कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
राहुल सांकृत्यायन एक जमानामा तिब्बत भ्रमणमा गएका रहेछन् । पक्कै पनि भारतको भन्दा फरक खानपान, भेषभुषा अनि हावापानी । उनलाई त्यहाँ खान्कीको रूपमा रातो चामलको भातसँग गोरुको मासु दिइयो।
शुरूमा त उनलाई त्यो गोरुको मासु हो भन्ने थाहा थिएन । उनलाई गोरुको मासु असाध्यै मीठो लागेछ । त्यस्तो नाम चलेको महापण्डितलाई पनि गोरुको मासु खुवाउन पाउँदा तिब्बतीयनहरू दंग परेछन् ।
खाना खाइसकेपछि हात धुने क्रममा राहुल सांकृत्यायनले सोधेछन्, ‘केको मासु हो ? मलाई त साह्रै मीठो लाग्यो ।’
भान्छे तिब्बतीले जवाफ दिएछन्- “गोरुको मासु हो ।”
यस्तो कुरा सुन्नेबित्तिकै महापण्डित राहुल सांकृत्यायनले ह्वाल्ह्वाली वान्ता गरेछन् । हतारहतार सुनपानीले आफूलाई चोख्याएछन् ।
उनको यस्तो अवस्था देखेर तिब्बतीहरू पनि डराएछन्। कोलाहल मच्चिन थालेछ। अनि एकजना अगुवा तिब्बतीले सोधेछन्- “गुरु हजुरलाई अचानक के भयो यस्तो ? केही भूल पो भयो कि, क्षमा पाऊँ ।”
डराएका तिब्बतीलाई उनले भनेछन्- “भाइजान मेरे अन्दरका ब्राह्मण जाग उठा ।”
यो कुरा उनले आफ्नो पुस्तकमा पनि लेखेका छन्। हो, उनी एक हिन्दू परिवारमा जन्मिएका थिए । पछि बौद्धिस्ट भए, अनि मार्क्सवादको व्याख्या गर्न पनि थालेका थिए।
तर पनि गोरुको मासु खाँदा उनले वान्ता गरेका थिए ।
महापण्डित राहुल सांकृत्यायनले झुक्किएर गोरुको मासु खाँदा अन्दरको ब्राह्मण जाग उठे जस्तै नेपालमा पनि बेलाबेलामा दलितहरूमाथि हुने गरेको विभेदका घटना सार्वजनिक हुदाँ यहाँ धेरैको अन्दरको ब्राह्मण जाग उठ्ने गरेको छ ।
अघिपछि मानव अधिकार, मार्क्सवादको चर्को चर्को कुरा गर्ने, विभेदको इतिहासको कुरा सुनाएर नथाक्ने, नेपालको समस्या यस्तो हो, उस्तो हो भनेर गफ लगाएर कहिल्यै नथाक्ने, खतरा प्रगतिशील हौं भन्ने, त्यति मात्र हैन लोकतन्त्र र प्रजातन्त्रको गीत गाएर नथाक्ने, सार्वजनिक फोरमहरूमा बुद्धिजीवीको पगरी गुथ्ने सबै यतिखेर मौन छन् ।
किनकी दलितहरूमाथिको विभेदमा उनीहरू कुनै न कुनै हिसाबले संलग्न भएका छन्। पहिलो पुस्ताको विभेदकारी लिगेसी परिवारमा जीवित छ। यावत कारणले जतिसुकै शिक्षित भएपनि दलितको आत्मसम्मानको प्रश्न उठ्दा मानिसहरू आफैँलाई गाली गरेको हो भन्ने ठानेर झस्किने गरेका छन् ।
खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ भने जस्तै सयौं वर्षदेखि राज्यको व्यवस्थित विभेदी कानूनमार्फत पेलिएका दलितहरूको दु:ख पीडा अन्य समुदायका मानिसहरूले महशुस गर्दा, तिनीहरूको पक्षमा आवाज उठाउँदा पाप त लाग्दैन होला। तर जतिसुकै शिक्षित र दिक्षित भएपनि जब अन्दरको ब्राह्मण जाग उठ्छ, तब विचारको मुल सुक्छ ।
