×

NIC ASIA

बर्दीको आडमा कालो धन्दा, ऋण बुझाउन गएका व्यक्ति प्रहरीबाटै लुटिए

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

धनुषा, २४ चैत– १५ चैत्र २०७३ मा धनुषा प्रहरीले भारतीय नागरिकको पैसा लुटेको आरोपमा धनुषामा कार्यरत एक जना प्रहरी हवलदार कर्मचारीलाई पक्राउ गर्यो । जनकपुरको श्याम चौक नजिकै एक जना भारतीय व्यापारीबाट रकम लुटेको आरोपमा प्रहरी हवलदार धर्मेन्द्र पासवानलाई प्रहरीले हिरासतमा लिई अनुसन्धान प्रक्रिया अगाडी वढाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मनोज यादवका अनुसार भारत विहारको मधुवनी जिल्ला ग्राम पञ्चायत कलना निवासी जिवछ यादवबाट २ लाख रुपैयाँ लुटपाट गरेको आरोपमा हवलदार पासवानलाई गिरफ्तार गरिएको हो ।

धनुषाको साविक देवडिहा गाविस अकौडा घर भएका पासवानले भारतीय नागरिक यादवको साथमा रहेको २ लाख १० हजार नगद मध्ये १० हजार छाडेर २ लाख रुपैयाँ लुटेका थिए । प्रहरीको पोशाकमै रहेका पासवानले यादवसँग रहेको रुपैयाँ लुटेका हुन । छोरीको विवाहको लागि लिएको ऋण जनकपुरका सुरेन्द्र साहु भन्ने व्यक्तिलाई तिर्न साइकलमा जनकपुर आउँदै गर्दा जनकपुर प्रवेश गर्ने हनुमान नगर स्थित बाटोबाट यादवलाई रोकेर गोजी तलास गरि रुपैयाँ लुटिएको थियो । पीडित यादवले मेरो पैसा हो किन खोसेको भन्दै कराए पछि हवलदार पासवानले उनलाई उल्टै २/४ झापड हिर्काउँदै रुपैयाँ लुटेर स्कुटीमा चढी फरार भएका थिए ।

स्थानीय यूवाहरुको सहयोगले पीडित यादव घटना स्थल नजिकै रहेको हनुमान नगर प्रहरी चौकीमा उजुरी गरेपछि चौकीका इन्चार्ज समेत रहेका प्रहरी नायव निरीक्षक अयोधि शरण यादवले पासवानलाई जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए । त्यसपछि पीडितको आरोपका आधारमा हलवदार पासवानको डेरामा धनुषा प्रहरीले छापा मारी लुटेको एक एक हजार दरका २ लाख रुपैयाँ बरामद समेत गरेको हो । विगत १७ बर्ष देखि नेपाल प्रहरीमा कार्यरत पासवान विगत ५ महिना पुर्व मात्र थप सहयोगका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा आएका थिए । रातेमाटो हेटौडा गणमा दरबन्दी रहेका पासवानलाई तत्काल निलम्बन गरी चोरी मुद्दामा धनुषा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको डिएसपी यादवले जनाएका छन् ।
यसरी हेर्ने हो भने धनुषामा प्रहरीको बर्दी लगाएर आपराधिक कृयाकलापमा संलग्न रहेको घटना भने यो नै पहिलो होइन ।

५ फागुन २०६४ देखि २७ भदौ २०६५ सम्म धनुषा प्रहरी प्रमुखको रुपमा कार्य गरेका तत्कालिन प्रहरी उपरीक्षक छविलाल बञ्जाडे जोशी पनि तराई मधेसमा क्रियाशिल रहेका भूमिगत सशस्त्र समुहहरुलाई परिचालन गर्ने गरेको विवादमा मुछिएका थिए । जनकपुरमा अत्यन्तै आतंक मचाएको आकाश त्यागी भनिने राम यादवलाई एसपी बञ्जाडेले नै परिचालन गरी चन्दा आतंक मचाएको, लुटपाट, व्यक्ति अपहरण तथा फिरौती लिने जस्ता गम्भीर प्रकृतिका अपराधहरुमा सहयोग गरेको भन्दै पटक पटक विवादमा मुछिएका थिए । तर, उनी माथि प्रहरी संगठनले कुनै कारवाही गरेनन् । हाल उनी एसएसपीको रुपमा काठमाण्डौमा कार्यरत छन् ।

२०६७ सालमा धनुषामा कार्यरत प्रहरी नायव उपरीक्षक रुपकुमार न्यौपानेले भुमिगत सशस्त्र समुहसँग साँठगाँठ गरी आपराधिक क्रियाकलापमा लागेको तत्कालिन एसपी सर्बेन्द्र खनालले प्रमाणहरु जुटाएर प्रहरी प्रधान कार्यालयमा पठाएपछि गृहमन्त्रालयले छानविनका लागि तत्काल निलम्बन गरेको थियो । पछि गृहमन्त्रालयले छानविनमा डिएसपी न्यौपाने माथि लागेका आरोपहरु ठहर भएपछि उनलाई एक तह इन्सपेक्टरमा घटुवा गरिएको थियो । नेपाल प्रहरीको इतिहासमा डिएसपी तहका प्रहरी अधिकृतलाई इन्सपेक्टरमा घटुवा गरिएको त्यो पहिलो घटना थियो । सुरुमा घटुवा भएर इन्सपेक्टर पदमा काम समेत गरेका न्यौपानेले पछि गएर राजीनामा दिएका थिए ।

प्रहरी संगठनबाट कारवाही भएका हरेशिव यादव त धनुषामा सशस्त्र समुह गठन गरी हत्या, हिंसा, आतंक मचाउने काम गरेपछि प्रहरीले उनलाई इन्काउन्टर गरी मारेको थियो । तराई मधेसमा मौलाएको सशस्त्र समुहहरुसँग वा तिनीहरुको नाउँ लिएर त्यसताका प्रहरीका घुमुवाहरु नै लुटपाट, डकैती, अपहरण जस्ता अपराधहरुमा सामिल रहेको पाइएको थियो । अहिले आएर सशस्त्र समुहहरु एक किसिमले निमिट्यान्न भईसकेपछि प्रहरीको बर्दीको आवरणमा हुने अपराधमा भने कमि आएको छ । तर पनि बेला बखत जनताको रक्षकको रुपमा कार्य गर्ने प्रहरीहरु नै भक्षकको रुपमा काम गरी आपराधिक क्रियाकलापहरुमा लागेको घटना उजागर भईरहेका छन् ।

धनुषामा कारवाहीमा परेका प्रहरी

चालु आर्थिक बर्ष २०७३/०७४ को फागुन मसान्त सम्मकै कुरा गर्ने हो भने धनुषामा ३० जना प्रहरी कर्मचारीहरुलाई विभागिय कारवाही भईसकेको छ । १८ कार्तिक २०७३ मा प्रहरी हवलदार शम्भु राउत अहिरलाई धनुषा प्रहरीले बर्खास्त नै गरेको छ । काभ्रे पनौती नगरपालिका ५ मा एक जना बालिकालाई जवरजस्ती करणी गरेको कसुर ठहर भएपछि उनलाई प्रहरी हवलदारबाट बर्खास्त नै गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले १ कार्तिक २०७३ मा प्रहरी जवान जितेन्द्र कुँवर, २१ मंसिर २०७३ मा प्रहरी जवान विरेन्द्र साह तेली, २२ फागुन २०७३ मा प्रहरी जवान हेम बहादुर तामाङ्गलाई नोकरीबाट हटाइएको छ । ड्यूटीमा मादक पदार्थ सेवन गर्ने, भागेर हिँडने, गैर हाजिर हुने आरोपमा तिनीहरुलाई जागिरबाट हटाइएको हो ।

त्यसैगरी ७ माघ २०७३ मा प्रहरी हवलदार हरिबोल अधिकारीले पनि ड्यूटीमा मापसे गर्ने, पटक पटक नसिहत दिँदा पनि लापरवाही गर्ने आरोपमा तल्लो पद प्रहरी जवानमा जिल्ला प्रहरी कार्यालय धनुषाले घटुवा गरेको थियो । आफु खुशी भागेर हिँडेको प्रहरी जवान दिपक श्रेष्ठलाई सुरु स्केलमा घटुवा गरिएको हो । ५ असोज २०७३ मा प्रहरी हिरासतमा रहेका थुनुवालाई कुटपिट गरी आफु खुशी भागेर गैर हाजिर भएको आरोपमा प्रहरी हवलदार भिमलाल श्रेष्ठलाई सुरु टाईम स्केलमा घटुवा गरेको हो ।

