२१ जेठ २०८३, बिहीबार

संघीय सरकारको आफ्नै सामर्थ्यमा अघि बढ्ने भयो सिद्धबाबा सुरुङ मार्ग, स्थानीयमा खुशियाली !

जेठ २४, २०७८
संघीय सरकारको आफ्नै सामर्थ्यमा अघि बढ्ने भयो सिद्धबाबा सुरुङ मार्ग, स्थानीयमा खुशियाली !

सधैँ जोखिम हुने बहुप्रतिक्षित सिद्धबाबा सुरूङमार्गको ‘ग्लोबल टेन्डर’ भएसँगै अब निर्माण प्रक्रिया शुरू भएको छ ।

सुरूङमार्ग लामो समयदेखिको सपना हो । सडक सुरक्षाका लागि बहुप्रचारित सुरूङमार्ग संघीय सरकारले आफ्नै सामर्थ्यमा बनाउन थालेको हो । 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको पहल र जोडबलमा यो ‘बिग प्रोजेक्ट’ को शुरू हुने पक्का भएको हो । कतिखेर पहिरो खस्छ भन्ने थाहा नै नहुने सधैँको पीर सिद्धबाबा भीरलाई पौडेलले उच्च प्राथामिकतामा राखेका थिए । 

२०७२ को भूकम्पले सिद्धबाबाको पहाडसहित पत्रे चट्टानको सन्तुलन खल्बलिई क्षतविक्षत बनाएको छ । कमलो चुरे भएकाले अलिकति ‘डिस्टभेन्स’ भयो भने झर्न शुरू गरिहाल्छ । पहाड र तराई जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा मन्दिरनजिकै बन्ने आयोजनालाई देशकै प्रतिष्ठा र गौरवको आयोजनाको रूपमा हेरिएको छ । 

रूपन्देहीको चिडियाखोलादेखि पाल्पाको दोभानसम्म करीब ३.५ किलोमिटर क्षेत्र मृत्युमार्गको नामले बदनाम छ । कसैले त, यो क्षेत्रलाई ‘मान्छे खाने सडक’ संज्ञा समेत दिन थालेका छन् ।

यही क्षेत्रमा प्रत्येक वर्ष ६/७ वटा दुर्घटना ५/६ जनाको मृत्यु हुने गरेको पछिल्लो ८ वर्षको तथ्यांकले देखिएको छ । सुरूङ माथिल्लो सिद्धबाबा मन्दिरको उत्तरतर्फको शुरू हुनेछ । चिडियाखोलाको खोचबाट शुरू हुने सुरूङ दोभाननजिकै ड्यामसाइड (रामापिथेकस पार्क) नजिकै निस्कने छ । 

यो ठूलो परियोजनाको लागत १० अर्ब रूपैयाँ अनुमान छ । त्यसका लागि अर्थमन्त्रालयले बजेट सुनिश्चित गरेको छ । सुरूङको लम्बाइ १ किलोमिटर १०० मिटर रहने छ । सिद्धबाबामा पहिरो र जोखिम रोक्न विभिन्न विकल्प यस अगाडि सारिए पनि सफल भएनन् । करोडौं रूपैयाँ खर्च गरेर ‘रकसेट’ र ‘हाफ टनेल’ बेन्च कट लगायतका ६ विकल्प प्रयोग गरिएको थियो । सुरूङको स्वीस सरकार विकास सहयोगमार्फत सुरुङ मार्ग निर्माणका लागि भौगर्भिक अध्ययन (जियोलोजिकल सर्भे) गरिएको थियो ।  

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सडक विभागका उपमहानिर्देशक विजय जैसीले स्वीस टीमले गरेको डिजाइनका आधारमै सुरुङको टेन्टर आह्वान भएको बताउँछन् । ‘जसमा १ किलोमिटर १२६ मिटरको सुरुङ हुनेछ । सुरुङमार्गको सुरूङ हुनुअघि र पछाडि ३ हजार ५०० मिटरको रकनेट (जाली) रहन्छ । जुन ७८० मिटरको हुनेछ,’ लोकान्तरसँग जैसीले भने । सुरुङमार्ग ५ वर्षभित्र बन्नेछ । 

सिद्धबाबा पहिरोमा पछिल्लो ८ वर्षमा ४० सवारी पहिरोमा परे, जहाँ ७० जनाले अकालमै ज्यान गुमाएको सडक डिभिजन कार्यालय, पाल्पाको तथ्यांकमा उल्लेख छ । उपप्रधानमन्त्री पौडेलले कन्ट्रक्सनको काम शुरू भएपछि कुनै चिजको पनि अभाव हुन नदिने बताए । पौडेलले निर्धारित मितिमै आयोजना सम्पन्न गर्ने गरी काम हुनेमा विश्वस्त हुन आग्रह गरे । 

समग्र पाल्पाको विकासका लागि सिद्धबाबाको बाटो अभिसाप बनेको छ ।  पाल्पाको दोभानबाट बुटवल दैनिक पढाउन आउने शिक्षक विष्णुप्रसाद पाण्डेले सरकारले अगाडि बढाएको तिनाउ प्रोजेक्ट उदाउँदो सपना भएको बताए । उनले सुरूङ बनेपछि आम लुम्बिनीबासीको अपेक्षा पूरा हुने बताए । धार्मिक पर्यकीय क्षेत्र सिद्धबाबा सुरूङ बनेपछि पर्यटन क्षेत्रमा पनि एउटा उचाइ थपिने छ । 