यो कुरा साँचो हो, रूपा सुनारमाथि भएको विभेद पहिलो र अन्तिम हैन । सयौं वर्ष लामो विभेदको शृंखलाको यो पराकम्प मात्र हो । जातको आधारमा कोठामा मात्र विभेद गरिएको हैन, यहाँ जातको आधारमा मन्दिरमा पनि विभेद गरिएको छ ।
त्यही लिगेसीको झलक मात्र हो, कोठा भाडा प्रकरण । हजारौं दलितहरूले काठमाडौंमा यस्तो समस्या वर्षौंदेखि झेल्दै आएका छन् । जसले थर फेरेका छन्, उनीहरू मुस्किलले टिकेका छन् ।
घरबेटी पूर्ण रूपमा दोषी नै छन् भन्ने पनि हैन। तर यहाँ अनुसन्धान नै गर्न नदिई बाहालवाला मान्त्री झण्डा हल्लाउँदै प्रहरी चौकी पुगेर साउथ इन्डियन फिल्मी शैलीमा पीडक भनिएकी महिलालाई आफ्नै गाडीमा हालेर घरसम्म पुर्याउनु कानूनी राज्यको चरम उपहास हो कि होइन ?
घरबेटीलाई रिहा गर्ने अनेक उपाय थिए। यो सामाजिक विषय भएका कारण पीडित र पीडक दुवैको जीत हुनेगरी प्रहरी प्रशासनले प्रभावकारी कदम चाल्नुपर्थ्यो। तर एउटा मन्त्री झण्डावाला गाडी लिएर जाँदैमा प्रहरीले उजुरीवालालाई थाहा नै नदिई रिहा गर्नु कहाँसम्मको हेपाहा प्रवृत्ति हो ? के त्यो मन्त्री जंगबहादुर राणाको भाइ हो ?
मन्त्रीको त कुरा छाडौं, उनले त कमनसेन्स पनि देखाएनन् । यहाँ डिग्री पीएचडी पढिरहेका राम्रै अध्ययनशील मित्रहरूको समेत रूपा सुनार प्रकरणमा अन्दरका ब्राह्मण जाग उठेको देख्दा रमाइलो महशुस भइरहेको छ। दु:ख पनि लागिरहेको छ । देशको सामाजिक विभेदमाथिको तिनीहरूको बुझाई देखेर उदेक पनि लागेको छ ।
कस्ता- कस्ता मै हुँ फिमेनिस्ट भन्नेहरू, देशको मुहार बदल्ने नै हामी हौं भन्नेहरूले एक शब्द बोल्न सकिरहेका छैनन्। कुकुरलाई मार्दा सडकमा आन्दोलन गर्न आउनेहरू आज मान्छेमाथि अमानवीय विभेद हुँदा तैँ चुप मैँ चुप छन्, किनकी यो पापमा सबै जोडिएका छन्। यतिखेर उनीहरूका अन्दरका ब्राह्मण जाग उठेका छन् ।
कतिपयले यस्तो मानवताविरोधी विषयलाई आरक्षण कोटासँग जोडेर अत्यन्तै निकृष्ट विचार पोखिरहेका छन् ।
यस्तो कपटी विचार हजुरबा-हजुरआमाको कन्जरभेटिभ सोचभन्दा पनि झन् खतरनाक हो । यो झन् ठूलो विभेदको प्रारूप हो । एक दशक अगाडिसम्म नेपालमा आरक्षण नै थिएन। के त्यतिखेर नेपाल रामराज्य थियो त ? के दलितलाई मात्र आरक्षण दिइएको हो, महिलालाई हैन त ? सुदुर पश्चिमलाई हैन त ?
अन्दरका ब्राह्मण जाग उठेकाहरूले यस्तो पनि तर्क गर्छन्, विभेद जातीय हैन वर्गीय हुन्छ । के दलितहरू धनी हुन नपाएकोमा, एक मुठी मीठोचोखो खान नपाएकोमा पटक-पटक आन्दोलित हुनुपरेको हो र? के दलितहरू बिल गेट्स, मुकेश अम्बानी बन्न खोजेको हो र ?