प्रहरी जवानहरु नारायण हरि थापा र टेकराज तामाङ्गलाई धनुषा प्रहरीले गैर हाजिर रहेको आरोपमा बढुवा रोक्का गरेको हो । प्रहरी हवलदार अमन चौधरी, रमेश बस्नेत, तारा बहादुर तामाङ्ग, सचिन्द्र पाण्डे, धर्मेन्द्र साह, सुरेश साह, विरेन्द्र महतो गरी ७ जनाले ड्यूटीमा मादक पदार्थ सेवन गरेको आरोपमा धनुषा प्रहरीले नसिहत दिएको छ । त्यसैगरी १५ जना प्रहरी जवानहरु ज्योती बस्नेत, शिवशंकर थारु, विनोद बस्नेत, अमर कुमार यादव, पेम्बा शेर्पा, निर्मल लामा, विकास थापा, शंकर कार्की, परमेश्वर पंजियार, आस कुमार झा, अशोक कुमार यादव, विक्रम राय, राजकुमार सापकोटा, राजु बहादुर सडौलालाई पनि ड्यूटीमा मापसे गरेको, लापरवाही गरेको भन्दै धनुषा प्रहरीले नसिहत दिएको छ ।

जनकपुर अञ्चलमा कारवाही

जनकपुर अञ्चलको ६ जिल्लाहरुमा विगत ३ बर्षमा मात्रै ३ सय ७२ जना प्रहरी कर्मचारीहरुलाई विभागिय कारवाही गरिएको छ । जसमध्ये विगत २ बर्षको तुलनामा चालु आर्थिक बर्षमै धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली जिल्लाहरुमा कारवाहीको संख्या बढेको पाइन्छ भने रामेछाप र दोलखामा घटेको छ ।

अञ्चल प्रहरी कार्यालय जनकपुरले उपलब्ध गराएको तथ्याङक अनुसार आर्थिक बर्ष २०७३÷०७४ को फागुन मसान्त सम्ममा अञ्चल प्रहरी कार्यालय जनकपुरले ८ जना, जिल्ला प्रहरी कार्यालय धनुषाले ३० जना, जिल्ला प्रहरी कार्यालय महोत्तरीले १३ जना, जिल्ला प्रहरी कार्यालय सर्लाहीले १७ जना, जिल्ला प्रहरी कार्यालय सिन्धुलीले २१ जना, जिल्ला प्रहरी कार्यालय रामेछापले ९ जना, जिल्ला प्रहरी कार्यालय दोलखाले ६ जना गरी कुल १०४ जना प्रहरी कर्मचारीहरुलाई विभागिय कारवाही गरिएको छ ।

आर्थिक बर्ष २०७२/०७३ मा अञ्चल प्रहरी कार्यालय जनकपुरले ९ जना, जिल्ला प्रहरी कार्यालय धनुषाले २६ जना, जिल्ला प्रहरी कार्यालय महोत्तरीले ३७ जना, जिल्ला प्रहरी कार्यालय सर्लाहीले २६ जना, जिल्ला प्रहरी कार्यालय सिन्धुलीले २१ जना, जिल्ला प्रहरी कार्यालय रामेछापले २८ जना, जिल्ला प्रहरी कार्यालय दोलखाले १९ जना गरी कुल १६६ जना प्रहरी कर्मचारीहरुलाई विभागिय कारवाही गरिएको छ ।

त्यसैगरी आर्थिक बर्ष २०७१÷०७२ मा अञ्चल प्रहरी कार्यालय जनकपुरले २२ जना, जिल्ला प्रहरी कार्यालय धनुषाले ९ जना, जिल्ला प्रहरी कार्यालय महोत्तरीले १२ जना, जिल्ला प्रहरी कार्यालय सर्लाहीले २० जना, जिल्ला प्रहरी कार्यालय सिन्धुलीले १३ जना, जिल्ला प्रहरी कार्यालय रामेछापले १९ जना, जिल्ला प्रहरी कार्यालय दोलखाले ७ जना गरी कुल १०२ जना प्रहरी कर्मचारीहरुलाई विभागिय कारवाही गरिएको छ ।

