उम्मेदवारी दर्ता गराएपछि बादलको प्रतिक्रिया– बाग्मतीको मतले मेरो जीत सुनिश्चित छ

फाइल फोटो

गृहमन्त्री एवं नेकपा एमालेका नेता रामबहादुर थापाले राष्ट्रिय सभा सदस्यमा आफ्नो विजय सुनिश्चित रहेको दाबी गरेका छन् । 

बाग्मती प्रदेशको राजधानी हेटौंडामा शुक्रवार राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरूसँग कुरा गर्दै थापाले आफ्नो विजय सुनिश्चित रहेको बताएका हुन् । 


Advertisement

‘राष्ट्रिय सभाको रिक्त पदमा मेरो उम्मेदवारी भर्खरै दर्ता गरेको छु । बाग्मती प्रदेशमा रहेका ९ हजार ५ सय ६४ मतमध्ये हाम्रो पार्टीको पक्षमा ५ हजार १ सय ३० मत छ । यो मतले नै के स्पष्ट गरेको छ भने मेरो विजय सुनिश्चित छ,’ गृहमन्त्री थापाले भने । 

एमाले बाग्मती प्रदेश कमिटीका इञ्चार्ज समेत रहेका थापाले स्वतन्त्र उम्मेदवारलाई पार्टीले समर्थन गर्ने कुरा हल्ला मात्र रहेको दाबी गरे । 

पार्टीको एउटा पक्षले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने चर्चा छ नि भनेर सोधिएको प्रश्नमा गृहमन्त्री थापाले भने, ‘त्यो हल्ला मात्र हो, त्यस्तो सम्भावना हामीले देखेका छैनौं ।’ 

माओवादी केन्द्रको प्रस्ताव र कांग्रेसको समर्थनमा माधव नेपाल पक्षीय खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराइसकेका छन् । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्