६, २०८०
काठमाडौं
तेस्रो न्यायाधीशको आदेशको प्रतीक्षामा बालकृष्ण खाण

लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतको आदेशविरुद्धको मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंकै आदेशलाई सदर गर्दै ९ जनालाई थुनामै रहने आदेश दिएको छ ।

नक्कली शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

यससँगै टेकनारायण पाण्डे, डा ईन्द्रजित राई, टोपबहादुर रायमाझी, केशव दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भनिने गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङ्टावा शेर्पालाई जिल्ला अदालतको आदेशअनुसार थुनामा राख्ने मिलेको देखिएको व्याख्या उच्चले गरेको छ ।

उच्चले जिल्लाको आदेश सदर गरेपछि यी सबै अब थुनामै बसेर मुद्दा लड्नुपर्ने भएको छ ।
००००
यस्तै पूर्व गृहमन्त्री बालकृष्ण खाणका सम्बन्धमा उच्च अदालतका न्यायाधीशहरूको राय बाझिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि खाणका सम्बन्धमा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको हो ।

पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्नुपर्छ र खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएपछि अब बालकृष्णको हकमा तेस्रो न्यायाधीशको एकल इजलासमा छुट्टै सुनुवाइ हुनेछ । त्यतिबेलासम्म खाण थुनामै रहने भएका छन् ।
००००
निर्वाचन आयोगले आगामी माघ ११ गते गर्न लागेको राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । 
आयोगले आगामी माघ ११ गते गर्न लागेको राष्ट्रिय सभा सदस्यका लागि यही मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन भइ मंसिर २४ गतेदेखि २९ गतेसम्मको समय तोकेको छ । 

पुष १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी पुष ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशन गर्ने आयोगको तालिका छ ।
००००
सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि नोभेम्बरसम्म नौ लाख १८ हजार तीन सय आठ नेपाल आएका हुन् । नोभेम्बरमा मात्रै एक लाख आठ हजार छ सय ३० विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
००००
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ अभियानका नाममा व्यवस्था परिवर्तन गर्न भन्दै हिँडेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूहरूको आन्दोलन नतुहिएको र गाउँ–गाउँबाट फेरि उठ्ने दाबी गरेका छन् ।
गरिबको ऋण मिनाहा गर्ने आफूहरूको एजेन्डा सेलाएर नजाने उनको भनाइ थियो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन  (कोप २८)लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्ने बताएका छन् ।

कोप–२८ परिसरमा नेपालको पेभिलियनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले जलवायु परिवर्तन असरका सम्बन्धमा आफ्नो अधिकार स्थापित गरेर अघि बढ्ने गरी तयारी गरेको उल्लेख गरे ।
००००
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट गर्ने भएको छ ।
 प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अन्य एयरलाइन्सले पनि ग्राउण्ड ह्याण्डलिङ सेवाको लागि प्रतिस्पर्धा गर्न सक्ने गरी निर्णय भएको छ ।
००००
स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियाटा यूके लिमिटेडबीच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको छ । यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभिसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत सेयर स्वामित्व लिनेछ ।
००००
खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको बताएका छन् । 

मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु अम्बाथान लगायतको क्षेत्रको स्थलगत अनुगमनका लागि शुक्रबार पुगेका मन्त्री यादवले बाढीका कारण मुहानलगायत क्षेत्रमा समस्या भए पनि पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको बताए ।
००००
वीर अस्पतालको निर्देशकको जिम्मेवारी खोसिएपछि डा सन्तोष पौडेलले आक्रोश पोखेका छन् । कांग्रेस नेता तथा स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको हर्कतबाट लोकतन्त्र नै लजाएको टिप्पणी गरेका छन् । 

‘यो राणा शासन भन्दा कडा अधिनयकवाद हो ’ विधिको शासनको रट लगाएर नथाक्ने नेपाली कांग्रेसका मन्त्रीको यो हर्कतबाट “लोकतन्त्र लजाएको छ”,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।
००००
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली यतिबेला सुदूरपश्चिममा छन् । एमालेको झुलाघाट–चिवा भञ्ज्याङ मध्य पहाडी लोकमार्ग यात्राका क्रममा उनी सुदूरपश्चिम पुगेका हुन् ।

‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने नाराका साथ बिहीबार बैतडीको झुलाघाटमा अध्यक्षओलीले अभियानको उद्घाटन गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्