यस्ता छन् तिहारका अनेक सन्देश

कमल रिजाल
कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

तिहार दशैंपछि सबैभन्दा ठूलो पर्व हो हाम्रो । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म ५ दिन मनाइने यस पर्वलाई यमपञ्चक पनि भन्छौं हामीहरू ।

यतिबेला दाजु यमराज आफ्नो कामबाट फुर्सद लिएर बहिनी यमुनाकहाँ मुकाम गर्छन् भन्ने किंवदन्ती छ । तिहारमा पशुपंक्षी तथा पहाड–पर्वतदेखि मानिससम्मको पूजा गर्ने गरिन्छ ।


Advertisement

यस पर्वको सामाजिक र सांस्कृतिक महत्त्व जति छ, कृषि प्रविधि सम्बन्धी विशेषता त्योभन्दा बढी छ । मानव जीवन हावा, पानी, माटो, रुख–बिरुवा, वनस्पति, पशुपंक्षी, कीट–पतङ तथा मानिस आदिको समन्वयात्मक प्रस्तुति हो । जीवन दिने काम पनि तिनैले गर्छन्, तिनको पोषण पनि उनीहरूबाटै हुन्छन् । अथर्ववेदीय पृथ्वी सूक्त (बाहौं काण्डको प्रथम सूक्त) र वर्षा सूक्त (तेस्रो काण्डको तेह्रौं सूक्त) का मन्त्रहरूले त्यसै भनेका छन् । तिहार पर्वले हामीलाई तिनै जीवनका मूल स्रोतप्रति इमान्दार गराउन खोजेको छ ।  

तिहार पर्वको पहिलो दिन कागको पूजा गरिन्छ । काग भनेको पंक्षी समुदायको प्रतिनिधि पात्र हो । यसभित्र सबै प्रजातिका चराहरू पर्छन् । संसारमा यिनीहरू सदैव मानव मैत्री रहँदै आएका छन् । चाहे समाजले कृषिलाई जीवनवृत्ति मानेपछि होस् चाहे त्यसअघि नै पनि किन नहोस् उनीहरूले शान्ति, सुरक्षा, सरसफाई, वातावरण आदि हरेक पक्षमा प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्दै आएका छन् । चराहरू समय सूचक पनि हुन् । उनीहरूको सन्देश हामी बुझ्छौं, बुझ्दैनौं छुट्टै कुरा हो तर उनीहरूले मानिसलाई मौसम परिवर्तनको सन्देश दिन छाडेका छैनन् ।


Advertisement

कागलाई सन्देश बाहक मानिन्छ र गाउँघरतिर काग कराउँदा शुभबोल भन्ने गरिन्छ । उसले अहिले पनि कुनै नयाँ चीज वा प्राणी देख्यो भने कराएर मानिसलाई त्यसको जानकारी दिने काम गर्दै आएको छ । परेवालाई सूचना आदानप्रदानका लागि व्यावहारिक प्रयोगमै ल्याइएको इतिहास छ । वेदमा चराहरूलाई देवता तथा ऋषि समान ज्ञानी मानिएका थुप्रै प्रसङ्ग भेटिन्छन् । उनीहरूसम्बन्धी केही सूक्त समेत भेटिएका छन् । ऋग्वेद दोस्रो मण्डलको ४२ औं र ४३ औं सूक्तलाई शकुन्त सूक्त भनिन्छ । दशौं मण्डलको १६५ र १७८ औं सूक्तलाई क्रमशः पारावत (परेवा) सूक्त र तारक्ष सूक्त भन्ने गरिएको पाइन्छ ।

वेदले मानिसलाई सहयोग गर्ने प्राकृतिक शक्ति सबैलाई देवता मानेको छ, जसमा केही अन्तरिक्ष स्थानीय, केही द्युस्थानीय र केही पृथ्वी स्थानीय रहेका छन् । यीमध्ये चराहरू अन्तरिक्ष स्थानीय हुन् । यतिबेला गरिने कागपूजाले तिनै अन्तरिक्ष स्थानीय देवतालाई सम्मान गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।    

