व्यक्ति एक, दृष्टि अनेक : युगका कवि युगकवि

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

‘आकृति हो तर रूपविहीन 
भाषा हो तर भावविहीन
मान्छे हो तर आत्महीन
धेरैतिर बन्द विचार 
यो हो मेरो प्रतिविम्ब हिडेको ।’ (मेरो प्रतिविम्ब) 

विद्रोह र क्रान्तिकारितामा युगकवि


Advertisement

भनिन्छ, कविहरू आफू बाँचेको युग बोक्छन्, त्यहीँ रमाउँछन्, त्यहीँको जीवनलाई उठाउँछन् र आवश्यक पर्दा जागरणको बिगुल फुक्छन् । कतिका लागि कविका सिर्जना प्रेरणाका स्रोत हुन्छन्, कतिका लागि वृत्ति चयनका मार्गदर्शक बन्दछन् भने कतिलाई जीवनदृष्टि खोल्ने आधार बन्दछन् । युगकवि सिद्धिचरण श्रेष्ठका कवितामा रहेको जोस र क्रान्तिकारिताले तत्कालीन निरंकुश शासन व्यवस्थाविरुद्ध त्यस समयका युवाहरूमा क्रान्ति र विद्रोहको चेत जागेको कैयन दृष्टान्त पाइन्छन् । 

आफ्ना आस्थामा लोह पुरुषका रूपमा पहिचान कमाएका प्रसिद्ध राजनीतिज्ञ गणेशमान सिंहलाई क्रान्तिका समयमा मानसिक बीचलन आउन नदिने प्रेरणाका स्रोतका रूपमा युगकवि रहेको कुरा स्वयं गणेशमान सिंहले भनेका थिए । उनकै प्रेरणा र कविताका कारण गणेशमान सिंहलाई राणाविरोधी बनाएको थियो रे ! कैयन प्रसंगमा काजीदाइको प्रेरणाले आफूहरूजस्ता युवाहरूमा निरंकुशता र शोषण विरुद्धको भावना जागेको सिंहले उल्लेख गरेका छन् ।  


Advertisement

एकातिर निरंकुश राणा शासन अर्कोतर्फ जागरुक युवाहरूमा जाग्दै गरेको चेतनाका बीचमा अन्तरद्वन्द्व थियो । युवा जमात स्वतन्त्रता र निजत्वको पारखी थियो । युगकविका कविता युवाहरूमा चेतना सञ्चार गर्ने सूत्र थिए । युगकविका कविताका प्रेरणाबाट शहिद गंगालाल राजनीतिमा लागेका थिए । राजनीतिमा लागेका युवाहरू युगकविका कविता कण्ठ गरेर सडकमा उत्रन्थे र निरंकुशताविरुद्ध जाइलाग्थे । कविता कुनै हतियार त थिएन, तर चेतना उजस्र ऊर्जा थिए । मनका धारिला हतियार थिए ।  

राजनीतिज्ञ मनमोहन अधिकारी पनि युगकविका कविताबाट अतिनै प्रभावित थिए । कविले उनलाई भनेका थिए ‘युवा पिँढी र राजनैतिज्ञहरू समाज परिवर्तनमा अगाडि बढिरहनु पर्दछ । हामी साहित्यकार पनि अघि बढ्छौं तर साहित्य साधनाबाट । साहित्यकारले जनमत बनाइदिन्छ, राजनीतिज्ञले यसलाई नेतृत्व गर्नुपर्छ ।’ जनताका कविता लेखेबापत अठार वर्ष जेल पर्ने कविका रूपमा पनि युगकवि परिचित छन् । 

पञ्चायतको समयमा प्रकाशित हुन नसकेको खण्डकाव्य ‘मंगलमान’ लाई कविले आफ्नो जीवनको उत्कृष्ठ कृति भनेका छन् । त्यसबाट उनीमा रहेको क्रान्तिकारी भावना र विद्रोहको चेत झनै प्रष्ट हुन्छ । ‘मंगलमान’ मूलतः तत्कालीन समाजको शोषण, उत्पीडनको प्रतीक थियो । ‘मंगलमान’ विम्बमा समाज परिवर्तनका लागि विद्रोहको सन्देश थियो । 

