
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले कोरोना महामारी नियन्त्रण गर्नु नै आफ्नो प्राथमिकता हुने बताएका छन् । कोरोनाको महामारीलाई ध्यानमा राखेर प्रधानमन्त्रीले आफूलाई जिम्मेवारी दिएकोले विश्वास पूरा गरेरै छाड्ने बताए ।
राष्ट्रपति कार्यालयमा मन्त्री पदको शपथ लगत्तै शुक्रवार राति स्वास्थ्य मन्त्रालयमा पदभार सम्हाल्दै तामाङले कोरोना महामारी नियन्त्रण नै अहिलेको प्राथमिकता भएको बताएका हुन् । उनले स्वास्थ्य मन्त्रालयका हरेक काम पारदर्शी ढंगले पूरा गर्ने बताए ।
‘कोरोनाको महामारीलाई ध्यानमा राखेर प्रधानमन्त्रीज्यूले यो जिम्मेवारी दिनुभएको छ । यो विश्वास पूरा गर्नैपर्छ । स्वास्थ्य क्षेत्रमा आम नागरिकको पहुँच विस्तार गर्ने सस्तोमा र निशुल्क स्वास्थ्य सेवा उपलव्ध गराउने हाम्रो प्रयास हुनेछ’ मन्त्री तामाङले भने, ‘केही समयका लागि पहिलो दोस्रो र तेस्रो नम्बरको प्राथमिकता कोरोना नियन्त्रण हो । कोरोना नियन्त्रणको प्राथमितका साथ अगाडि बढ्छौं ।’
मन्त्री तामाङले किनेरै भएपनि आम नागरिकलाई खोप उपलव्ध गराउने बताए । ‘खोप उत्पादन गर्ने राष्ट्रमा छैनौ, खोप उत्पादन गर्ने मित्रराष्ट्रसँग सहयोग मागेर, कुरा गर्नुपर्ने ठाउमा कुरा गरेर र किन्नु परेछ भने किनेरै भएपनि आम नेपाली नागरिकलाई खोप लगाउँछौं’ तामाङले भने ।
तामाङले तीनवटै सरकारलाई समन्वय गरेर महामरी नियन्त्रण गर्ने विश्वास व्यक्त गरे । ‘यो लडाईमा विजयी प्राप्त गछौं, अपारदर्शी ढंगले कामगर्ने छैनौ’ तामाङले भने ।