घरघरमा खानेपानीको धारा जडान

फाइल फोटो
जेठ २९, २०७६

स्याङ्जा- कुनै बेला खानेपानीको खोजीमा घण्टौंसम्म बिताउनुपर्ने र सार्वजनिक धारामा पानीको पालो कुर्दै लाममा बस्नुपर्ने समस्याबाट हरिनाश गाउँपालिका ३  चिसापानीका बासिन्दाले अब भने मुक्ति पाएका छन् । 

एक घर एक धारा कार्यक्रमअन्तर्गत गाउँमा सबैका घर घरमा धारा जडान भएपछि यहाँका सर्वसाधारणमा खुशी छाएको छ । 


ADVERTISEMENT

गाउँपालिका र  पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको संयुक्त लगानी तथा प्राविधिक सहयोगमा सबैका घर घरमा खानेपानीको धारा जडान भएपछि बासिन्दाले सरसफाइदेखि करेसाबारीसम्म पानी प्रयोग गरेका छन् । 

हरिनाश –३ चिसापानीकी रीता गुरुङले पहिला खानेपानी लिनका लागि धेरै टाढा जानु परेकामा अहिले घरमै पानी आएपछि खुशी लागेको बताइन् । उनी भन्छिन्, 'पहिला पहिल पानीको लागि एक घण्टा लगाएर कुवा, खोल्सा र सार्वजनिक धारामा धाउनुपर्‍थ्यो । अहिले घरघरमै धारा भएपछि घरको काममा समेत सहज भएको छ, पानीको लागि खर्च गर्ने समयमा अरू काम गर्न पाइएको छ,' उनले भने । घरघरमा पानी आएपछि गाउँवासीले अहिले सरसफाइ मात्र नभएर तरकारीसमेत लगाउन थालेको उनी बताउँछिन् ।  

गाउँपालिकाको ३२ लाख र परियोजनाको ५८ लाख आर्थिक तथा प्राविधिक सहयोग र बाँकी स्थानीयवासीको जनश्रमदान गरी एक करोड २६ लाखको लागतमा निर्माण भएको योजनामा स्थानीयवासीले ९३ दिन जनश्रमदान गरेका थिए । 

चिसापानीका २०२ घरधुरीका एक हजार १५८ जनसङ्ख्या सो पानीबाट प्रत्यक्ष लाभान्वित भएको गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले बताइन् । 

जेठ २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस