१ हजार ४ सय उद्योग दर्ता

प्रतिकात्मक तस्वीर
साउन ३२, २०७६

लहान – सरकारले सहुलियत र बैंक तथा वित्तीय संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गर्ने क्रम ह्वातै बढेको छ ।

जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा १ हजार ४९१ घरेलु तथा साना उद्योग दर्ता भएको छ ।


ADVERTISEMENT

दर्ता गरिएका मध्ये ५५८ कृषिजन्य उद्योग रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिए । कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा कृषि उद्योग ४०२, पशुपालनका ७८ तथा कुखुरापालनका ६४ नयाँ उद्योग दर्ता भएको छ ।

आव २०७५/७६ मा उत्पादनमूलक उद्योग १९१, सेवामूलक उद्योग ७४० तथा कृषि तथा वनजन्य ५५८ उद्योग दर्ता भएको छ । उक्त संख्या आव २०७४/७५ मा दर्ता भएको भन्दा दोब्बर बढी हो ।

आव २०७४/७५ मा जिल्लामा ८४२  नयाँ उद्योग दर्ता भएको थियो । जिल्लामा उत्पादन उद्योग एक हजार २७९, कृषि तथा वनजन्य उद्योग १ हजार ५८ र सेवा उद्योग ३ हजार १०३ रहेको छ । नयाँ उद्योग दर्ताबाट ७५ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन भएको यादवले बताए ।

साउन ३२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस