
कार्यभार सम्हालेको नौ महिना नपुग्दै कोशी प्रदेशका प्रमुख सचिव डा दीपक काफ्लेको सरुवा भएको छ । २०७९ चैत २० गते उनी कोशी प्रदेशको मुख्य सचिव भएर आएका थिए । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले उनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको हो । काफ्लेको यसअघि लुम्बिनी प्रदेश सरकारको प्रमुख सचिव थिए । उनी नवौं सचिवका रुपमा कोशीमा आएका थिए ।
यसअघिका सचिवहरू पनि प्रदेशमा एक वर्ष पनि बसेका थिएनन् । पहिलो प्रमुख सचिव बनेर आएका यादवप्रसाद कोइराला २०७४ माघ २४ गते प्रदेशमा हाजिर भएका थिए । उनी २०७४ चैत्र ३० मुख्यमन्त्री कार्यालयबाट विदा भएका थिए । सुरेश प्रधानले तीन– साढे तीन महिना मात्रै प्रदेश सरकारको प्रशासनिक चाबी समाल्न पाएका थिए । २०७५ वैशाश ४ गते मुख्यमन्त्री कार्यालयमा हाजिर भएका उनी असार २० गते विदा भएका थिए । केदार न्यौपानेले भने कोइराला र प्रधानभन्दा लामो समय प्रदेशमा बिताएका थिए । २०७५ साउन २८ गते आएका उनी २०७६ वैशाख १२ गते विदा भएका थिए ।
न्यौपाने विदा भएकै भोलिपल्ट सुरेश अधिकारी हाजिर भएका थिए । उनी नौ महिनापछि बिदा भएका थिए । उनी २०७६ माघ २२ गते विदा भएका हुन् ।
२०७६ माघ २९ गते पाचौं मुख्य सचिव बनेर दिनेश भट्टराई आएका थिए । उनले तत्कालीन प्रदेश १ मा २०७७ चैत्र ४ गतेसम्म प्रशासनिक नेतृत्व सम्हालेका थिए । भट्टराईपछि सुमनराज अर्याल प्रदेशको मुख्य सचिव बनेर आएका थिए । २०७७ फागुन ११ गते मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेका अर्याल २०७८ साउन २९ गते बिदा भएका थिए । २०७८ साउन ३२ गते डा रामप्रसाद घिमिरे प्रशासनिक वागडोर समाल्न मुख्यमन्त्रीको कार्यालयमा आइपुगेका थिए । २०७९ असार १४ गतेसम्म प्रशासनिक बागडोर समालेर उनी बिदा भएका थिए । विनोदप्रकाश सिंह आठौं प्रमुख सचिवको रुपमा २०७९ असार १६ गते कार्यालयमा हाजिर भएका थिए । उनी तीन महिना पनि प्रदेशमा बसेनन् । उनको भदौ २९ गते सरुवा भएको थियो ।
काफ्लेको सरुवा मन्त्रिपरिषद्को बैठकले बिहीवार गरे पनि कोशीको मुख्य सचिवमा को आउने भन्ने टुंगो लागेको छैन । काफ्लेको सरुवाको पत्र भने आइनसकेको मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी दिनेश ढुंगानाले बताए ।
प्रमुख सचिव तथा सचिवहरूलाई संघले नै प्रदेशमा खटाउने गरेको छ । संघको खटन–पटन भएकै कारण प्रमुख सचिवहरू नटिक्ने गरेको सरोकारवालाहरू बताउँछन् । संघीय सरकारले प्रदेशलाई हेर्ने दृष्टिकोण परिवर्तन नगरेसम्म यस्तै समस्या आइरहने कोशी प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री समशेर राईले बताए । ‘सविधानले प्रदेशलाई अधिकार दिएको छ,’ लोकान्तरसँग उनले भने ‘अब हामी प्रदेशलाई कस्तो बनाउने, कसरी बनाउने र अधिकार कसरी लिने भनेर देखाउछौं ।’