×

फिल्मी शैलीको बैंक घोटाला : गाउँ नै रित्तिनेगरी खातावालालाई जेल, करोडमाथि जरिवाना

काठमाडाैं | असार २, २०८१

बैंकको हाकिमले केही दिनका लागि मात्र भनेर ऋण माग्दा कसले नदेला ? तर, त्यसको परिणाम के हुन्छ भन्ने अनुमान शायदैले मात्र गर्न सक्छन् ।

दाङको घोराही उपमहानगरपालिका– १० नारायणपुरस्थित साविक वेस्टर्न डेभलपमेन्ट बैंक लिमिटेडका तत्कालीन शाखा प्रबन्धक अर्थात् ‘ब्रान्च म्यानेजर’ समीर बुढाथोकीलाई सापटी दिएका व्यक्ति तथा संस्था अहिले सजायको भागीदार हुनुपरेको छ ।


Advertisment

घटना हो, २०७६ सालको । फिल्मी शैलीको सेटिङले उक्त बैंकमा खाता भएका ३६ संस्था तथा व्यक्तिहरूलाई जेल पुग्ने अवस्था बन्यो । यस प्रकरणमा भएको के हो ? गाउँ नै रित्तो हुने गरी ३६ खातावाला जेल जानुपर्ने अवस्था कसरी बन्यो ? यस प्रकरणका मुख्य अभियुक्त र घोटालामा मिलेमतो गर्ने को–को हुन् ? आजको भिडियोमा हामीले यसै विषयलाई प्रस्ट्याउने प्रयास गरेका छौं ।


Advertisment

तत्कालीन अवस्थामा वैदेशिक रोजगारीका लागि जापान जाने तयारीमा रहेका २३ वर्षीय मनोज केसी घरमा देशमै केही गर्ने सल्लाह भयो । उनीहरूले सानो व्यवसाय शुरू गर्ने योजना बनाए  । कृषि व्यवसाय रोजे– कुखुरा पालन । त्यसका लागि ओम पोल्ट्री फार्म पनि दर्ता गरे । केही पैसा घरबाट र केही पैसा बैंकबाट जोहो गर्ने योजना अनुरूप व्यवसाय शुरू गरेका थिए ।

ऋणको प्रक्रियाकै क्रममा साविक वेस्टर्न डेभलपमेन्ट बैंकका तत्कालीन ब्रान्च म्यानेजर समीर बुढाथोकीसँग चिनजान भयो । जग्गा धितो राखेर ऋण लिन बैंक पुगेका उनीहरूलाई म्यानेजर बुढाथोकीले सहयोग गरे । २० लाख रुपैयाँ ऋण लिएकोमा उनीहरूले खाताबाट १५ लाख रुपैयाँ निकाले । कुखुरालाई आवश्यक दानालगायत सामानमा खर्चिन भनेर बाँकी रकम खातामै राखे । त्यसपछि शुरू भयो घोटालाको घिनलाग्दो खेल । 

ऋण लिँदा सहयोग गरेको सम्झाउँदै समीरले उनीहरूसँग घनिष्ठता बढाए । पहिलोपटक बैंक म्यानेजरको पदमा नियुक्त भएका ३० वर्षीय समीर सम्बन्ध नजिक बनाउन माहिर थिए । समीर उनीहरूको घरसम्मै आवतजावत गर्थे । विस्तारै विश्वास बढ्दै गयो । समीरले आफ्नो अन्य व्यवसाय पनि रहेको भन्दै मनोजसँग एक साताका लागि ५ लाख सापटी मागे ।

सम्बन्ध राम्रो भएकाले उनीहरूले नाइँ भन्न सकेनन्, चेक काटेर दिए । लगत्तै उनीहरूको खाताबाट ५ लाख निकालेको म्यासेज आयो । समीरले ५ दिनमै सापटी फिर्ता गरे । तोकिएको समयमै सापटी फिर्ता गरेपछि उनीप्रति विश्वास झन् बढ्यो ।

