सञ्चय कोषको कर्जाको साँवा र ब्याज कनेक्ट आइपिएसमार्फत तिर्न सकिने

कर्मचारी सञ्चय कोषबाट लिएको ऋण र तथा सापटीको साँवा तथा ब्याज अब कनेक्ट आइपिएस मार्फत भुक्तानी गर्न सकिने भएको छ। 

कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालय पुल्चोकमा सोमबार आयोजित कार्यक्रममा कोषका प्रशासक तुलसीप्रसाद गौतमले कनेक्ट आइपिएस प्रणालीको शुरुवात गरेका हुन्।


Advertisement

सञ्चयकर्ताले आफ्नो खाता रहेको जुनसुकै बै‌कबाट कनेक्ट आइपिएसमार्फत विशेष सापटी तथा अन्य कर्जाको साँवा तथा ब्याज रकम जम्मा गर्न सक्ने कोषले विज्ञप्तिमार्फत जनाएको छ।  

‘कोषले अनलाइन प्रणालीमार्फत सापटी लिन र तिर्न सक्ने व्यवस्था गरेसँगै कोषका सञ्चयकर्ताले प्रविधिमार्फत कारोबार गर्न सक्ने अवस्था सृजना भएको छ,’ कोषका मुख्य प्रबन्धक रहेका प्रवक्ता ओमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।


Advertisement

यसले विश्वमा फैलिरहेको कोभिड-१९ को संक्रमणको महामारीको विषम परिस्थितिमा समेत कोषको सेवा प्रवाह सहज हुने विश्वास लिइएको जनाइएको छ। 

कोषले सुरु गरेको अनलाइन सापटी फिर्ता भुक्तानी प्रणालीमा सञ्चयकर्ताले बैंकमा उपस्थित भएर वा आफू रहेकै स्थानबाट कारोबार गर्न सक्ने व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ। यसका लागि सञ्चयकर्ताले आफ्नो बैंक खातामा कनेक्ट आइपिएस सुविधा लिएको हुनुपर्ने र कोषका केआइसी गरेको हुनुपर्ने जनाइएको छ।

हाललाई ५ हजार रुपैयाँदेखि १० लाख रूपैयाँसम्म सापटी तिर्न सक्ने गरी कारोबारको सीमा कायम गरिएको छ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्