अञ्चल प्रहरी कार्यालय जनकपुरले २१ साउन २०७३ मा प्रहरी जवान अनिल कुमार यादवलाई, ४ असोज २०७३ मा प्रहरी कार्यालय सहयोगी राकेश कुमार ठाकुरलाई, २० पुष २०७३ मा प्रहरी हवलदार झण्ड बहादुर भुजेललाई र २४ फागुन २०७३ मा प्रहरी कार्यालय सहयोगी धनेन्द्र रायलाई गैर हाजिर भएको आरोपमा नोकरीबाट हटाएको छ । त्यसैगरी १४ माघ २०७३ मा प्रहरी जवान खेम राज प्रजालाई नकबजनी चोरीको कसुरमा जागिरबाट बर्खास्त नै गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले ७ साउन २०७३ मा प्रहरी हवलदार गोकर्ण रायलाई र १२ भदौ २०७३ मा प्रहरी जवान शिवनाथ महरालाई ड्यूटीमा मादक पदार्थ सेवन गरेको तथा गैर हाजिर रहेको कसुरमा नोकरीबाट हटाएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले ७ असोज २०७३ मा प्रहरी जवान इन्द्रमणि कुमार गिरीलाई मादक पदार्थ सेवन गरी हतियारबाट गोली फायर गरेको कसुरमा नोकरीबाट हटाएको छ ।

किन गर्छन प्रहरीले अपराध ?

प्रहरी ऐन २०१२ बमोजिम कुनै पनि घटना वा मुद्दाको अनुसन्धान गरी सबुत प्रमाण सहित सरकारी वकिल मार्फत अदालतमा मुद्दा पेश गर्ने कानुनद्वारा तोकिएको निकाय नेपाल प्रहरी हो । समाजमा शान्ति कायम गर्ने शिलशिलामा कानुनले गर्न नहुने काम भनी तोकिएको काम गरेमा प्रहरीले अभियूक्तलाई आफ्नो नियन्त्रणमा लिई वा नलिई सबुद प्रमाणसहित मुद्दा दर्ता गर्ने अधिकार नेपाल प्रहरीलाई रहेको छ ।

प्रहरीको आफ्नो आचरण अनुसार कार्य सम्पादन गर्न तथा कर्तव्य निर्वाह गर्नका लागि प्रहरी कर्मचारीमा भर्ना भए देखि नै नियमित प्रशिक्षण र अनुशिक्षण दिने गरिन्छ । प्रहरी संगठनमा प्रहरी जवान, प्रहरी सहायक निरीक्षक र प्रहरी निरीक्षक गरी ३ वटा विभिन्न दर्जामा भर्ना हुने बेला देखि नै आधारभुत तालिम, त्यसपछि निश्चित अवधिसम्मको प्रहरी ऐन, नियम, कानुन लगायतका विषयमा आन्तरिक कक्षा र पिटी, परेड, फायरिङ्ग, लाठी चार्ज, भिड नियन्त्रण, अनुसन्धानको कार्य, मानव अधिकार लगायतका विषयमा बाह्य कक्षको तालिम दिनुका साथै प्रहरी संगठनका विभिन्न नीतिहरु जस्तै मुस्कान सहितको प्रहरी, प्रहरी हाम्रो साथी, सामुदायिक प्रहरी लगायतका तालिमहरु प्रहरीको प्रत्येक यूनिटसम्म दिने गरिएको अञ्चल प्रहरी कार्यालय जनकपुरमा प्रशिक्षकको रुपमा कार्यरत प्रहरी निरीक्षक रुद्रकान्त झा बताउँछन् ।