सँगै उनीहरूको कारोबार बढ्दै गयो । समीरले कहिले २ लाख, कहिले ३ लाख गर्दै सापटी मागिरहे । फेरि भनेकै समयमा फिर्ता पनि गर्थे । कारोबार बढेर ५० लाखसम्म पुगेपछि उनीहरूलाई अस्वाभाविक लाग्यो । बैंकका कर्जा शाखा प्रमुख पोषणप्रसाद जैसीलाई भेटेर गुनासो राखे । जैसीले पनि केही फरक पर्दैन भनेर भरोसा दिलाएको मनोजकी श्रीमती पार्वती केसी बताउँछिन् । समय बित्दै जाँदा पैसा राखेको तथा निकालेको म्यासेज समेत आउन छाड्यो । भित्रभित्रै आफ्नो खाता दुरूपयोग भइरहेको तब मात्रै थाहा भयो, जब ब्रान्च म्यानेजर बुढाथोकी सम्पर्कविहीन भएको र बैंकमा रकम हिनामिना भएको हल्लाखल्ला हुन थाल्यो । 

****

साविकको वेस्टर्न डेभलपमेन्ट बैंक २०७६ असार ३० गते देव विकास बैंकसँग मर्ज भएर एकीकृत कारोबार शुरू भयो । मर्ज भएको भोलिपल्ट अर्थात् २०७६ असार ३१ गते देव विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक नारायणपुर शाखाको मात्रै १७ करोड ९९ लाख ९० हजार कर्जा बक्यौता रहेको पत्ता लगायो । यो कर्जा प्रवाहमा अनियमितता देखेपछि देव विकास बैंकले नेपाल राष्ट्र बैंकमा उजुरी गर्‍यो ।

उजुरीपछि राष्ट्र बैंकले छानबिन समिति गठन गरी १० दिन लगाएर घटनाको अनुसन्धान गर्‍यो । अनुसन्धानले २०७४ फागुन ३० देखि २०७६ जेठ १२ सम्म १५ महिनामा मनपरी कारोबार गरेको तथ्य पत्ता लगायो । उक्त घोटालामा ब्रान्च म्यानेजर समीर बुढाथोकी तथा कर्मचारीहरू पोषणप्रसाद जैसी, अर्चना थापा खत्री र मालती डी.सी.को युजर आईडी प्रयोग भएको निष्कर्ष समितिले निकाल्यो । यति ठूलो घोटालामा बैंककै नेतृत्व र सञ्चालक समितिको पनि मिलेमतो हुन सक्नेमा उनीहरूलाई जोगाइएको पीडितको गुनासो छ ।

हेर्नुहोस्, हिनामिनाका लागि प्रयोग भएका खाता र रकम 

अन्जन स्टोर : रु. ६५ लाख  

अनुष्का स्टोर : रु. ५९ लाख 

भरतमणि खनाल : रु. १४ लाख ४० हजार 

भरतमणि खनाल : रु. ४५ लाख

विनोद खड्का : रु. ३० लाख

ब्लुस स्टोर : रु. ५९ लाख

बुढाथोकी किराना पसल : रु. ७० लाख

हेमबहादुर कुँवर : रु. ४८ लाख 

के.सी. सप्लार्यस : रु. ६७ लाख 

लेखनाथ आचार्य : रु. ३० लाख

मदन के.सी. : रु. ४५ लाख ५० हजार

मनिष ग्रील उद्योग : रु. ६५ लाख

मुकेशकुमार गुप्ता : रु. ३७ लाख ५० हजार

एन.के. स्टोर : रु. ५३ लाख

निशा ट्रेडर्स : रु. ६० लाख

निशा ट्रेडर्स : रु. ४४ लाख

ओम पोल्ट्री फार्म : रु. ६० लाख

पोखेल पोल्ट्री फार्म : रु. ५८ लाख

पूजन राइस मिल : रु. ४५ लाख

पुष्पादेवी न्यौपाने : रु. ३८ लाख

रावल कुखुरा पालन फार्म : रु. ६८ लाख

रावत सप्लायर्स : रु. ६० लाख

रेखा बुट्टा पसल : रु. ६५ लाख

रितेश भाँडा पसल : रु. ४९ लाख

रोका सप्लायर्स : रु. ५८ लाख

रोका सप्लार्स : रु. ३० लाख

संगम स्वीट हाउस होटल : रु. ५१ लाख

शान्ति थापा : रु. ४६ लाख ५० हजार

सरस्वती शर्मा : रु. ३८ लाख

सिद्धलक्ष्मी स्वीट सप्लायर्स : रु. ६० लाख

सुरेन्द्र किराना पसल : रु. ५१ लाख

सुरेन्द्र किराना पसल : रु. ४३ लाख

सुरेश किराना पसल : रु. ६५ लाख

तुलकुमारी खड्का : रु. २१ लाख

उज्ज्वल आचार्य : रु. ३६ लाख

यमुना एन्ड अनिल गिफ्ट पोइन्ट :  रु. ६५ लाख

जम्मा : रु. १७ करोड ९९ लाख ९० हजार

प्रतिवेदनअनुसार २५ व्यावसायिक फर्म र ११ व्यक्तिसहितका ३६ वटा कृत्रिम कर्जा खाताको भौतिक फाइल नै खडा नगरी कर्जा प्रवाह गरेको देखिन्छ । कृत्रिम कर्जा खाताबाट विभिन्न खातामा रकमान्तर गरी रकम झिकेको तथा नयाँ कृत्रिम खाता खोली पुरानो कृतिम खाता चुक्ता गर्ने र बाँकी रकम विभिन्न खातामा रकमान्तर गर्ने गरेको अध्ययन समितिले जनाएको थियो ।

****

यता देव विकास बैंकले पनि एउटा छुट्टै समिति बनाएर यस प्रकरणको आन्तरिक छानबिन गरेको थियो । समितिले अख्यितारी प्राप्त अधिकारीबाट स्वीकृति नलिई कर्जा प्रवाह/नवीकरण गरेको, सिस्टममा कर्जा प्रवाह भएको देखिए पनि ऋणीको कर्जासम्बन्धी कुनै पनि कागजात पेश नगरेको र फाइल नै नबनाई कर्जा प्रवाह गरेको निष्कर्ष निकालेको थियो ।

तत्कालीन समयमा पुमोरी बैंकिङ प्रणालीमा प्रविष्टि गर्ने र स्वीकृत गर्ने असीमित अख्तियारी शाखा प्रमुखलगायत कर्मचारीलाई थियो । सोही अख्तियारीको दुरुपयोग गरी शाखा प्रमुख बुढाथोकीले बैंकिङ प्रणालीमा नाजायज कारोबार गरेको निष्कर्ष समितिले निकाल्यो ।

समीर स्वयंले नक्कली ऋण खाता खडा गरी प्रवाहित कर्जा रकमलाई विभिन्न व्यक्तिको खातामा रकमान्तर गरेको पाइएको थियो । यसमा ठूलै सेटिङ भएको समितिको निष्कर्ष थियो ।

यी दुई प्रतिवेदनमध्ये राष्ट्र बैंकको प्रतिवेदन बैंकका सञ्चालकहरूप्रति लचिलो देखिन्छ । यस प्रकरणमा नेपाल प्रहरीले गरेको अनुसन्धान पनि निकै फितलो छ ।

तत्कालीन समयमा मुद्दा फाँटका इन्स्पेक्टर (हालका डीएसपी) राजन गौतमले उस्तै प्रकृतिका खातावालाहरू नेत्रलाल धिताल र राजेन्द्र न्यौपानेलाई मुद्दा नचलाएको पीडितहरूको गुनासो छ । उनीहरूमध्ये एकजनाको खातामा ६१ लाख र एक जनाकोमा ५ लाख जम्मा भएको पाइएको थियो । 

प्रतिवेदनहरू अनुसार घोटालामा संलग्न तथा शंकास्पद भूमिका भएकाहरू :

ओमभक्त बुढाथोकी : सञ्चालक समिति अध्यक्ष

खिमबहादुर डी.सी : सीईओ (ओमभक्तका ज्वाइँ)

खड्कबहादुर बुढाथोकी : सञ्चालक समिति सदस्य (समीरका काका ओमभक्तका भाइ)

समीर बुढाथोकी : प्रबन्धक (खड्क बहादुरको भतिजो)