कतिपय चिन्तकले भने झै युगकवि राजनैतिक–सामाजिक परिवर्तनका लागि खरानीमुनिको आगो हो । समालोचक आनन्द भट्ट उनलाई ‘क्रान्तिरत्न’ भन्न रुचाउँछन् । नेपालमा क्रान्ति सफल भएपछि कविको लेखनमा सुधारवादी चरण शुरू भएको साहित्यिक चिन्तकहरूको भनाइ छ । प्रथम निर्वाचित सरकारको विघटन र प्रजातान्त्रिक व्यवस्थाको राजाबाट अपहरण भएपछि धेरैजसो कवि/साहित्यकारहरू स्तुतीवादतिर लागेका थिए । तर सच्चा मानिस घामजस्तै हो । केही क्षण बादल लागेर चमक हराए पनि सूर्य त चम्कन्छ, चम्कन्छ । यसको पुष्टि ‘मंगलमान’ जस्ता उत्कृष्ट कृतिको प्रकाशन र साहित्यकार विश्वेस्वरप्रसाद कोइरालालाई अभिनन्दन गर्न स्वयं युगकविको सभापतित्वमा आयोजित कार्यक्रमले पनि गर्छ । त्यसैले क्रान्तिविना हुँदैन शान्ति भन्ने युगकवि विद्रोह र जागरणका भाषा बोल्न डराएनन् र कवितामार्फत आग्रह गरिरहे :

‘खोल नलाई जगको चाला
बोल्दछु म जो उरको भाषा
रोक्छ भन्दैमा वैभवको पथ
के म नलेखूँ अव कविता ?
      
आमा १ मेरो मेरै बाटो 
होइन म नियतिको बन्दी
भन्नुहुन्छ रे भन्छ घमण्डी 
म कवि जगतको प्रतिद्वन्द्वी ।’ 
राष्ट्रप्रेम र युगकवि

कविहरू जागरणका गीत गाउँछन् । जागरणले मुटु र माटोको सम्बन्ध जोड्ने गर्दछ, जहाबाट राष्ट्रप्रेम शुरू हुन्छ । युगकविका कविता पनि यसरी नै राष्ट्रप्रेमले ओतप्रोत छन् । सर्जकहरू समयलाई राष्ट्र प्रेमबाट विषयान्तर हुन नै दिँदैनन्, प्रकृति चित्रण गरेर होस् वा क्रान्ति चेतबाट होस् । युगकवि पनि आफ्नो राष्ट्रका लागि त्यै भावना जगाउन मरिमेट्छन् कवितामार्फत् ।     

‘क्यारुँ म यो देश निमित्त क्यारुँ, 
सहर्ष काटी शिर नै चढाऊँ
नाचूँ कि गार्उँ कि गला मिलाऊँ
या स्वास जम्मै यसमै मिलाऊँ’ । 

राष्ट्रियता भन्ने कुरा व्यक्तिको उद्भव, हुर्काइ र ऊ भिजेको संस्कृतिको द्योतन गर्दछ । त्यसैले चाहेर पनि कोहीपनि राष्ट्र भावनाबाट अलग रहन सक्दैन । युगकविको राष्ट्र प्रेमको सन्दर्भविन्दु ‘ओखलढुंगा’ हो र त्यहाबाट क्रमशः पाखापखेरू, नदीनाला, हरियाली, हिमाल, पहाड, शहर हुँदै अनन्त फैलिएको छ । ‘ओखलढुंगा’ मा जति फराकिएका छन्, फैलिएका छन्, त्यो एउटा विम्बका रूपमा रहेको छ । यो विम्बले स्थानीयताको विस्तारमार्फत राष्ट्र प्रेम खोजेको छ । कवि भन्छन्–

