
काठमाडौं, १८ जेठ –वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाउने बताएका छन् ।
सुशासन कायम नभएसम्म विकास र समृद्धि असम्भव रहेकामा जोड दिँदै उनले त्यसमा कसैसँग सम्झौता नगरिने स्पष्ट पारे । ‘सरकार सुशासन कायम गर्ने र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अबलम्बन गर्छ’, सामुदायिक वन उपभोक्ता महासंघको २३औं स्थापना दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले भने, ‘सुशासनबिना विकास र समृद्धि सम्भव छैन ।’
मन्त्री बस्नेतले वैज्ञानिक वन व्यवस्थापन जरुरी रहेको चर्चा गर्दै वन क्षेत्रको उपयोग र संरक्षणबीच सन्तुलन कायम गर्ने स्पष्ट कार्यदिशाका साथ मन्त्रालय अगाडि बढेको उल्लेख गरे । वैज्ञानिक वन व्यवस्थापन आफैंमा गलत नभएको तर, कार्यान्वयनका क्रममा सुशासनका पक्षमा कर्मचारीबाट कमजोरी भए कारवाही गरिने उनको भनाइ थयो ।
‘समृद्ध नेपाल र सुखी नेपाली’ सरकारको अहिलेको प्राथमिकता भएको चर्चा गर्दै उनले मुलुकको आर्थिक समृद्धिमा वन क्षेत्रको योगदान उल्लेख्य रूपमा वृद्धि गरिने प्रतिवद्धता जनाए । वन क्षेत्रमा रहेका संरक्षणमुखी कानून, नीति र विधिमा समय सापेक्षा सुधार गर्दै संरक्षण र उपयोगका लागि सन्तुलनकारी नीति निर्माण गरिने मन्त्री बस्नेतको भनाइ थियो ।
वन क्षेत्रको उपयोग र विकास निर्माणका काम गर्दा आर्थिक, सामाजिक र वातावरणीय सन्तुलन कायम गरिने मन्त्री बस्नेतले बताए ।