कुमार न्यौपाने : वरिष्ठ प्रबन्धक

प्रेम भुर्तेल : लेखा परीक्षक 

पोषणप्रसाद जैसी : कर्मचारी

अर्चना थापा खत्री : कर्मचारी 

अर्जुनकुमार बुढाथोकी : सञ्चालक समिति, सदस्य

निर्मल देवकोटा : सञ्चालक समिति, सदस्य

बेगमबहादुर भण्डारी : सञ्चालक समिति, सदस्य

शेषमणि गौतम : सञ्चालक समिति, सदस्य

राजेन्द्र न्यौपाने : कर्मचारी सेवा सुविधा समिति, सदस्य

सिर्जना पर्छाई : लेखा परीक्षण समिति, सदस्य

यीमध्ये केहीविरुद्ध मुद्दै चलेन, केहीले उच्च अदालत तुलसीपुरबाट सफाइ पाए भने केही दोषी ठहर भए । तत्कालीन मुख्य न्यायाधीश नीता गौतम दीक्षित तथा न्यायाधीश राजुराम सिलवालको वाणिज्य इजलासले मुख्य अभियुक्त समीर बुढाथोकीलाई बिगो बराबर १८ करोड ३ लाख ७२ हजार जरिवाना, बिगोमध्ये अन्य प्रतिवादीबाट असुल भएर बचेको थप ३ करोड ५० लाख ६० हजार बैंकलाई भराउने तथा ७ वर्ष कैदको सजाय सुनाएको छ ।

घोटालामा प्रत्यक्ष जोडिएका अन्य कर्मचारी पनि दोषी ठहर भएका छन् । साथै, अदालतले घोटालाका क्रममा खाता दुरूपयोग भएकाहरूलाई पनि दोषी ठहर गरेको छ । उनीहरूको नाममा रहेको खातामा कारोबार देखिएको विषयलाई आधार बनाएर अदालतले दोषी ठहर गरेको देखिन्छ । मनोजको हकमा २ करोड ९ लाख बिगो, थप १ करोड ४ लाख जरिवाना र २ वर्ष कैद सजायको फैसला भएको छ । बिगो र जरिवाना तिर्न नसक्दा उनले १२ वर्ष कैद भुक्तान गर्नुपर्ने देखिन्छ ।

मनोजसँगै दोषी ठहर भएका ३२ सर्वसाधारण जरिवाना तिरेर जेलमुक्त भएका छन् । तर मनोजले पुनरावेदन गर्न पाएनन् । कानून व्यवसायीको गलत सल्लाहका कारण पुनरावेदन गर्न नपाएको उनकी पत्नी पार्वती केसीको गुनासो छ ।

धरौटी बुझाएर जेलमुक्त भएका उनीहरूमध्ये अधिकांशले सर्वोच्चमा पुनरावेदन गरेका छन् । १५ महिनाको अवधिमा करिब १८ करोड घोटाला सामान्य सोच र सहकार्यले हुँदैन, त्यो पनि आफ्नै बैंकमा खाता भएका व्यक्ति तथा संस्थाको खाता प्रयोग गरेर । वास्तविक दोषीलाई छानबिन र कारबाहीको माग गर्दै मनोजको परिवारसहित ३२ बचतकर्ता न्याय माग्न काठमाडौं आइपुगेका छन् । 

तलदेखि माथिसम्मै सेटिङ गरेर फसाइएको काठमाडौं आइपुगेका पीडितहरूको गुनासो छ । 

हेर्नुहोस्, भिडियो :

मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

जेठ ३०, २०८१

ललितपुरको ग्वार्कोमा निर्माणाधीन नेपालकै पहिलो ओभरपास (फ्लाइओभर)को काम ८० प्रतिशत सकिएको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । निर्माण व्यवसायीबाटै परियोजनाको सर्भे, डिजाइनिङदेखि निर्माण कार्यसमेत ...

भदौ ३१, २०८०

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाकी कुमारी थापा मुटु दुख्ने समस्याले छट्पटिएको लामो समय भयो । यसबीचमा उनी कहिले घरबाट २/३ घण्टा हिँडेर स्थानीय स्वास्थ्यचौकी पुगिन् त कहिले उपचारका लागि भनेर सदरमुकाम मुसिक...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x