निषेधाज्ञाको समयमा एकाबिहानै काठमाडौंको ठमेल पुग्दा बजार सुनसान थियो ।
छेउछाउमा एकाध औषधि पसलबाहेक कुनै चहलपहल थिएन । यत्तिकैमा मेरो नजर एउटा रिक्सामा पर्यो ।
रिक्सा चालक झोक्राएर बसिरहेका थिए, शायद ग्राहकको प्रतीक्षा गरेको हुनुपर्छ ।
उनी नजिक पुगेर जिज्ञासा राखें- कस्तो चल्दैछ अचेल ? उनले हातमुख जोर्न पनि मुस्किल पर्न थालेको सुनाए ।
उनी बिहान ६ बजे नै कोठाबाट रिक्सा लिएर ठमेल आइपुग्छन् । कहिलेकाहीँ त कुराइमै दिन बित्छ, एक रुपैयाँ समेत कमाइ हुँदैन ।
उनी धेरैपटक यसरी निरास भएर घर फर्किएका छन् । निषेधाज्ञाले आफूहरूजस्ता विपन्न नागरिकलाई धेरै दु:ख भएको उनको गुनासो छ ।
ठमेलमै विगत १० वर्षदेखि ठेलागाढा चलाउँदै आएका कृष्णबहादुर राईको अवस्था पनि उस्तै छ ।
कोरोना महामारी र निषेधाज्ञाका कारण आफूहरूको बिचल्ली भएको गुनासो उनले गरे ।
सरकारले आफूहरूलाई कुनै राहत नदिएको, बरु उल्टै लखेटेको उनको गुनासो छ ।
न्युरोडको फूटपाथमा विगत पच्चीस वर्षदेखि नाङ्ले व्यापार गर्दै आएका राजु नेपालको कथा पनि उस्तै छ ।
न त उनको घरको ठेगान छ न खानको राम्रो व्यवस्था नै ।
उनी प्रहरीको आँखा छलेर जसोतसो सडकमा नाङ्ले पसल राख्छन्, तर दिनभरी बस्दा पनि ५० रुपैयाँ कमाउन मुस्किल पर्छ ।
निषेधाज्ञाका कारण निकै दु:ख पाएको गुनासो उनले गरे । जग्गाजमिन केही नभएपछि फूटपाथमा नाङ्ले पसल थापेर गुजारा चलाउँदै आएका उनी अहिले निषेधाज्ञाले भुइँमै थचारेको गुनासो गर्छन् ।
सडकमा निस्किने हो भने यस्ता विपन्न नागरिकहरू प्रशस्त भेट्न सकिन्छन् ।
देशमा सत्ताको लुछाचुँडी चलिरहँदा यस्ता विपन्न नागरिकहरू प्रति राज्यको ध्यान जान सकेको देखिँदैन ।
हेर्नुहोस्, भिडियो :