रत्ननगर –पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्यान्सरबाट पीडित नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीसँग भेट गरेका छन् ।
भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत् नेकपा (क्रान्तिकारी माओवादी)का ४ नं प्रदेश (गण्डकी प्रदेश)का सचिवसमेत रहेका अधिकारीको अध्यक्ष प्रचण्डले आज स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले अधिकारीको स्वास्थ्य अवस्थाबारे अध्यक्ष प्रचण्डलाई जानकारी गराए । प्रचण्डले क्यान्सरका बिरामीलाई प्रभावकारी र गुणस्तरीय सेवा दिन अस्पताललाई आग्रह गरे । उनले नेता अधिकारीसँगै अन्य क्यान्सरका बिरामीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेका थिए ।
घाँटीमा अचानक समस्या देखिएपछि पोखराको एक अस्पतालमा चेकजाँच गर्न पुगेका नेता अधिकारीलाई क्यान्सरको शङ्का गरी पोखराले १९ पुसमा थप उपचारका लागि भरतपुर क्यान्सर अस्पताल रेफर गरेको थियो ।
उनको अहिले अस्पतालमै केमोथेरापी भइरहेको डा खगेन्द्र देवकोटाले जानकारी दिए । उनी गोरखाको कम्युनिस्ट आन्दोलनको संस्थापक नेतासमेत हुन् ।