
शुक्रबार लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा हावाहुरीसहितको वर्षाले ठूलो धनजनको क्षति गरेको छ ।
पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीमा हावाहुरी र सडक दुर्घटनामा परेर शुक्रबार सात जनाको मृत्यु भएको छ भने, ८ जना घाइते भएका छन् ।
पानीसँगै तीव्र गतिमा चलेको हावाले रूख भाँचिदा नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु भयो भने तीन जना गम्भीर घाइते भए । सुनवल नगरपालिका वडा–७ चारपालामा रहेको प्रतीक्षालयमा बसिरहेका स्थानीयलाई रूख ढलेर च्यापेको थियो ।
घटनामा सुनवल–७ की ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए ।
सोही वडाका ४० वर्षीया नरमती परियार, ५१ वर्षीया दुर्गेश्वरा खाम्चा र २२ वर्षीय अनिल थापा घाइते भएका छन् । उनीहरूको रुपन्देहीको देवदह मेडिकल कलेज उपचार भइरहेको छ ।
पानी परेपछि प्रतीक्षालयमा बसिरहेकाहरूलाई हावाहुरीले ढालेको रुखले च्यापेको थियो । रूख प्रतीक्षालयमाथि ढलेपछि प्रतीक्षालय नै भत्किएको प्रहरीले जनाएको छ ।

यस्तै, कपिलवस्तुको कपिलवस्तु नगरपालिका-८ मैनिहवाकी १४ वर्षीया सुखना केवटको पनि रूखले च्यापेर मृत्यु भएको छ । उनी तौलिहवा–लुम्बिनी सडक खण्डअन्तर्गत मैनिहवामा पर्ने बगैँचामा आँप टिप्न गएकी थिइन् । चोट लागेर घाइते भएकी उनलाई तौलिहवास्थित जिल्ला अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
तीव्र गतिमा चलेको हावाले आँपको रूखको हाँगा भाँच्चिएर खस्दा लागेपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारीले बताए ।
यता, रुपन्देहीका विभिन्न ठाउँमा पनि हावाहुरीले क्षति पुर्याएको छ । बुटवल, देवदह, भैरहवा, मर्चवार क्षेत्रका केही घरमा हावाहुरीले क्षति पुर्याएको छ भने केही ठाउँमा रुखसमेत ढलाएको छ । हावाहुरीका कारण रुपन्देहीमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहानै कारको ठक्करबाट कपिलवस्तुमा दुईजना महिलाको मृत्यु भएको थियो । पूर्वपश्चिम राजमार्गअन्तर्गत पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा अर्घाखाँचीबाट बुटवलतर्फ आउँदै गरेको बीएबी ९५९९ नम्बरको कारले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कारको ठक्करबाट गम्भीर घाइते भएका बुद्धभूमि नगरपालिका–१ वसन्तुपुर बस्ने ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले बताए ।
उनका अनुसार ‘मर्निङवाक’ गर्न निस्किएका दुवै महिलालाई बिहान सवा ६ बजे कारले ठक्कर दिएको थियो । कार चालक रुपन्देहीको सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, हुलाकी राजमार्गअन्तर्गत लुम्बिनीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ लोखडियास्थितमा पिकअप भ्यान र भारतीय कार एक आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको हो ।
भैरहवाबाट तौलिहवातर्फ जाँदै गरेको लु १ ज ४७२० नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको यूपी ५३ डीएक्स ५२१४ नम्बरको भारतीय कार ठोक्किएर दुई जनाको मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता, डीएसपी सुरज कार्कीले जानकारी दिए ।
मृत्यु हुनेमा भारतको सिद्धार्थनगर ग्राम सिवपतिनगर बस्ने ३७ वर्षीय कृष्णचन्द्र मौर्य रहेको आधार कार्डबाट खुलेको छ । अर्का एक जना मृतकको भने सनाखत हुन सकेको छैन । घाइते कार चालक भारतको अम्बेटकर नगर बस्ने ३५ वर्षीय नगेन्द्र बर्मा रहेका छन् ।
पिकअपमा चालकसहित सवार पाँच जना सामान्य घाइते छन् । दुर्घटना बिहीबार राति १२ बजेतिर भएको डीएसपी कार्कीले बताए ।