नेपालका दलितहरूको सामान्य माग छ, हामीलाई पनि मानिसको व्यवहार गर। धारोमा प्रतिबन्ध नगर । मन्दिरमा प्रतिबन्ध नगर । व्यवसायिक कोठा भाडामा जातीय विभेद हुने गरी प्रतिबन्ध नगर ।
शिक्षाको स्तर उठ्यो भने पनि विभेद हट्छ भन्ने धेरैको सोच छ। कस्तो शिक्षा ? कस्तो पाठ्यक्रम ? यही कोठालाई कोटासँग तुलना गर्ने शिक्षा ? समानुपातिक समावेशी के हो भनेर थाहा नपाउने शिक्षा ? यो देश किन विश्वमा सबैभन्दा गरीब देश रहन गयो भनेर थाहा नपाउने शिक्षा ? शिक्षाका कारण मात्रै जातीय विभेद हट्ने भए दलित समुदायका पहिलो सचिव मानबहादुर बिकले जागिरको शिलशिलामा भएका विभेदका अनुभव किन सुनाउँथे ?
बुङ्थली- ७ काभ्रेकी लक्ष्मी परियारका १० वर्षीय छोरा सुमन नेपालीले ‘बोक्सीको आरोपमा मेरी आमालाई हिरा सरले स्कूलको पोलमा डोरीले बाँधेर कुटपिट गरे । दिसापिसाब खुवाए । चिर्पटले हानेर टाउको फुटाए । लात्ताले हाने । पुलिस हिरा सरसँगै मिले । कुटपिटले नै मेरी आमा मरिन्,' भन्दै कारुणिक बयान दिए । तर यो समाजको आँसु बगेन । आन्दोलन पनि भएन ।
रुकुममा दलित युवाहरूलाई खोलामा बगाइयो, तर पनि समाज मौनधारण गरिरह्यो। प्रेम पत्र लेख्दा कुटाई खानेहरू यहीँ छन् । कोही बोलेनन् । आज यो क्रम रूपा सुनारसम्म आइपुगेको छ र पनि बहुसंख्यक मानिसहरू रूपालाई दोषी करार गर्न जोडबल गरेर लागिरहेका छन् । अलिकति मानवीय समवेदना पनि देखाउन सकिरहेका छैनन् ।
मानिसहरू कोटालाई कोठा संग तुलना गरिरहेका छन् । र, भन्दैछन्, विभेद विस्तारै हट्छ । विस्तारै भनेको कति? २ सय वर्ष ? ५ सय वर्ष ? अथवा हजार वर्ष ? कति वर्ष प्रतिक्षा गरेपछि दलितहरू मानिस हुन पाउने हो ? दलितहरूले ७ सय वर्षदेखि सहँदै आएको विभेदलाई के तपाईं हामीले ७ मिनेट सहन सक्छौं ?
