
काठमाडौँ – तत्कालका लागि सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त नहुने भएका छन् । आइतवार साँझ बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा सहमति नजुटेपछि प्रदेशप्रमुखको नियुक्ति नहुने देखिएको हो ।
बैठकमा उपनिर्वाचनका लागि उम्मेदवारको छनौटसँगै प्रदेशप्रमुख नियुक्तिको विषय पनि प्रवेश गरेको थियो । नेकपाका एक सचिवालय सदस्यले प्रदेश प्रमुख नियुक्त गर्ने विषय सचिवालयमा प्रवेश गरेपनि तत्कालका लागि केही निर्णय नभएको बताए ।
‘बल्ल त खाली भएको छ, अहिल्यै के हतार छ र ?’ उनले लोकान्तरसँग कुरा गर्दै भने, ‘आज उपनिर्वाचनका सन्दर्भमा महत्त्वपूर्ण निर्णय भएको छ, प्रदेश प्रमुखका विषयमा अन्य कुनै दिन निर्णय गरौंला भनेर उठ्यौं ।’
सचिवालय बैठकमा प्रदेश प्रमुख नियुक्तिको विषयमा सहमति नजुटेपछि मन्त्रिपरिषदको बैठक सोमवारलाई सरेको छ ।
आइतवार बिहान बसेको मन्त्रिपरिषदको बैठकले सातवटै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति कार्यालयले आइतवार दिउँसो एक विज्ञप्ति जारी गरी संविधानको धारा १६५ प्रयोग गरेर सबै प्रमुखहरूलाई पदमुक्त गरेको जानकारी दिएको थियो ।
आइतवार साँझ आकस्मिक रूपमा बोलाइएको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख नियुक्त गर्ने अपेक्षा गरेको भएपनि नेकपाभित्र सहमति नजुटेपछि मन्त्रिपरिषदको आकस्मिक भनिएको बैठक सोमवारलाई सरेको हो ।
पढ्नुहोस् यो पनि -
राष्ट्रपतिद्वारा सातै प्रदेश प्रमुख पदमुक्त
प्रदेश प्रमुख हटाएपछि कांग्रेसको प्रतिक्रिया : सरकारको काम पूर्वाग्रही !
पदमुक्त भएपछि ५ नम्बर प्रमुख झाको प्रतिक्रिया – सरकारले राम्रो काम गरेन, अरु के भनुँ ?
पदमुक्त भएपछि २ नम्बर प्रमुखको टिप्पणी : ‘मलाई यस्तो निर्णय होला भन्ने अपेक्षा थिएन, सरप्राइज भयो’
नेकपा सचिवालय बैठकको निर्णय - कास्कीमा विद्या, बाग्लुङमा जनमोर्चालाई समर्थन