
काठमाडौं – सरकारले हालै सार्वजानिक गरेको मजदुरहरुको न्युनतम पारिश्रमिकले आम मजदूरहरुलाई अपमान गरेको भन्दै चारवटा मजदूर संगठनहरुले आन्दोलनको घोषणा गरेका छन् । बढ्दो महंगीलाई ख्याल गरी मजदूर संगठनहरुले मासिक २५ हजार रुपैयाँ पारिश्रमिक तोक्न माग समेत गरेका छन् ।
शुक्रबार संवाद डबलीमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, क्रान्तिकारी माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेकपा (माओवादी केन्द्र) निकट क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल र नेकपा (माले) निकट प्रगतीशिल स्वतन्त्र ट्रेड युनियन महासंघ (पिकोण्ट)ले संयुक्त पत्रकार सम्मेलन गरेर नयाँ आन्दोलनको घोषणा गरेका छन् ।
पत्रकार सम्मेलनमा गोपाल कीराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) निकट क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपालका अध्यक्ष राजन तिमल्सिनाले विगतजस्तै यो सरकारले पनि मजदुर मारा नीति ल्याएको भन्दै आकोश पोखे । उनले आफ्ना मागहरु र खबरदारीहरुको बेवास्ता गरे कडाभन्दा कडा आन्दोन गर्ने चेतावनी समेत दिए । ‘नो वर्क नो पे’ तथा ‘हायर एण्ड फायर’ विरोधी संगठनहरुसँग सहकार्य गर्न आफूहरु तयार रहेको जानकारी समेत तिमिल्सिनाले दिए ।
पत्रकार सम्मेलनमा सरकार, रोजगारदाता र कथित टे«ड यूनियनका प्रतिनिधिसहित सहभागी रहेको भनिएको न्युनतम वेतन निर्धारण समितिले गरेको सो निर्णय र प्रकृयाप्रति आफूहरुकोे गम्भिर असहमती रहेको मजदूर नेताहरुले बताएका थिए ।