नक्सा छापेर अपराध गर्‍यो भन्दै हटाउन होटल र दूतावासमा सक्रियता बढे, तर म हट्दिनँ : प्रम ओली

फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन एम्बेसी (विदेशी दूतावास) र होटलहरूमा चलखेल बढेको जिकिर गरेका छन् ।​

जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले नेपाली भूमि समेटेर नक्सा छापेबापत आफूलाई हटाउने चलखेल शुरू भएको आरोप लगाएका हुन् ।


Advertisement

'अहिलेको अहिल्यै केपी ओलीलाई नहटाइ हुँदैन, पहिला चीनतिरको ट्रान्सपोर्ट ट्रान्जिट गरेर फर्केपछि सरकार ढलेको थियो । अहिले यस्तो अपराध गर्नेलाई चाहिँ... भनेर भनिएको छ । बाहिर नभन्ने, तर भित्र–भित्र यहाँका होटलहरूमा भइरहेका गतिविधि, एम्बेसीको सक्रियता, त्यसले पनि बताइरहेको छ,' प्रधानमन्त्री ओलीले भने ।

ओलीले देशको पक्षमा बोल्दा आफूलाई हटाउने निर्णय गरे भोलि अर्को प्रधानमन्त्री पनि बोलेकै भोलिपल्ट बर्खास्त हुने अवस्था आउने बताए ।


Advertisement

‘नेपालको यति राष्ट्रियता त्यति कमजोर छैन, नक्सा छापेबापत प्रधानमन्त्रीलाई कसैले हटाउँछु भन्छ भने, त्यो नसोचे हुन्छ । कोशिश गर्न सक्छन् । कसैले हतार नगरे पनि हुन्छ । विभिन्न आग्रह नपाले पनि हुन्छ,’ ओलीले भने, ‘मलाई प्रधानमन्त्रीमा बसिराख्ने इच्छा होइन, यतिबेला म हट्ने हो भने नेपालको पक्षमा कसैले बोल्दैन । बोले भोलिपल्टै बर्खास्त हुन्छ ।’

ओलीले नेपाललाई आफ्नो भूमि चाहिएको र त्यो नलिई नछाड्ने जिकिर गरे ।

‘भूलचुकबाट छापिएको होइन, नक्सा छाप्ने र संविधान संशोधन गर्ने कुरा पोइन्ट अफ नो रिटर्न भयो भनेर भनेका छन्, हामीलाई हाम्रो भूमि चाहियो, नलिई छाडिँदैन । यो पोइन्ट अफ नो रिटर्न नै हो,’ ओलीले भने ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्