
प्रधानमन्त्री केपी शर्मा ओलीका सबैभन्दा निटक र विश्वास पात्रहरूले नै उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टी सचिवालयको निर्णय नउल्ट्याउन सुझाव दिएका छन् ।
पार्टी निर्णय कार्यान्वयन नगर्ने आवेगले संकटमा पार्ने भन्दै उनीहरूले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयनमा दबाब दिएका हुन ।
यस्तो दबाब दिनेमा प्रधानमन्त्री ओलीका अतिनिकट मानिने प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टाराई लगायत छन् । रिमाल र भट्टराई अधिकांश समय प्रधानमन्त्री सँगै हुन्छन् ।
‘पार्टी निर्णय उल्टाउनु भनेको ठूलो आत्मघाती कदम हुनसक्छ, यसले तपाईंलाई नै संकटमा पार्छ । यस्तो आत्मघाती कदम नचालौं,’ भट्टराई र रिमालले दिएको सुझावलाई उद्धृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो ।
प्रधानमन्त्री ओलीलाई परिपक्व सुझाव र सल्लाह दिँदै आएका महासचिव विष्णु पौडेलले पनि वामदेवलाई सिफारिश गर्ने सचिवालयको निर्णय नउल्टाउन सुझाव दिएका छन् ।
स्रोतका अनुसार सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलबाहेक सबैले सचिवालयको निर्णय नउल्टाउन र वामदेवको नाममा सहमति जुटाउन सुझाव दिएका छन् ।
बुधवार मध्याह्न बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो ।
निर्णय भएको केहीबरेमै ओलीले सचिवालय सदस्यहरूलाई फोन गरेर गौतमलाई नभई युवराज खतिवडालाई राष्ट्रिय सभामा सिफारिश गर्ने बताएका थिए ।
सचिवालयको निर्णय उल्टाउने ओलीको निर्णयपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सचिवालयका अन्य सदस्यहरूबीच बिहीवार पनि टेलिफोनमा कुराकानी भइरहेको एक नेताले लोकान्तरलाई जानकारी दिए ।
सचिवालयको निर्णय नमान्ने ओलीको अडानले नेकपाभित्रको विवाद पेचिलो बन्दै गएको छ ।
पढ्नुहोस्, यो पनि :
BREAKING : नेकपाभित्र भिडन्तको संकेत, वामदेवको नाम उल्ट्याएर युवराजको नाम सिफारिश !
पार्टी र प्रधानमन्त्रीबीच औपचारिक द्वन्द्व सतहमा, एक्लै थेग्न सक्छन् ओली ?
माधव नेपालसँगको भेटपछि निकटस्थसँग ओलीले भने– खतिवडालाई सिफारिश गर्ने निर्णयबाट ब्याक हुन्न