‘त्यो तामाकोशी, सुनकोशी, त्यो गिरि फोरी बहने रोशी
मेरो हृदयको तिम्रो चित्र, पारिरहन्छन् हर्दम पवित्र
मेरो प्यारो ओखलढुंगा ।’

ओखलढुंगा (जन्मभूमि) प्रतिको माया राष्ट्र प्रेमको अनुपम उदाहरण हो । व्यक्ति कर्म र वृत्तिमा जन्मभूमिबाट पर पुग्नसक्छ तर उसको हृदयले जन्मभूमिलाई कहिले पर पार्न सक्दैन, सुसुप्त होला तर भुल्न सक्दैन । साहित्यकार विश्वेस्वरप्रसाद कोइरालाले राष्ट्रियतालाई ‘माटो र मुटुको सम्बन्ध’ भनेका छन् । मुटु माटो भुल्न सक्दैन, माटो नभए मुटु टिक्न सक्दैन भन्ने कविचेत कविका प्रतिनिधि कविताहरूमा पाइन्छ ।

कवि ‘गाउँ फर्कनु छ’, ‘कुहिरो र घाम’ लगायतका कवितामार्फत मातृभूमि, मातृस्थान, माटो र प्रकृतिप्रति चेतना दिइराख्छन् । युवाहरू नै वास्तविक ऊर्जा हुन् । राष्ट्रप्रेम र देशभक्ति युवा मनमनबाट उभार्नु पर्छ भन्ने भावना कविमा छ । त्यसैले ‘केही गर्न सकिनँ’, ‘हिउँ परेका डाँडा’मार्फत कवि युवाहरूलाई राष्ट्रप्रेम जगाउँछन् र भन्छन् ‘चम्क हे युवा चम्क न चम्क, छाती फुकाई लम्क न लम्क’ । राष्ट्रकवि माधव घिमिरे जसरी नै राष्ट्रियताको बिगुल फुक्छन्, कविवर गोपालप्रसाद रिमाल जसरी नै राष्ट्र प्रेमको आगो ओकल्छन् । 

‘तातो रातो रगत रिपुको प्यूँन हर्दम तयार
मेरो–मेरो प्रिय खुकरी हो हेर भै होशियार ।’

कवि भरतराज पन्त सिद्धिचरणका तेस्रो चरणका कवितामा राष्ट्र प्रेम र राजभक्तिका उद्गारहरू पाइने, ती उद्गार पनि लेखनाथ र माधव घिमिरेको जस्तो छन्दोबहुकारिता, लालित्य र प्रसाद गुणमा पाइने बताउँछन् । नयाँ वर्षको शुभकामनामा समेत नेपालीजनलाई राष्ट्रप्रेम जगाउन युगकिवले खण्डकाव्य नै रचना लेखेर शुभकामना दिएका थिए ः

‘नेपाल प्यारो लयपूर्ण देश 
सौन्दर्य धारा बहने अनेक 
यो देशबाहेक म छैन केही 
मेरो यहाँ पूर्ण जवाफदेही ।’    

साहित्यकार चेतबहादुर कुँवर भन्छन्, ‘मुटु अनि माटो बनिरहेछ सिद्धिचरण, नेपाली आत्माको जीवन्त उदाहरण ।’ 

प्रकृति प्रेम र युगकवि 

युगकविको कवित्वचेत प्रकृतिको प्रेरणाबाट आएको पुष्टि गर्न ‘मेरो प्यारो ओखलढुंगा’ नै काफी छ । प्रकृति प्रेममार्फत सौन्दर्य चेत पनि पोखिन्छ, कलाचेत पनि । प्रकृतिका सुन्दर बस्ती, रोशी, कोशी, पहाड कन्दरा सौन्र्दय र भावनाका बयेली बनेका छन् । कवि कल्पनाहरू प्रकृतिका बयेलीबाट लहराएका छन्, नदी खहरेमा छछल्किएका छन् ।

