२१ जेठ २०८३, बिहीबार

स्वास्थ्यमन्त्री यादवले गरे कान्ति बाल अस्पतालको आकस्मिक अनुगमन

चैत १४, २०८०
काठमाडौं
स्वास्थ्यमन्त्री यादवले गरे कान्ति बाल अस्पतालको आकस्मिक अनुगमन
फाइल तस्वीर ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले बुधवार कान्ति बाल अस्पतालको आकस्मिक अनुगमन गरेका छन् । 

उनले अनुगमनका क्रममा उपचारका लागि कान्ति बाल अस्पताल आएका कोही पनि बिरामी शैय्या नपाएर उपचारविना नै घर फर्कनुपर्ने अवस्थामा अन्त्य गर्न निर्देशन दिए । 

‘अस्पतालमा आएका बिरामी शैय्या नपाएर अन्त्यै निजी अस्पतालमा उपचारमा जाने गरेको गुनासो सुन्नमा आएको छ,’ मन्त्री यादवले भने, ‘अस्पतालले शैय्या थपेर हुन्छ के के गरेर हुन्छ अस्पताल आएका बिरामी उपचारबाट वञ्चित हुन परेको खबर सुन्न नपरोस् । उपचार गर्न आएका सबैको उपचारको व्यवस्था मिलाउनुहोस् ।’

उनले अस्पतालको शैय्या, सघन उपचार कक्ष (आईसीयू) थपेर उपचार गर्न आएका बिरामीको उपचार गर्नुपर्ने भन्दै मन्त्रालयले अस्पताललाई के सहयोग गर्नुपर्दछ त्यो तयार रहेको बताए । 
        
यस्तै मन्त्री यादवले अस्पतालको सेवालाई डिजटाइजेशन गर्न निर्देशन दिए । ‘कुनै बिरामी टिकट काट्न र चिकित्सकलाई रिपोर्ट देखाउन घण्टौँ लाइन बस्नुनपर्ने अवस्थाको अन्त्य गर्नुपर्दछ,’ उनले भने, ‘अब टिकट मात्र होइन परीक्षणको रिपोर्ट पनि अनलाइनबाट चिकित्सकले हेर्नुपर्ने व्यवस्था गर्नुपर्दछ ।’
अनुगमनका क्रममा मन्त्री यादवले अस्पतालले सञ्चालन गरेको औषधि पसलमा पर्याप्त मात्रामा औषधि नभएको पाइएको भन्दै आवश्यक मात्रामा औषधि राख्न निर्देशन दिए । ‘चिकित्सकले प्रिस्क्रिप्सनमा लेखेको औषधि अस्पतालले सञ्चालन गरेको औषधि पसलमा पर्याप्त मात्रामा छैनन्,’ उनले भने, ‘जसले गर्दा बिरामी निजी औषधि पसलमा जाने गर्दछन् र बिरामी ठगिने गर्दछन् ।’ 

यसैगरी अस्पतालमा रहेका स्वास्थ्य सामग्री उपकरणलाई मर्मत गरी  सञ्चालन गर्न पनि मन्त्री यादवले निर्देशन दिए । अनुगमनका क्रममा मन्त्री यादवसँगै स्वास्थ्य सचिव डा रोशन पोखरेलसहित मन्त्रालयका उच्च अधिकारीको सहभागिता रहेको थियो । सो अवसरमा कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायले अस्पतालको बारेमा जानकारी गराएका थिए । -रासस


 

salt training

कमेन्ट गर्नुहोस्