मुलपानीमा पर्खालले टहरा पुर्दा मृत्यु भएका एक जनाको शव निकालियो, २ जनाको अवस्था अज्ञात

असार २७, २०७६

काठमाडौं – काठमाडौंको मुलपानीस्थित बाबाचोकमा छिमेकीको पर्खालसँगै खसेको पहिरोले टहरा पुर्दा मृत्यु भएका एक जनाको शव निकालिएको छ । अन्य दुई जना अझै बेपत्ता रहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

टहराभन्दा अग्लो स्थानमा रहेको घरलाई सपोर्टका लागि लगाइएको पर्खाल भत्किएर टहरा पुरिएको हो । पुरिएको स्थानबाट स्काभेटरको सहायतामा एक जनाको शव निकालिएको प्रहरीले लोकान्तरलाई जानकारी दियो ।


ADVERTISEMENT

ती व्यक्तिलाई नेपाल मेडिकल कलेज (एनएमसी) पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । अन्य दुई जनाको अवस्था अज्ञात रहेको र स्काभेटरको सहयोगमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बिहीवारदेखि नै जारी अविरल वर्षाका कारण देशभरमा गरी ७ जनाको मृत्यु भइसकेको छ । तीनजना बेपत्ता छन् ।

काभ्रेमा २ तथा खोटाङ, सिन्धुली, रामेछाप र ललितपुरमा १-१ जनाको मृत्यु भएको छ भने मुलपानीमा पुरिएका दुई र कलंकीमा सिलिण्डर समाउन खोज्दा बगेका १ जनाको अवस्था अज्ञात छ ।

 

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस