२१ जेठ २०८३, बिहीबार

नेपालका युवा किन भारतीय सेनामा भर्ती हुन चाहन्छन् ?

पुस २४, २०८१
काठमाडौं
नेपालका युवा किन भारतीय सेनामा भर्ती हुन चाहन्छन् ?
तस्वीर: प्रियंका शंकर/अल जजीरा

नेपालको पर्यटकीय शहर मानिने पोखराको एक खेल मैदानमा गत पुसको शुरुआततिरको चिसो हावामा करिब ६० युवाहरू वार्मअप गरिरहेका छन् । प्रशिक्षकले उनीहरूलाई गोर्खा भर्ती कार्यक्रमका लागि तालिम दिइरहेका छन् । उनीहरू बेलायती सेना वा सिंगापुर पुलिसमा भर्ती हुने चाहना छ ।

१९ वर्षीय शिशिर भट्टराई 'सलुट गोर्खा तालिम केन्द्र'को स्वामित्वमा रहेको मैदानमा तालिम लिइरहेका युवाहरूमध्ये एक हुन् ।

'म सानैदेखि संसारको कुनै पनि सेनामा भर्ती हुन चाहन्थें,' अलजजीराका लागि रिपोर्टिङ गरिरहेका रोजिता अधिकारी र प्रियंका शंकरसँगको कुराकानीमा उनले भने, 'यो सपनाको श्रेय मेरी आमालाई जान्छ, जसले मलाई सधैं प्रोत्साहन दिनुभयो ।'

उनले आफू ६ कक्षामा पढ्दा बेलायती सेनाका एक सदस्य उनको विद्यालयमा आएका रहेछन् । त्यतिबेला ती सेनाका सदस्यले बेलायती सेनामा भर्ती हुने प्रक्रियाबारे बताएपछि भट्टराईले सेनामा भर्ती हुने लक्ष्य राखेका रहेछन् ।

'ब्रिटिश सेनाको लागि तालिम लिनुअघि मेरो भारतीय सेनामा भर्ती हुने सपना थियो । धेरै नेपालीहरू भारतमा गोर्खा सैनिकका रूपमा सेवा गरेका छन् । मलाई बलिउड फिल्म शेरशाह पनि मन पर्यो जसको कथा भारतीय सेनाको बारेमा छ र यसले मलाई भारतीय सेनामा भर्ती हुन अझ उत्प्रेरित गर्‍यो,' उनले भने ।

तर २०२२ मा नयाँ भारतले सैनिक भर्तीमा नयाँ नियम ल्यायो, त्यसयता गोर्खा सैनिक भर्ती हुन सकेका छैनन् । अचानक गोर्खा भर्ती रोकिएपछि भारतीय सेनामा जान चाहने धेरै नेपाली किशोरहरू असमन्जमा परेका छन् ।

गोर्खा सैनिकलाई विश्वभरि बहादुरीका लागि चिनिन्छ । गोर्खा सैनिक दशकौंदेखि भारतीय सेनाको औपचारिक हिस्सा हो र यो कारगिललगायत मुख्य युद्धमा प्रमुखताका साथ सहभागी भएको छ ।

भारतमा गोर्खा सैनिक सन् १८०० को प्रारम्भदेखि नै अस्तित्वमा थियो, जतिबेला भारत बेलायती उपनिवेशको एउटा अंग थियो ।

बेलायती उपनिवेशबाट मुक्त भएपछि भारत, बेलायत र नेपालबीच भएको त्रिपक्षीय सम्झौताले भारतमा नेपाली गोर्खा सैनिकको भर्ती जारी राख्ने अनुमति दिएको थियो ।

तर यो भर्ती सम्झौता २०२२ मा रोकियो जब भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले 'अग्निपथ' भनिने नयाँ प्रणाली ल्याए ।

यस प्रणाली अन्तर्गत १७ देखि साढे २१ वर्ष उमेरका पुरुष र महिलाहरूलाई चार वर्षको कार्यकालका लागि भर्ती गरिन्छ । अन्त्यमा तिनीहरूमध्ये एक चौथाइलाई मात्र नियमित सेवाको लागि लिइन्छ । बाँकी सैनिकहरूले ४ वर्षपछि सेवा छोड्नुपर्नेछ र त्यसबापत पेन्सन या अन्य अतिरिक्त लाभ पाइनेछैन ।

यसअघि गोर्खा सैनिकले भारतीय सेनामा औसतमा १० देखि १७ वर्षसम्म सेवा गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले अग्नीपथ योजना सम्झौताविपरित भएको बताएको थियो ।