प्रकृतिका पूजारी कवि प्रकृतिसाम्य जीवन खोज्छन् र प्रकृतिका अवयवलाई भावनामा रंगाएर अक्षरमार्फत पोख्छन् । कतिपय अवयव अक्षरले अभ्यक्त गर्न सक्दैन, कवि उपमा, उपमेय, विम्ब र अरू यस्तै प्रकृति खोज्छन् ।

युगकविको प्रकृति प्रेम र कवित्वको सम्बन्धमा राजनीतिज्ञ सहाना प्रधानले भन्नुभएको थियो, ‘अंग्रेजी साहित्यमा वर्डस्ववर्थको जुन स्थान छ, कविवरको त्योभन्दा कम छैन । अझ भन्ने हो भने वर्डस्ववर्थले प्रकृतिका कुरा मात्र लेखे तर कविवर सिद्धिचरणले राजनीति र समाज बदल्ने समेत साहित्य सिर्जना गर्नुभएको छ’ । प्रधानले उहाँलाई राष्ट्रिय विभूतिको संज्ञा दिनुभएको थियो । 

जीवनबोध र युगकवि

कवि माधव घिमिरेका शब्दमा ‘उनी मनमा नलागी कविता लेख्दैनन् । उनी कविताको परिभाषा गरेर त्यसै अनुरूप कविता सिर्जना गर्दैनन् । जसरी माता कुनै सुन्दर मूर्ति हेरेर त्यस्तै सन्तान सिर्जना गर्दिन ।’

ग्रामीण परिवेश, पाखा पखेरु, नदीनाला, वन बुट्यान नै नेपालको यथार्थता हो । आफू हुर्के बढेको परिवेश, प्रकृति र जीवन संस्कृतिले सर्जकलाई प्रभाव पार्छ र त्यही वस्तु यथार्थलाई उठाएर सिर्जना गर्ने बानी युगकविमा छ । फेरि कवि घिमिरेको शब्द सापटी लिँदा ठूला पात्र, ठूला घटना र अनुभूति टिपेर कविता लेख्ने काम युगकविबाट हँुदैन । जीवन र जगतका सानातिना प्रसंगबाट नै सत्यको उद्घाटन गर्दछन् । 

‘देख्दैनौ ता नजिक मलाई
टाढा नै खोज्नु छ व्यर्थ’ । 


जीवन जगतका दुःखपीडा उठाएर नै कवितामा रंग भर्ने हो । कवि जीवनमा आइपर्ने दुःखबाट पलायन होइन, संयम र अठोटबाट नै लक्ष्यमा पुग्न सकिने दृष्टिकोण राख्दछन् । परिश्रम, उत्साह र जागरको सन्देश दिनु कविको कर्म हो । मानव सभ्यता र प्रगतिका लागि मानवीय कर्म र समर्पण चाहिन्छ नकि पलायन र कुण्ठाका स्वर । उनको जीवन र दुःखप्रतिको दृष्टिकोण यस्तो छः 

‘संकट आइपर्छ मानिसलाई ढुंगालाई के पर्छ
असिना आई फूलबारीकै फूलहरू पहिले झर्छ’ । 

युगकविका बानी र व्यवहारबाट, उनले अरूलाई दिने सन्त्वना र साहसबाट व्यवहारिक जीवनमा पनि धेरै व्यक्तिहरूले जीवन बाँच्ने ऊर्जा पाएका थिए ।

कवि बासुशशि कविका कविताभिव्यक्तिको कारण आमाको निधनमा विक्षिप्त भएको बेलामा आफूले बाँच्ने आधार पाएको बताउँछन् । नजाने कवितामा के शक्ति हुन्छ र कविताभावमा बसिभूत भएका पाठकहरू जीवनमा आशा र उत्साहका डोरेटो पैल्याउँछन् । यस अर्थमा युगकवि निरिस्वरता देखाउँदैनन् । 

