०३ असार २०८३, बुधबार

अर्थमन्त्री पौडेलको पहलमा बौद्ध विश्वविद्यालयलाई देवदहमा सय विगाहा जग्गा

फागुन १७, २०७७
अर्थमन्त्री पौडेलको पहलमा बौद्ध विश्वविद्यालयलाई देवदहमा सय विगाहा जग्गा

लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा करीब १०० विगाहा जमिन प्राप्त गरेको छ ।

मन्त्रिपरिषद्को फागुन ११ गतेको बैठकले बुद्धको मावली गाउँमा जग्गा दिने निर्णय गरेको छ । देवदह नगरपालिका–८ स्थित बुद्धमावली सामुदायिक वन सहितको जग्गा विश्वविद्यालयले पाएको हो ।

लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम विस्तारका लागि जग्गा अपुग रहेको थियो । विश्वविद्यालयले ५ वर्षदेखि देवदहमा जग्गा प्राप्तिका लागि पहल थालेको थियो ।

वनको जग्गा प्राप्तिका लागि अन्य स्थानमा जग्गा खरिद गरेर सोधभर्ना गर्नुपर्ने वा सोबापत रकम बुझाउनुपर्ने कानूनी प्रावधान छ । अर्थ मन्त्रालयले विश्वविद्यालयका लागि जमिन दिँदा चाहिने करीब २० करोड रकम वन मन्त्रालयलाई दिने प्रतिबद्धतापछि मन्त्रिपरिषद्ले जग्गा दिने निर्णय गरेको छ ।

रुपन्देहीका जनप्रतिनिधि एवं अर्थमन्त्री विष्णु पौडेलले विशेष पहलकदमी गर्दै वन मन्त्रालयलाई अर्थ नै सोधभर्ना गर्ने निर्णय लिएपछि विश्वविद्यालयले जग्गा प्राप्ति गरेको हो । पौडेलले निर्वाचनमा आफ्नो घोषणापत्रमै बौद्ध विश्वविद्यालयको विकासलाई प्राथमिकतामा राखेका थिए । सोही अनुरुप देवदहमा ६१.२५ हेक्टर क्षेत्रफल रहेको जग्गामा विश्वविद्यालयले पूर्वाधार निर्माण गर्नेछ ।

रुपन्देहीको पूर्वाधार विकासमा ठूलो काम गरिरहेका अर्थमन्त्री पौडेलले शिक्षा र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा जोड दिँदै आएका छन् । बुटवल मेडिकल कलेज, लुम्बिनी बौद्ध विश्वविद्यालयको डीन कार्यालय स्थापना र पूर्वाधार निर्माणको काम शुरू भइसकेको छ । बुटवल मेडिकल कलेजको गुरुयोजना अन्तिम चरणमा पुगेको छ ।

बौद्ध विश्वविद्यालयले बुटवलको नयाँगाउँमा डीन कार्यालय सहितको आंगिक क्याम्पस शुरू गर्दैछ । जसका लागि समेत स्थानीय स्तरबाट जग्गा प्राप्ति भएको छ ।

विश्वविद्यालयका रजिस्ट्रार डा. तिलक आचार्यले लामो मेहनतपछि देवदहमा जग्गा प्राप्ति भएको बताए । ‘यही जग्गाका लागि म आफैं ५ वर्षदेखि हिँडिरहें, अर्थमन्त्री विष्णु पौडेलको विशेष पहलपछि क्याबिनेटले जग्गा दिने निर्णय गरेको छ,’ उनले भने, ‘यो विश्वविद्यालयको मात्रै नभई लुम्बिनी प्रदेशकै लागि ठूलो उपलब्धि हो ।’

विश्वविद्यालयले अहिले ३ वटा विषयमा देवदहमै पठनपाठन शुरू गरिसकेको छ । पूर्वाधार निर्माणको काम तत्काल नै शुरू हुने रजिस्ट्रार आचार्यले बताए । ‘देवदह, तिलौराकोट, बुटवल र लुम्बिनीमा विश्वविद्यालयका आंगिक संरचना हुनेछन्,’ उनले भने, ‘अब पूर्वाधारको अभाव नहुने गरी निर्माणको काम थाल्छौं ।’

२०६१ सालमा स्थापना भएको विश्वविद्यालय २०७१ सालमा मात्रै लुम्बिनीमा आएको हो । त्यसअघि विश्वविद्यालय सम्पर्क कार्यालयका रूपमा काठमाडौंमा मात्रै सीमित रहेको थियो । अहिले लुम्बिनीमा सुविधासम्पन्न पूर्वाधार निर्माण भएका छन् ।

केन्द्रीय कार्यालय भवन, पुस्तकालय, छात्रावास, आवास गृह, बौद्ध स्तुपा सहितका संरचना लुम्बिनीमा तयार भएका छन् ।

विश्वविद्यालयले विभिन्न ८ वटा क्याम्पसलाई सम्बन्धन दिएको छ । विश्वविद्यालयले तिलौराकोट, लुम्बिनी, बुटवल र देवदहमा पठनपाठन गराइरहेको छ । अहिले विश्वविद्यालयमा करीब ३ हजार विद्यार्थी अध्ययनरत छन् ।

देवदहमा प्राप्त भएको जग्गामा तपोवन सहितको पूर्वाधार निर्माण गर्ने योजना रहेको छ । त्यसको गुरुयोजना कोरियन प्रोफेसर क्वाकको टीमले बनाइरहेको छ । क्वाक लुम्बिनीको बृहत्तर गुरुयोजना बनाउने योजनाकार हुन् ।

रुपन्देही क्षेत्र नम्बर १ का सांसद छविलाल विश्वकर्माले विश्वविद्यालयलाई जग्गा दिने निर्णयको स्वागत गरेका छन् । ‘यो निर्णयले समग्र देवदहकै विकासमा आमुल परिवर्तन गर्नेछ,’ उनले भने, ‘जग्गा प्राप्तिका लागि सहयोग गर्ने जनप्रतिनिधि, स्थानीय सबैलाई धन्यवाद छ ।’

देवदहमा विश्वविद्यालयले जग्गा पाएपछि स्थानीय उत्साहित छन् । सोही खुशीयालीमा दीपावली नै भएको छ । स्थानीयले देवदहको विकासमा विश्वविद्यालय आउँदा ठूलो योगदान हुने अपेक्षा गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्