नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भारतबाट अतिक्रमित नेपाली भूमि तत्काल खाली गर्न आग्रह गरेको छ।
महासचिव विप्लवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र लेख्दै अतिक्रमित कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नेपाली भूमि फिर्ता गरेर त्यहाँबाट तत्काल फिर्ता जान भनेको हो।
पश्चिम नेपालको लिपुलेक क्षेत्रमा भारतद्वारा सडक निर्माण गर्ने कार्यले आमनेपाली जनतालाई क्षुब्ध बनाएको ज्ञापन पत्रमा उल्लेख छ। ‘लिम्पियाधुरा, कालापानी क्षेत्र भारतको हो भनेर दाबी गरेका कारण नेपाली र भारतीय जनता आश्चर्यमा परेका छन्।
भारत सरकारको यस्तो कार्यले १८१६ को सुगौली सन्धि, १८५० को शान्ति तथा मैत्री सन्धिको उल्लङ्घनका साथै नेपाल–भारतबीचको सम्बन्ध बिगार्ने प्रोत्साहनबाहेक केही गर्दैन,’ ज्ञापनपत्रमा भनिएको छ। यसैगरी, विप्लवले चीनका राष्ट्रपति सी जिनपिङलाई पनि ज्ञापनपत्र लेख्दै भारतद्वारा अतिक्रमित भूमि नेपाललाई फिर्ता गराउँदै नेपालको सार्वभौमसत्ताको सम्मान गर्न आग्रह गरेका छन्।
लोकान्तर संवाददाता