अस्तित्ववादीहरू जीवनबोधलाई अस्तित्वको दृष्टिले ओख्ने गर्दछन् । युगकविका कवितामा जीवनको अस्तित्वबोध कविताका भाव र पात्रका क्रियाहरूमा जाजल्य भएर देखा पर्दछ । विचारक पुरुषोत्तम बस्नेतका शब्दमा  आत्मसम्मानको रक्षाका लागि कविताका प्रत्येक पंक्तिले मान्छेलाई कर्तव्यपथमा हिँड्न प्रेरणा दिन्छ । पात्रहरूमा देखिने जागरण, उत्साह र प्रयोग भएका योजन एवं विम्बमा अस्तित्वका यस्तै स्वरहरू गुञ्जिन्छन् ।

कवि मोदनाथ ‘प्रश्रित’ मंगलमान जस्ता सामान्य पात्रलाई कविको कलमबाट टिप्नुमा महानता देख्छन् । ‘कविको त्यस्तो कलमको निम्ति मंगलमान एकदमै सुहाउँदो पात्र थिए र मंगलमानका निम्ति सिद्धिचरणको कलम पनि उत्तिकै सुहाउँदो थियो । मंगलमानले सिद्धिचरणको कलमलाई घच्घच्याएर कविको कलमले मंगलमानलाई जीवित र अमर तुल्यायो । कविले कलम नउठाएको भए सम्भव छ मंगलमान जस्ता उज्जवल नेपाली तारा सदाका निम्ति हाम्रो सम्झनाको आकाशबाट बिलाएर जाँदा हुन् ।’ कविका कलमले समाजमा हराएका, लुकेका असल पात्रहरूको चित्र कोर्ने गर्दछ । 

त्यसैले राजनीतज्ञ सीपी मैनाली युगकविका कविताका सन्दर्भमा भन्ने गर्छन्, कवित्वको हिसाबले प्रकृतिप्रेमी, स्वच्छन्दतावादी, सुधारवादी र विद्रोहीका रूपमा देखा पर्नुभयो । समाजका सन्दर्भमा हेर्दा उहाँ आमूल परिवर्तनकारी देखिनुहुन्छ । शान्तिप्रिय र मानवतावादी पनि देखिनुहुन्छ । वास्तवमा सीपी मैनालीको उहाँप्रतिको दृष्टिकोणले युगकविको व्यक्तित्व र कृतित्वको समग्रतालाई बोकेको महसूस हुन्छ । 

विम्ब योजन र युगकवि 

स्रष्टाहरू सिर्जनामा यथार्थ ओकल्छन् । कला, प्रतीक र उपमाको उपयोगले सिर्जना एउटा विम्ब बन्छ, अझै कलापूर्ण बन्छ । स्वच्छन्दतावादी कविहरू भावना र स्वेरकल्पनामा धेरै आकार र प्रकृति मूर्त/अमूर्तरूपमा देख्ने गर्छन् । सामाजिक चेतनाका कारण पनि विम्ब योजन गर्नुपर्ने बाध्यता कविहरूमा रहने गर्दछ । युगकवि युगीन चेतनाका कारण र भावनालाई प्रकृतिसाम्य प्रस्तुतीका लागि विम्बको उपयोग गर्दछन् ।

‘कोपिला’, ‘कुहिरो र घाम’ र ‘सिद्धिचरणका कविता’हरूमा संकलित कविता, ‘उर्वशी’ र ‘मंगलमान’ काव्य सबैमा विम्ब पस्किएको त छँदैछ तर ‘मेरो प्रतिविम्ब’ सबैभन्दा प्रखर विम्ब हो । जुन कविको विम्ब, युगको विम्ब र प्रकृतिको पनि विम्ब हो । 

‘क्यै हारे झैं क्यै बिर्सेझैं, कुकुरजस्तै लुरुलुरु हिँड्दै, 
दुर्बलताले पीर निखन्दै ..
दुईटा लट्ठी एउटा ढुंगा, 
ढुंगा मास्तिर एउटा फर्सी राखी यो हो मानिस भन्दै 
सत्य नचिन्ने झूट अंगाल्ने, गिर्दै तलतल म उठेँ भन्ने
वातावरण नै दूषित गर्ने वरपर हेर हिँड्न नसक्ने, 
असफल जीवन बाँकी बस्ने, सहअस्तित्वले जोड्न नसक्ने
दुर्गम बाटो धाइरहेको, को त्यो व्यर्थै गाइरहेको, को त्यो पथमा आइरहेको 
को त्यो पथमा आइरहेको !’

कविले आफ्नै आकृतिलाई विम्ब बनाई समयलाई व्यङ्ग्य गरिरहेका छन्, जीवनलाई व्यङ्ग्य गरिरहेका छन् । मेरो प्रतिविम्बको पात्र एउटा युग, जीवनको उद्देश्यमा क्षितिज चढ्नुपर्ने तर कर्तव्य पथमा कतै हराइरहेको छ ।

अस्तित्वको खोजीमा छ, फेरि भग्नाशामा छ । तैपनि यात्रारत छ । वल्टोपल्टो मेरो प्रतिविम्बमा आकृति देखिन्छ । यो ठाकुर मैनालीको मूर्ति पनि होइन, रेब्रान्टको अमूर्त चित्र पनि होइन । वस्तुतः भोगिएको जीवन हो । जुन आकृति भएर पनि रूपबिहीन छ, भाषा भएर पनि भावबिहीन छ । कविकै शब्दमा:

‘आकृति हो तर रूप विहीन
भाषा हो तर भाव विहीन 
मान्छे हो तर आत्माहीन 
चारैतिर बन्द विचार
यो हो मेरो प्रतिविम्ब हिँडेको ?’

कविदूरदर्शी हुन्छ । उसको भविष्यको चेतलाई कल्पना, स्वेरकल्पना भनेर वास्ता गरिँदैन । तर स्वेरकल्पना, कल्पना त विम्ब मात्र हुन् । उ भविष्यद्रष्टा हो, भविष्यको इतिहास पनि बताउँछ । जसले समाजलाई, सामाजिक जागरणलाई, अझ भनौं आविस्कार अनि नवप्रवर्तनलाई बाटो देखाइरहेको हुन्छ । युगकविका कविताका विम्बहरू त्यसरी नै जीवनको भोगाई, अपेक्षा र आकांक्षाका विम्ब हुन् । 

व्यक्तिगत स्वभाव र युगकवि 

युगकविको स्वभाव अत्यन्तै सरल र सामान्य थियो । सामान्यदेखि उच्च पदमा रहेको व्यक्तित्वहरूसँगको उहाँको व्यवहारमा भिन्नता पाइन्नथ्यो । म स्वयं पनि कविज्यूको सम्पर्कमा रहँदा भर्खर माध्यमिक शिक्षा पूरा गरेको तर नोकरीका लागि उमेर नपुगेको किशोर थिएँ । उहाँले म र म जस्तामा गर्नुभएको व्यवहार निकै साथित्वपूर्ण मात्र होइन मजस्ता कलिला मष्तिस्कका लागि प्रेरणाको स्रोत बन्थ्यो ।

मनमनै सोच्थें के उहाँको व्यवहार कतै कृतिम त होइन, तर आम समय, आमव्यक्तिलाई गरिरहेको व्यवहारबाट त्यो तर्कलाई खारेज गरिदिन्थ्यो । एकदिन अस्कल कलेजमा अलि ठूलै साहित्यिक कार्यक्रम थियो, रमेश विकल, निनु चपागाईं, गोकुल जोशी, मञ्जुल जनक हुमागाईंलगायतका साहित्यकाहरूका रचना प्रस्तुत भएका थिए । लाग्छ त्यो प्रगतिशील साहित्यकारहरूको कार्यक्रम थियो । युगकविले मलाई पनि कार्यक्रममा जाने आग्रह गर्नुभयो । उहाँ मञ्चमा रहनुभयो, मलाई पहिलो पंक्तिमा राख्नुभयो । 

