
काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता लक्ष्मणलाल कर्णले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घट्नामा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नै दोषी रहेको आरोप लगाएका छन् ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कर्णले प्रारम्भिक अनुशन्धानमै प्रहरीले हेलचेक्रयाँई गरेको थाहा हुँदाहुँदैपनि कारबाही नगर्नु प्रधानमन्त्री र गृहमन्त्री दोषी भएको दाबी गरे । उनले भने,‘अहिलेसम्म घट्नाको दोषी पत्ता लगाउन नसक्नु सत्ता सञ्चालकहरुको विफलता हो । अनुशन्धान गर्ने निकाय नै दोषी हो । त्यो निकायले अनुशन्धान किन राम्रोसँग गरेन ?’
कर्णले गृहमन्त्रीले संसदमा दिएको जवाफ आश्चर्यजनक भएको पनि जिकिर गरे । उनले भने,‘गृहमन्त्रीले संसदमा दिएको जवाफ चित्तबुझ्दो छैन । उहाँले अहिलेसम्म अनुशन्धान अधिकृतलाई लिखित उजुरी परेको छैन भनेर जवाफ दिनुभयो । अनुशन्धान अधिकृतलाई धम्की दिँदा गृहमन्त्रीलाई धम्की दिनेको बारेमा थाहा हुँदैन भने के को गृह प्रशासन ? के को गृह मन्त्री ? के को सरकार ?’
निर्मलाको बलात्कारपछि हत्याजस्तो जघन्य अपराधमा संलग्न वास्तविक दोषीलाई सरकारले चाँडो भन्दा चाँडो सार्वजनिक गरेर कानुनी कारबाही गर्नुपर्ने उनको माग छ ।