भारतीय सेनामा करिब ३० वर्ष सेवा गरेका सेवानिवृत्त मानार्थ कप्तान कृष्णबहादुर आले अहिले हाल 'सलुट गोर्खा ट्रेनिङ सेन्टर'का मुख्य प्रशिक्षक हुन् । उनले भारतको अग्निपथ योजनालाई 'राजनीति' भनी टिप्पणी गर्छन् । 

'यसले नेपालमा युवाजि रोजगारीको सम्भावनालाई गम्भीर रूपमा असर गरेको छ,' उनले अल जजीरासँग भने, 'भारतीय सेनामा भर्ती हुने विकल्प नभएपछि रोजगारी संकुचित हुन्छ ।'

उनले नेपालको सेनामा तलब निकै कम रहेकै कारणले धेरैले विदेशी सेनामा सेवा गर्न रुचाएको बताए ।

भारतका केही सैन्य विश्लेषकहरूले मोदी सरकारको अग्निपथ योजनाले देशको सेनालाई आधुनिकीकरण गर्ने र खर्च कटौती गर्ने माध्यमको रूपमा लिएका छन् ।

मोदीको यो योजनाबारे भारतमै पनि विरोध भइरहेको छ । भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेलगायत विपक्षी नेताहरूले मोदीलाई राजनीति गरेको आरोप लगाएका छन् ।

अहिले भारतमा ३२ हजार भन्दा बढी गोर्खा सैनिक कार्यरत छन् । भर्ती रोकिनुअघि वर्षको १५ सय जति नेपाली युवा भारतीय सेनामा भर्ती हुने गर्थे ।

एक तथ्यांकअनुसार बेलायती सेनामा भर्ती हुन अहिले बर्सेनि २० हजार नेपालीले आवेदन दिने गर्छन् ।  तीमध्ये २ देखि ३ सय मात्र छनोट हुने गरेका छन् । बेलायती सेनामा हाल ४ हजारभन्दा बढी नेपाली सैनिक कार्यरत छन् । त्यस्तै सिङ्गापुर प्रहरी बलमा हाल करिब २ हजार नेपाली कार्यरत छन् भने प्रतिवर्ष झण्डै १५० जनाको नयाँ भर्ती हुन्छ ।

भारतले रोकेपछि यतिबेला नेपाली युवाहरू ब्रिटिश आर्मी वा सिंगापुर पुलिसमा छनोट हुन खोजिरहेका छन् । ती दुवै विकल्पमा सफल नभएका कारण पैसा कमाउने आशामा रुसी सेनामा भर्ना हुने जस्ता खतरनाक विकल्पहरू खोज्न युवाहरू बाध्य छन् ।

नेपालले रुसलाई आफ्ना नागरिक सैनिक सेवामा भर्ती गर्ने अधिकार दिएको छैन । दुई देशबीच यस्तो सम्झौता भएको छैन ।

यतिबेला युक्रेनविरुद्ध लडिरहेका नेपाली सैनिकहरूको यकिन विवरण छैन, तर सीएनएनले गत फेब्रुअरीमा रुसले करिब १५ हजार नेपाली युवालाई आफ्नो सेनामा भर्ती गरेको समाचार प्रकाशित गरेको थियो । युद्धमा हालसम्म ४० नेपाली सैनिकको मृत्यु भइसकेको छ ।

माओवादी सशस्त्र द्वन्द्वपछि सन् २००८ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले माओवादी सेनालाई नेपाली सेनामा समायोजन गर्ने निर्णय गरेको थियो ।

तर नेपाली सेनामा हुने न्यून कमाइका कारण धेरै माओवादी लडाकूले केही पैसा लिएर स्वेच्छिक अवकाश लिए । अहिले तीमध्ये कतिपय रुसमा भर्ती हुन गएको आशंका गरिएको छ ।

रुसी सेनामा भर्ती भएबापत उनीहरूलाई आधारभूत मासिक तलब २ हजार अमेरिकी डलर भन्दा बढी दिने आश्वासन दिइन्छ ।

अग्निपथ योजनालाई लिएर नेपाल र भारतबीचको वार्ता अहिले अलपत्र छ । भारतका सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले हालै गरेको नेपाल भ्रमणका क्रममा यसबारे केही बोलेनन् ।

यतिबेला नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चीनतर्फ झुकेकाले काठमाडौँ-दिल्लीको कूटनीतिक सम्बन्ध राम्रो नभएको भारतीय सञ्चारमाध्यमहरू चर्चा गर्ने गर्छन् । यसबारे नेपाली उच्च सरकारी अधिकारीले जवाफ नदिएको अलजजीराको टिप्पणी छ ।

अलजजीराका लागि रोजिता अधिकारी र  प्रियंका  शंकरले पोखराबाट गरेको रिपोर्टिङको भावानुवाद

salt training

कमेन्ट गर्नुहोस्