यहाँसम्म कि अब ६ दिने ४ दिने घुम्ती प्रशिक्षणहरु दिनुका साथै नागरिक मैत्री प्रहरी कसरी बन्ने लगायतका सवालहरुमा प्रत्येक दिन साँझ सुत्नु अघि प्रहरी यूनिटका कमाण्डरले खाना खाईसकेपछि रोल कल अनुसार प्रशिक्षण दिने गर्छन् । कडा अनुशासन, प्रशिक्षण र चेन अफ कमाण्डमा चल्ने प्रहरी संगठन भित्रका केही कर्मचारीहरु व्यक्तिगत लोभलालचमा परेर कानुनमा हातमा लिएर कानुन विपरित काम गर्ने गरेको पाइएको छ ।

अपराधिलाई कानुनको दायरामा ल्याउने नेपाल प्रहरीका कर्मचारी नै अपराधमा किन लागिरहन्छन ? अञ्चल प्रहरी कार्यालय जनकपुरका प्रहरी नायव उपरीक्षक जयराज सापकोटा भन्छन, “७० हजार जनसंख्या रहेको प्रहरी संगठन भित्र केही प्रहरी कर्मचारीहरु व्यक्तिगत लोभलालच, महत्वाकांक्षाका कारण आपराधिक क्रियाकलापमा लाग्ने गरेका हुन्छन् ।’ तर, केही प्रहरी कर्मचारीका कारण सिंगो प्रहरी संगठनलाई नै बदनाम गरिनु नहुने उनी बताउछन् ।

धनुषामा प्रहरी संगठन भित्र विकृति बढ्नुको मुख्य कारण प्रहरी कर्मचारी लामो समय देखि एउटै जिल्लामा कार्यरत रहनु पनि एक रहेको नाम न भन्ने सर्तमा धनुषाका एक जना प्रहरी अधिकृतको विश्लेषण छ । विभिन्न दर्जामा बढुवा भएपनि केही समयका लागि काजमा अन्य जिल्ला जाने र फेरी धनुषामा फर्किने प्रहरी कर्मचारीहरुको मनोवृतिका कारण पनि धनुषा प्रहरी भित्र आपराधिक गतिविधिहरु बढेको छ । ‘कतिपय प्रहरीले बहिरका सूचना ल्याउने होइन, संगठन भित्रका सूचनाहरु बाहिर चुहाउने गरेका छन’ उनले लोकान्तरसँग भने ।

ती प्रहरी अधिकृतका अनुसार अहिले इन्सपेक्टर दर्जामा कार्यरत रहेका प्रहरी निरीक्षकहरु विगतमा असई र सई दर्जामा हुँदा पनि धनुषामा कार्यरत थिए । यस्ता थुप्रै प्रहरी कर्मचारीहरु धनुषामा कार्यरत छन्, जो विभिन्न दर्जामा बढुवा भएपनि धनुषामै राजनीतिक प्रभावका आधारमा फर्किने गरेका छन् । पावर र राजनीतिक प्रभावको आधारमा धनुषामा आउने प्रहरी कर्मचारीहरु प्रहरीको लागि सूचना संकलन गर्ने भन्दा प्रहरी भित्रको सूचना ती राजनीतिक नेता तथा कार्यकर्तासम्म चुहावट गर्ने गरेको ती प्रहरी अधिकृत बताउँछन् ।

धनुषामा पुरस्कृत प्रहरी

धनुषामा सबै प्रहरीहरु नराम्रा मात्र छैनन् । कतिपय अपराधमा सफल अनुसन्धान गरी नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले समेत गर्न नसकेको अनुसन्धानहरु पनि गरेका छन् । नेपालकै चर्चित घटना मध्येको एक सर्बोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्या काण्डको अनुसन्धानको ब्रेकथु्र पनि धनुषा प्रहरीले नै गरेको हो । कतिपय भुमिगत सशस्त्र समुहका नाईकेहरुलाई पक्राउ गरी कानुनको दायरामा ल्याएर त्यस्ता संगठनको प्रभावलाई न्यूनिकरण मात्र नगरेर निमिट्यान्न बनाउन समेत धनुषा प्रहरी सफल भएको छ । राम्रा काम गर्ने प्रहरी कर्मचारीहरुलाई बेला बखत पुरस्कृत गर्ने र धनुषामा गरेको उल्लेखनिय कार्यका कारण बढुवा पनि हुने गरेका छन् ।