त्यस्तै त्रिभुवन स्मारक समितिमा (जहाँ रहेर उहाँका कविता भन्नुहुन्थ्यो र म उहाँका शब्दलाई अक्षरमा उतार्थे) खड्गमान, बद्रि विक्रम थापा, भीमबहादुर अधिकारीजस्ता महान व्यक्तित्वसँग मलाई राखेर कुरा गजर्नुहुन्थ्यो, ओहोदाको पर्खाल हुँदैनथ्यो । कतिपय दिन उहाँ आफैँले खाजा बनाएर पनि मलाई खुवानुभएथ्यो । 

राजनीतिज्ञ मातृकाप्रसाद कोइरालाका शब्दमा उहा सरल, सौम्य र अति नै शिष्ट हुनुहुन्थ्यो । मानिसलाई असमान्य र अमानवीय बनाउने उसैको सोच र व्यवहार हो । मानिस आफ्ना पूर्वाग्रह, आग्रह र दूराग्रहको पुञ्ज हुनेगर्छ । तर युगकवि यसका अपवाद थिए र पूर्ण खुला कितावजस्तै पारदर्शी, विनय र शालीन । मूर्तिकार ठाकुरप्रसाद मैनालीका अनुभूतिमा युगकवि परोपकारी र करुणाको व्यक्तित्व हो । साहित्यकार एवं राजनतिज्ञ राजेस्वर देवकोटाका बुझाईमा कसैलाई नबिझाइकन दीर्घ जीवन बाँच्ने व्यक्ति हो युगकवि । 

आफ्ना व्यवहार र सोचले पनि कवि, कलाकारको मूल्यवृत्ति निर्धारण हुन्छ । ओहोदा पारखी, धनी, सम्भ्रान्तहरू त्यसै अनुरूपको पात्र र परिवेश खोजी गर्छन् । तर सरल, विनयी र महान व्यक्तिहरू सामान्य जीवनका सामान्य कथा, पात्र र परिवेश उठाएर कलाकर्मप्रति पनि इमान्दार बन्ने गर्दछन् । प्रतिभा भएका मानिसहरूमा इमान्दारिता नहुनसक्छ, त्यो कवि/कलाकार हुन सक्तैन । उसले जीवन र कर्मप्रति न्याय गर्न सक्दैन । 

समालोचक कृष्णचन्द्रसिंह प्रधान भन्दछन् ‘कविको मूल्य कर्मको इमान्दारी हो । ’ मैले अंतरंग संगत गरेको युगकविमा त्यो इमान्दारी पाएको छु । त्यसैले ‘मंगलमान’ होस् कि ‘विश्वव्यथा’, ‘तिम्रो बासित पैसा छैन’ होस कि ‘मेरो प्रति विम्ब’, सबैमा कलामूल्य र जीवनको यथार्थ समान छन् । उनले प्रतिनिधित्व गरेको कालखण्डहरू जे जस्ता छन्, कविता कर्ममा तिनै विम्ब मुखरित छन् । लेखक पुरुषोत्तम बस्नेत भन्छन्, ‘कवितामा क्रान्तिकारी, विद्रोही देखिएपनि सामाजिक रूपमा सहृदयी र सुसांकृत’ छन् । यही नै उनको महानता हो । 

मानिस यो सृष्टिको सर्वोत्कृष्ट उपलब्धि हो, किनभने मानिसको सम्पत्तिलाई मानिसले नै आजसम्म बुझेको छैन ।

मानिसका धेरै व्यक्तित्व र वृत्तिहरू हुने गर्दछन् । उसलाई हेर्दा आग्रह र अपेक्षाका साथ होइन, वस्तुगत आयामका सापेक्षमा रहेर हेर्नुपर्दछ । साहित्यलाई साहित्यकै दृष्टिले मात्र हेर्ने, उसका अरू पाटामा हेर्न नहुनेउनको मान्यता त्यतिखेर झनै देखियो जतिबेला मूधन्र्य साहित्यकार विश्वेश्वरप्रसाद कोइरालालाई साहित्यिक पत्रकार संघले अभिनन्दन गर्दै थियो ।