यहाँ सरकारवादी मुद्दामा पनि बहालवाला मन्त्री झण्डा हल्लाएर आफैँ प्रहरीचौकी पुग्छन् र अनुसन्धानलाई हस्तक्षेप गर्छन्। कम्युनिस्ट मन्त्रीको खल्तीमा जंगबहादुरको मुलुकी ऐन छ कि क्या हो ? नेपालको न्याय प्रणाली, सुरक्षा, प्रशासनमा दलितहरूलाई पहिल्यैदेखि हेपिँदै आएको हो भनिन्छ।
बहालवाला कम्युनिस्ट मन्त्रीको यस्तो गैरजिम्मेवार कदमले नेपालका लाखौं दलितहरूको मोरल डाउन भएको छ ।
हामी सबैले म म भनौं । बिहेमा कसले बाजा बजाइदिएको थियो ? खेतबारीमा प्रयोग गर्ने औजार कसले बनाइदिएको थियो ? स्कूल ड्रेस कसले सिलाइदिएको थियो ? आज मेहनती समुदायका सन्तानले दिनहुँ विभेदको शिकार भएर पीडित हुनुपर्दा पढेलेखेकै पुस्ताबाट उल्टै पीडितलाई प्रताडित गर्ने काम गरिँदैछ ।
प्रताडित गर्ने क्रम कैलेसम्म ? जंगबहादुर राणाले १९१० मा स्कूलको स्थापना गरे । ती स्कूलमा दलितलाई शिक्षा दिनबाट वञ्चित गरियो। पढ्न दिइएन । प्रजातन्त्र आएपश्चात पनि दलित विद्यार्थीहरूलाई सरकारी छात्रावासबाट निकालियो । सरस्वती पूजाको दूध फिर्ता गरियो । नेपाल एकीकरणको समयमा दलितहरूको हतियार बनाउने सीपको प्रयोग गरियो। तर सम्पत्ति राख्ने अधिकार दलितलाई दिइएन ।
जंगबहादुर राणाद्वारा १९१० सालमा मुलुकी ऐन जारी भयो । मनुस्मिृतिमा आधारित १९१० को मुलुकी ऐनले तल्ला भनिने जातिहरूलाई शिक्षा आर्जन एवं जग्गा जमिनको स्वामित्व ग्रहण तथा धनसम्पत्ति आर्जनमा कानूनी अधिकार दिएन ।
दलितले शिक्षा आर्जन गरे गाउँ निकाला गर्ने, सम्पत्ति आर्जन गरे शासक जातिहरूले लुटी लिने व्यवस्था थियो । कथित तल्ला भनिएका जातिहरूले धार्मिक ग्रन्थ अध्ययन गर्ने वा सुन्ने, मठमन्दिर प्रवेश गर्ने, पूजापाठ, धार्मिक क्रियाकलाप गर्ने काम गर्न पाएनन् । पूर्णरूपमा बन्देज लगाइयो । यस्तो विभेदपूर्ण व्यवस्थामा दलितहरूको सामाजिक विकास सम्भव नै थिएन ।
दलितहरूलाई धन वा शिक्षा आर्जन गर्ने वा धार्मिक क्रियाकलाप गरेमा जेलनेल, अंगभंग, कुटपिट गर्ने, कोर्रा हान्नेदेखि देश निकालासम्मका कानूनी प्रावधान राखिएको थियो, मनुस्मृतिमा आधारित १९१० को मुलुकी ऐनमा । यसरी शिक्षा, व्यापार, सम्पत्ति, भगवान सबै थोकमा कथित उच्च जातिको मात्रै पूर्ण रूपमा एकाधिकार थियो ।
खनिज र प्राकृतिक स्रोतले सम्पन्न दक्षिण अफ्रिकामा सत्रौं शताब्दीमा अंग्रेज र डचहरूले कब्जा जमाए । सन् १९१० को मेमा ब्रिटिश औपनिवेशबाट दक्षिण अफ्रिका स्वतन्त्र भयो, तर कालाहरू गोराहरूको दासताबाट भने मुक्त हुन सकेनन् । अल्पसंख्यक गोराहरूले बहुसंख्यक कालाहरूमाथि शासन चलाउन थाले ।
सन् १९४८ मा अफ्रिकन नेशनल पार्टीले सत्ता सम्हाल्यो । गोराहरूको नेतृत्वको सरकारले आर्थिक र सामाजिक प्रणालीमा कब्जा जमाउन विभेदकारी ‘अपारथेड' कानून ल्याई जातीय विभेद संस्थागत गर्यो ।
यस्तो पीडादायक लिगेसी बोकेर बाँचेकी रूपा सुनारको पीडामा एउटा सचेत नागरिक चुप बस्न मिल्दैन । न्यायको पक्षमा उभिनैपर्छ । समानताको पक्षमा उभिनैपर्छ । के बिसे नगर्चीको रगत यो माटोमा बगेकै छैन ?
के यो देशको निर्माणमा दलितहरूको आँसु, पसिना र रगत यो भूमिमा मिसिएकै छैन ? यो गणतान्त्रिक नेपालको संविधान हो कि गोराहरूको 'अपारथेड' कानून ?
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...