तिहार पर्वको दोस्रो दिन कुकुरको पूजा गरिन्छ । कुकुर भनेका मानिसको बफादार प्रहरी हो । ऊ स्वामीभक्तिको विशिष्टतम नमूना नै मानिन्छ । संसारमा एकगाँस जुठो खाएर अरुका लागि ज्यानै दिन पनि पछि नपर्ने कुनै प्राणी छ भने कुकर नै छ । मानिसले सर्वप्रथम घरपालुवा बनाएको जनावर पनि कुकुर नै हो । उनीहरूको चर्चा वेदमा पनि आएको छ, इतिहास र पुराणमा पनि आएको छ । उनीहरू राजा रामको सहयोगमा पनि पुगेका छन् । महाराज युधिष्ठिरको सहयोमा पनि उभिएका छन् । वेदमा कुकुरले देवराज इन्द्रको दूत बनेर सहयोग गरेको अद्भूत प्रसङ्ग भेटिन्छ । सरमा सम्बन्धी केही प्रसङ्ग महाभारतमा पनि आएको छ । यतिबेला गरिने कुकुर पूजाले कुकुरले मानिसलाई जति गुन लगाएको छ, त्यति नै मानिसको व्यवहार पनि कुकुरमैत्री हुनुपर्छ भन्ने सन्देश दिएको छ ।  

तिहारको तेस्रो दिन साँझ दीपावली गरी लक्ष्मी पूजा गर्ने चलन छ । माता लक्ष्मीलाइं फोहर तथा आलस्य र आपसी झगडा मन पर्र्दैन । जहाँ यस्तो वातावरण हुन्छ त्यहाँ लक्ष्मी आउँदिनन्, कदाचित आइहाले पनि कुन सड्को भाग्छिन् पत्तै हुँदैन । एकपटक दरिद्रादेवीले मार्कण्डेय ऋषिसित बस्ने स्थान माग्दा ऋषिले जहाँ फोहर र दुर्गन्ध छ, जुन घरका मानिस आपसमा झगडा गर्ने गरेका छन् त्यस्तै स्थानमा बस्नु भनेका थिए । त्यतिबेलादेखि त्यस्तो स्थानमा दरिद्रादेवी बस्छिन् भन्ने मान्यता छ ।

निद्रा र आलश्यको कथा पनि त्यस्तै छ । एकपटक देवताहरू निकै अल्छी भएका थिए । यस्तो अवस्था माता लक्ष्मीलाई मन परेन । उनीहरूलार्ई पाठ पढाउन समुद्रमा लुक्न गइन् उनी । लक्ष्मीको अभावमा सर्वत्र हाहाकार मच्चियो । त्यसपछि उनलाई पाउन समुद्र नै मन्थन गर्नुपरेको थियो । यतिबेला गरिने दीपावली र लक्ष्मी पूजाबाट पनि यस्तै सन्देश पाउन सकिन्छ । वस्तुतः लक्ष्मीलाई पाउन उनलाई मन पर्ने व्यवहार गर्नुपर्छ । यो भनेको आपसी मेलमिलाप, सरसफाइ, सहयोग र उज्यालो नै हो । उज्यालोको अर्थ घरआँगन मात्र होइन, मन पनि हो । जति घर आँगन उज्यालो हुनुपर्छ, त्योभन्दा बढी मन उज्यालो हुनुपर्छ । ऋग्वेद (परिशिष्ट सूक्तको खिल सूक्त) मा लक्ष्मीप्राप्ति सम्बन्धी एउटा सूक्त छ । यसलाई श्री सूक्त वा लक्ष्मी सूक्त पनि भनिन्छ । यस सूक्तमा  लक्ष्मीको स्वरूप र तिनलाई प्राप्त गर्न सकिने तरिकाबारे सम्यक विवेचन भएको छ । लक्ष्मीपूजामा त्यसको समेत मनन् आवश्यक देखिन्छ ।  
  