जिल्लामा शान्ति सुरक्षा व्यवस्था कायम राखेको भन्दै मध्यमाञ्चल क्षेत्रिय प्रहरी कार्यालय हेटौडाका प्रहरी नायव महानिरीक्षक पशुपति उपाध्यायले १२ माघ २०७३ मा धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यलाई १५ सय नगद सहित पुरस्कृत गरेका थिए । त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनुषाले १ भदौ २०७३ मा उत्कृष्ट कार्य गरे बापत प्रहरी नायव उपरीक्षक नकुल पोखरेललाई पुरस्कृत गरेको थियो । राजमार्गमा सवारी दुर्घटना न्यूनिकरण गरेको, सीमावर्ती क्षेत्रमा हुने लुटपाट, चोरी डकैती तथा अपराध नियन्त्रण गरेको भन्दै १ भदौ २०७३ मा जिल्ला प्रहरी कार्यालय धनुषाले ४ जना प्रहरी निरीक्षकहरु रामकुमार राई व्रिज किशोर चौधरी, सागर विक्रम राणा र शंत कुमार लामालाई एक एक हजार रुपैयाँले पुरस्कृत गरेको थियो ।

त्यसैगरी अपराध अनुसन्धानमा सफल अनुसन्धान गरेको भन्दै १८ जेष्ठ २०७३ मा जिल्ला प्रहरी कार्यालय धनुषाले ३ जना प्रहरी नायव निरीक्षकहरु अयोधिशरण यादव, कैलाश चौधरी र चन्द्रनारायण त्रिपाठीलाई जनही ८ सय रुपैयाँ दरले पुरस्कृत गरेको थियो । त्यसैगरी लागु औषध गाजा पक्राउ गरेको र शान्ति सुरक्षा कायम राख्न सफल भएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले २० भदौ २०७३ मा ४ जना प्रहरी सहायक निरीक्षकहरु हरेराम यादव, योगराज पौडेल, जय प्रसाद नेपाल र प्रकाश बुढाथोकीलाई जनही ७ सय रुपैयाँका दरले पुरस्कृत गरेको थियो ।

त्यसैगरी मोवाइल चोरी गर्नेहरुलाई पक्राउ गरेको, हातहतियार सहित अपराधिलाई पक्राउ गरेको, चोरहरुलाई पक्राउ गर्न सफल भएको कारणले जिल्ला प्रहरी कार्यालय धनुषाले चालु आर्थिक बर्षको विभिन्न मितिहरुमा धनुषाका ९ जना प्रहरी हवलदारहरु राम बहादुर पजियार, रामबली महतो, मुकेश कुमार सिंह, रामशंकर पाण्डे, अवधेश कुमार पंडित, विजय कुमार सिंह, निरमदन थापा र धनबहादुर भुजेल र बृजकिशोर साहलाई जनही ६ सय रुपैयाँका दरले पुरस्कृत गरेको थियो ।

त्यसैगरी मोवाईल चोरी, लागु औषध नियन्त्रण, मोटरसाईकल चोरी लगायत विभिन्न अपराधहरुका अपराधिहरुलाई समात्न सफल भएको भन्दै प्रहरी जवानहरु मनोज कुमार परसैला, निरज कुमार सिंह, दिनानाथ गेलाल, आजाद प्रसाद यादव, अर्जुन कुमार राय, तपेश्वर बैठा, इन्द्रबहादुर थामी, सफल खड्का, श्याम किशोर महतो, मुकुन्द शर्मा, विशेश्वर राय, राजु लहकमिया, कमल राज न्यौपाने, रेणु प्रसाद आचार्य र श्याम पाठकलाई जिल्ला प्रहरी कार्यालय धनुषाले जनही ५ सय रुपैयाँका दरले पुरस्कृत गरेको थियो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

जेठ ४, २०८१

जनताको सेवाका लागि राजनीति गरेको दाबी गर्ने नेताहरू मन्त्री बनेलगत्तै जीवनशैली बदलेर विलासी बन्न खोज्छन् । २ महिनाअघि सरकारमा सहभागी मन्त्रीहरूले पनि निवासमा विलासिताका सामान जोड्न प्रतिस्पर्धा गरेको पाइएको ...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x