
रूपन्देहीमा ट्रक चालकको हत्या गरी १८ लाख रुपैयाँ मूल्य बराबरको खाद्यान्न लुटिएको छ ।
भारतीय नम्बर प्लेटको यूपी ५३ एटी ०१४१ नम्बरको ट्रकका चालक भारतको महाराजगञ्जस्थित एकडेगवा टोलका तौफिक अहमद पठानको रूपन्देहीको भैरहवामा हत्या गरी ट्रकमा भएको खाद्यान्न लुटिएको हो ।
चालकको शव सिद्धार्थनगर नगरपालिका–१३ डण्डा खोलामा पानीमा तैरिएको अवस्थामा प्रहरीले साउन २० गते फेला पारेको थियो । घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको छ ।
सिद्धार्थनगर नगरपालिका–६ निवासी ३० वर्षका सद्दाम कुजडा, सोही ठाउँका २७ वर्षीय रिजवन भन्ने अलि मुसलमान, २८ वर्षीय महेश कहार र तनहुँको शुक्लागण्डकी १० बस्ने २७ वर्षीय सुनिल पौडेल हत्यामा संलग्न भएको पत्ता लगाई रूपन्देही प्रहरीले सार्वजनिक गरेको छ ।
काठमाडौंमा रहेका व्यापारी नन्दन गुप्ताले मगाएको चामल रुपन्देहीमा लुटिएको हो ।
यस्तो छ घटनाक्रम –
प्रहरीले सार्वजनिक गरेको घटना विवरण अनुसार भारतबाट नेपालमा चामल सप्लाई गर्ने व्यापारीले काठमाडौंमा रहेका व्यापारी नन्दन गुप्तालाई साउन २० गते १८ लाख मूल्य बराबरको चामल पठाएका थिए । चालक भारतीय भए पनि रुपन्देहीको रोहिणी गाउँपालिका–२ मा गुप्ताको ससुराली छ ।
सिद्धार्थनगर–६ निवासी ३० वर्षीय सद्दाम कुजडाले काठमाडौंका नन्दनले चामल मगाएको भन्ने पत्ता लगाएर उनको मोबाइल नम्बर खोजी गरी दोस्रो व्यापारीका रूपमा पटक–पटक कुरा गरेको प्रहरीको भनाइ छ ।
काठमाडौंका व्यापारी नन्दन र सिद्धार्थनगरका सद्दामबीच चिनजान नभए पनि नगद कारोबारमा चामल खरिद गर्ने भन्ने फोनमा कुराकानी भएपछि गाडी चालकसँग सम्पर्क गराएको प्रहरीको अनुसन्धानमा खुलेको छ । काठमाडौंका व्यापारीले गाडी चालकलाई चामल अनलोड गर्नुभन्दा अगाडि पैसा लिएर मात्र अनलोड गर्नु भनि पठाएको अनुसन्धानमा खुलेको प्रहरीको दाबी छ ।
भैरहवा भन्सारमा साउन २० गते भन्सार सम्बन्धित सबै काम सकेपछि भन्सार कार्यालयदेखि करीब १ किलोमिटर बाईपास रोडमा आएर सद्दाम कुजडा, अलि मुसलमान र महेश कहार चालकसँग बसेर मादक पदार्थ सेवन गरेको र राति हिँड्दै डण्डा खोला नजिक पुगेपछि इँटा प्रहार गरी खोलामा फालेको खुलेको छ ।
त्यसपछि ट्रक लिएर नवलपरासीको भुमईमा २ वटा नेपाली ट्रकमा चामल अनलोड गरी भारतीय ट्रकलाई पुनः फर्काएर सुनौलीमा पुर्याई छाडेको अनुसन्धानबाट खुलेको रुपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले बताए । २ वटा ट्रकमा रहेको चामललाई तनहँुको शुक्लागण्डकीका सुनिल पौडेलले अर्को चामलको बोरा तयार गरी नयाँ बाण्डको चामल बनाएर बिक्री गर्ने जिम्मा लिएका थिए । त्यसका लागि उनीहरूले चामलको बोरा समेत बनाइसकेको प्रहरीको भनाइ छ ।
मृतक परिवारको सम्पर्कमा नआएपछि प्रहरीमा खोजतलासका लागि निवेदन परेको थियो । साही आधारमा डण्डा नदीमा भेटिएको शवको सनाखत गराउने क्रममा घटना बाहिर आएको हो । प्रहरीले लुटिएको चामल, हत्या र लुटपाटमा संलग्नलाई पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको छ ।