तिहार पर्वको चौथो दिन गाई, गोरु र गोबद्र्धन पर्वतको पूजा गरिन्छ । यसलाई कृषि युगसित जोडेर हेर्न सकिन्छ । मानिसले प्रागैतिहासिक कालदेखि नै कृषिलाई जीविकाको माध्यम बनाउँदै आएका छन् । कृषिका लागि गाई पनि चाहिन्छ, गोरु पनि चाहिन्छ । रुखबिरुवा, वनस्पति वा वनजंगल पनि चाहिन्छ । वेदमा गाई, गोरु, कृषि तथा वनस्पति सम्बन्धी दर्जनौं सूक्त छन्, जसले उनीहरूलाई देवता मानेर सम्मान गरेका छन् । अथर्ववेदको तेस्रो काण्डको १४ औं सूक्तलाई गोष्ठ सूक्त, १७ औं सूक्तलाई कृषि सूक्त, १८ औं सूक्तलाई वनस्पति सूक्त तथा चौथो काण्डको ११ सूक्तलाई वृषभ सूक्त, २१ औं सूक्तलाई गो सूक्त र सातौं काण्डको ६० औं सूक्तलाई अन्न सूक्त भनिन्छ । गाई तथा बाच्छाको विशेषता वर्णन गरिएको केही प्रसङ्ग ऋग्वेद र यजुर्वेदमा पनि आएको छ । ऋग्वेद ८।१०१।१५ र यजुर्वेद २३।४८ यसैसित सम्बन्धित छन् । यसबाहेक वेदले पहाड पर्वतलाई समेत देवता मानेको छ । ऋग्वेद तृतीय मण्डलको ५३ औं सूक्त यसैको उदाहरण हो । त्यस्तै दशौं मण्डलको १४६ औं सूक्तलाई अरण्य सूक्त भनिन्छ । यस सूक्तले जंगल तथा वनस्पतिलाई पनि देवता मानेको छ । त्यसैले गाई, गोरु तथा गोबद्र्धन पर्वतको पूजा गर्नु भनेको मानिसको व्यवहार उनीहरूमैत्री हुनुपर्छ भन्ने नै हो । यसको शुरूवात कृष्णले द्वापर युगमै गरेका थिए, जतिबेला उनले इन्द्रको पूजा रोकी गोबद्र्धन पर्वतलाई अघि सारेका थिए । हाल हामीले त्यसलाई निरन्ता दिएका त छौं तर केवल कर्मकामण्डमै सीमित हुँदै आएका छन् । यसैदिन नेवारी परम्परामा म्हपूजा गर्ने चलन छ । अथर्ववेदमा दर्जनौं यस्ता सूक्त छन्, जसको अर्थ मूलतः आत्मज्ञान, आत्मसम्मान वा आत्मपूजासितै सम्बन्धित छन् ।   

तिहार पर्वको पाँचौं दिन दिदीबहिनीले दाजुभाइको र दाजुभाइले दिदीबहिनीको पूजा गर्ने गर्छन् । वास्तवमा यो भनेको प्रेम र सद्भावको आदानप्रदान हो । यतिबेला दिदीबहिनीले यमराज र यमुनाको पूजा गरी दाजुभाइको दीर्घ जीवनको कामना गर्छन् भने दाजुभाइले दिदीबहिनीलाई यथोचित उपहार दिएर प्रेम र सद्भाव प्रकट गर्छन् । ऋग्वेद दशौं मण्डलको १४ औं सूक्तलाई यम सूक्त भनिन्छ । यस सूक्तका देवता यमराज हुन् । यस सूक्तमा कूल १६ मन्त्र छन् । यी मन्त्रहरूले यमराजलाई काल (समय) का मालिक भन्दै सबैले एकदिन उनको ढोकामा जानैपर्छ भनेका छन् तर सूक्तको १४ औं मन्त्रका अनुसार भने यमराजलाई खुशी पार्न सके उनको ढोकामा जानुपर्ने समय केही पर धकेल्न सक्ने देखिन्छ । त्यस्तै यसै मण्डलको १५४ औं सूक्त उनकै बहिनी यमुनासित सम्बन्धित छ । यी मन्त्रहरूमा यमपाशमा बाँधिएको जीवलाई कसरी मुक्त गराउन सकिन्छ भन्ने चिन्तन गरेकी छन् यमुनाले । 

दीपावली गर्ने चलन अन्यत्र पनि भेटिन्छ तर जसरी जीवनसित सम्बन्धित सबै पक्षलाई समेट्ने गरिएको छ । त्यस्तो चलन भने केवल नेपाल र नेपालीहरू रहेबसेका स्थानमा मात्र हुने गरेको पाइन्छ । त्यसैले तिहार पर्व नेपालीहरूको विशुद्ध मौलिक पर्व हो भन्नु मनासिव हुनेछ ।

कमल रिजाल
कमल रिजाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्