२०३८ श्रीपञ्चमीका अवसर पारेर संघले आयोजना गरेको कार्यक्रममा त्यतिबेलाका धेरै साहित्यकारहरू उक्त कार्यक्रममा आउँदा कोइरालाको अर्को व्यक्तित्वका कारण तत्कालीन सत्ता र राजाबाट अर्के दृष्टिले हेर्ने डरले विभिन्न बहानामा उपस्थित भएनन् । तर युगकवि सिद्धिचरण श्रेष्ठ उक्त कार्यक्रमको सभापत्वि नै ग्रहण गरेर कोइरालाको साहित्यिक योगदानको व्याख्यामा देखिए । 

उपसंहार 

युगकविका काव्य साधनाका विषयमा साहित्यकार, चिन्तक, पाठक र समालोचकहरूका धेरै दृष्टिकोणहरू रहेका छन् । एक सर्जक धेरैका दृष्टिमा धेरैथोक र धेरै स्वादको अवयव हो नै । कविका अभिव्यञ्जनामा पनि धेरै दृष्टि, स्वाद र विवेचना भएका छन् । सारमा भन्दा काव्य सिर्जनाका समय अनुरूप कृतिहरू सिर्जना भएका देखिन्छन् । क्रुर राणा शासन, असीमित शक्ति अभ्यास गर्ने राजतन्त्रसहितको निर्देशित पञ्चयत व्यवस्था, सीमित राजतन्त्र सहितको बहुदलीय व्यवस्थामा सिर्जनाहरू प्रभावित छन् । त्यसरी नै कविको किशोर वय, वयस्कता र प्रौढताका प्रभाव पनि काव्यमा परेको छ । कवि कतै अधिमूल्यांनमा छन्, कहीँ अवमूल्यनमा पनि ।

काव्य यात्रामा स्वच्छन्दवादी, प्रगतिवादी र सुधारवादी धार देखा पर्दछन् । यी तीनधारले नै युगकविको सम्पूर्ण काव्ययात्रा एवं काव्यप्रवृत्ति बोकेको छ । सिर्जनामा पुस्तान्तर र सामाजिक चेतनाको प्रभाव पनि छ ।

पुरानो पुस्ता, आफ्नो पुस्ता र हामीजस्ता नयाँ पुस्ताबीच समान प्रिय छन् युगकवि । युगका चेतनाबाट प्रभावित युगकवि व्यवहारमा जति सरल छन्, त्यति नै गम्भीर चिन्तन कर्ममा । दृष्टिकोणको व्यापकता, सामाजिक चेतना र मानवीय संवेदनशीलता युगकविका काव्यहरूमा देखिने प्रवृत्तिले स्रष्टा सरल भैकन गम्भीर हुन्छ भन्ने उदाहरण पनि दिएका छन् युगकविले । कहीँ विद्रोह चेत, कहीँ समाज सुधारको सन्देश, कहीँ सौन्दर्य र स्वच्छन्दता र सर्वत्र देशभक्तिको अभिव्यञ्जना गर्ने कवि युगका कवि हुन् । विविध प्रवृत्ति र कालजयी कलाबोधका कारण युगकवि युगकै कवि बनेका छन्, युगयुगका कवि बनिरहने छन् । 

‘यो नेपाल फलोस् फुलोस् दिलले आशिष मेरो छ यै
राजी नै छु म जानलाई अहिले चिन्ता ममा छैन क्यै 
साँच्चै हर्ष र शान्तिपूर्वक म यो संसार छाड्दैछु है 
थाकी पान्थ जसोरी पस्छ घरमा क्यै साँझ बाँकी छँदै ।’    
 

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्