वातावरणविद् तथा इञ्जिनियर प्रा.डा. खेटराज दाहालले आवश्यक भन्दा सानो सुरूङमार्ग बन्न लागेको बताए ।

‘सुरूङ खास चिडियाखोलादेखि दोभानसम्म बन्नुपर्ने थियो,’ दाहालले लोकान्तरसँग भने, ‘यात्राका क्रममा मानिसहरू बली चढेका थिए । सरकारले एकदमै राम्रो गर्‍यो । यो क्षेत्रमा कम्तीमा ४ किलोमिटर क्षेत्र सुरूङमार्ग बन्नुपर्ने अवस्था छ । अब सुरूङको कन्ट्रक्सनको काम सुरू गर्दा सावधानी अपनाउनुपर्छ । सिद्धबाबाको चुरे कमलो छ । अलिकति खोतल्ने बित्तिकै खसिहाल्छ । अहिलेसम्म भएको क्षतिभन्दा निर्माण गर्दा क्षति हुनसक्छ । बडो सचेत हुनुपर्छ ।’ 

सुरूङमार्गसँगै प्रदेश र स्थानीय सरकारले बनाएका वैकल्पिक मार्ग सञ्चालनमा आउने तयारीमा छन् । रूपन्देहीको चरङ्गे, मुडाबासबाट चौकी भञ्ज्याङ, ज्यामिरे हुँदै पाल्पाको झुम्सा पुग्छको प्रदेश सरकारले निर्माण गरेको वैकल्पिक मार्ग ग्राभेल गर्ने काम भइरहेको छ । दुई वर्षअगाडि नै ‘ट्रयाक’ खोलिएको वैकल्पिक मार्गको आउँदो ३/४ महिनाभित्र सञ्चालनमा आउने तयारीमा छन् ।  

यस्तै बुटवलको बेलबास हुँदै पाल्पाको तिनाउ गाउँपालिका जोड्ने अर्को २२ किमी लामो ‘ट्रयाक’ पनि खोलिएको छ । यो सडक तिनाउको नुवाकोटबाट सिद्धार्थ राजमार्गमै जोडिन्छ । सिद्धबाबाको वैकल्पिक मार्गका लागि दुई वर्षसम्म प्रदेश सरकारले १०/१० करोड रूपैयाँ छुट्टाएको छ । आउन लागेको आर्थिक वर्ष २०७८/७९ को प्रदेशको बजेटमा पनि वैकल्पिक मार्गलाई प्रदेशले बजेट विनियोजन गर्ने बताइएको छ । 

बुटवल–पाल्पा सडक २०१८ सालदेखि खन्न शुरू भएको हो । २०२८ सालदेखि सवारी साधनको आवागमन हुन थाल्यो । अहिले दुईपाङ्ग्रे  र चारपाङ्ग्रे गरी दैनिक करीब दुई हजार ५०० सवारी साधन आवातजावत गर्छन् ।

यो सडकखण्ड हुँदै सवारी साधन पाल्पा, स्याङ्जा, गुल्मी, पोखरा, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र अर्घाखाँची जाने गरेका छन् । सुनौली पोखरा सिद्धार्थ राजमार्गलाई पनि डेडिकेटेड राजमार्ग बनाउने सरकारले योजना अगाडि सारेको छ । २ लेनेको यो सडकलाई पनि ‘फोर लेन’ मा विस्तार गरिँदै छ । अहिले यो सडकका घुम्ती काट्ने काम भइरहेका छ । 

वातावरण क्षेत्रका जानकार युवराज कंडेलले भने, तत्कालका लागि सुरूङमार्गलाई महत्त्वपूर्ण आयोजना मानिए पनि यसको दीर्घकालीन र आर्थिक महत्त्व नरहेको बताउँछन् । ‘यति छोटो दूरीमा सुरूङ बनाउनु आवश्यक हुँदैन,’ कंडेलले भने, ‘राज्य सजिला बाटा हुँदाहुँदै सुरूङको अफ्ठ्यारो बाटोमा गयो । सुरुङ भन्दा यो क्षेत्र खोस्रिँदा हुने भूक्षयको व्यवस्था सरकारको टाउको दुखाइ हुनसक्छ ।’ 

कंडेलले थपे, ‘यो सडकको चाप घटेको छ । कालीगण्डकी करिडोर बन्यो । सालझण्डी ढोरपाटन सडक प्रयोगमा आयो । सिद्धबाबाका विकल्पमा बनेका सडकहरू पनि प्रयोगमा आउँदै छन् ।

अहिले अनुमान गरिएको बजेटले पनि सुरुङ बन्दैन । लागत बढ्छ ।’ सरकारले अहिले बर्दघाटदेखि दुम्कीबाससम्म पनि सुरूङमार्ग बनाउने अध्ययन गर्ने भएको छ । नेपालको पहिलो सुरूङ राणाकालमै मकवानपुरको भीमफेदीमा बनाएका थिए । सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरूङले सुरूङमार्ग बन्नु समग्र पाल्लाका लागि खुशीको कुरा रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्