०७ असार २०८३, आइतबार
अफगान संकट

अमेरिका र तालिबान दुवैको टाउको दुखाइ आईएसकेपीः छानीछानी सिध्याउने नीतिमा सफल होलान् बाइडन ?

अमेरिका र तालिबान दुवैको टाउको दुखाइ आईएसकेपीः छानीछानी सिध्याउने नीतिमा सफल होलान् बाइडन ?

गत बिहीवार अफगानिस्तानको राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा इस्लामिक स्टेट खोरासान प्रोभिन्स (आईएसकेपी) नामक आतंकवादी संगठनले गराएको आत्मघाती आक्रमणमा परी १३ जना अमेरिकी सैनिकको ज्यान गएको छ । उक्त घटनामा १७० जना अफगान नागरिकको पनि मृत्यु भएको छ ।

त्यसको प्रतिशोधका लागि अमेरिकाले शुक्रवार राति अफगानिस्तानको पूर्वमा रहेको नानगारहार प्रान्तमा ड्रोन आक्रमण गरी घटनाको योजना बनाउने मानिसको हत्या गरेको छ । अमेरिकी सेनाको सेन्ट्रल कमान्डले नागरिक हताहती नभइकनै आतंककारी योजनाकार मारिएको जनाएको छ । 

अमेरिकाका राष्ट्रपति जो बाइडनले यस्तै किसिमको आत्मघाती आक्रमण पुनः हुन सक्ने चेतावनी दिएका छन् । अनि काबुल विस्फोटको घटना गराउने आतंकवादीहरूलाई खोजेर छानीछानी मार्ने भनी दृढनिश्चय पनि उनले प्रकट गरेका छन् । तर यो भने जति सजिलो काम हैन । 

आईएसकेपीले पहिला पनि अमेरिकी सैनिकहरूलाई तारो बनाउने गरेको थियो । सन् २०१७ मा आर्ईएसकेपी आतंकवादीहरूलाई सोत्तर पार्ने उद्देश्यले अमेरिकाले पूर्वी अफगानिस्तानमा गुफा र सुरुङहरूमा २२ हजार पाउन्ड तौल भएको विशाल बम खसाएको थियो । त्यसलाई मदर अफ अब बम्ब्स नाम दिइएको थियो । 

अमेरिकाको इतिहासमा कुनै पनि युद्धमा उपयोग गरिएको त्यो सबभन्दा ठूलो गैरआणविक बम थियो । उक्त बम विवादास्पद भएकाले अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले त्यस बमप्रहारबाट सशस्त्र द्वन्द्वसम्बन्धी अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भए नभएको सुनिश्चित गर्नका लागि कानूनी समीक्षा नै गर्नुपरेको थियो । 

त्यस बमले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन त गरेन तर आईएसकेपीमाथि चाहेमुताबिकको असर पनि पारेन । उक्त आतंकवादी समूहका १०० भन्दा पनि कम लडाकू उक्त आक्रमणमा मारिए र समूहलाई यसले कुनै दीर्घकालीन असर पारेन । 

उल्टो, उक्त समूहले त्यस घटनापछि आफ्ना आक्रमणहरू झन् झन् चर्काउँदै लगेको छ । अफगानिस्तानमा सन् २०२१ मा मात्र आईएसकेपीले ७७ वटा आक्रमण गरेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ । 

अमेरिकाले शुक्रवार गरे जस्तो सैन्य कारवाहीमार्फत आईएसकेपीका थप लडाकू पनि मार्ला र उसका हातहतियार पनि नष्ट गर्ला । तर अतिवादी समूह तथा तिनका कट्टरपन्थी विचारधारालाई सैन्य कारवाहीमार्फत नष्ट गर्न सकिने अमेरिकी सोचमै समस्या छ । 

मुस्लिम अतिवादी तथा लडाकू बन्न चाहने युवाहरूमाझ आईएसकेपीले राजनीतिक तथा मनोवैज्ञानिक विजय हासिल गरेको छ । उनीहरू यसबाट प्रेरित भएर थप आतंककारी घटनामा संलग्न रहने सम्भावना बढेको छ ।

आईएसकेपीले राजधानी काबुलका अतिरिक्त नानगारहार, कुनार, जौजजान, कुन्दुज र हेरात प्रान्तमा समेत गतिविधि गर्ने गरेको छ । सन् २०१८ मा यो समूह उत्तरी अफगानिस्तानबाट लखेटिएको थियो । 

अनि सन् २०१९ मा अमेरिकी र अफगानी सेना तथा तालिबान लडाकूहरूको कारवाहीमा परी आईएसकेपी आफ्नो पकड रहेको पूर्वी क्षेत्रमा लगभग निमिट्यान्न भएको भनी अमेरिकी संसद्ले गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । 

आईएसकेपीविरुद्ध तालिबानले गरेको कारवाहीमा अमेरिकाले हवाई सहायता समेत उपलब्ध गराएको थियो । सन् २०१९ मा अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले आईएसकेपी पूरै सकिएको भनी घमण्ड गरेका थिए । 

तर अहिले गानी अफगानिस्तान छाडेर भागेका छन् भने आईएसकेपी जबर्जस्त रूपमा फर्केको छ । गत जुन महिनामा संयुक्त राष्ट्रसंघले आईएसकेपी सक्रिय र खतरनाक रहेको अनि बृहत्तर क्षेत्रका लागि जोखिम तेर्स्याएको प्रतिवेदन दिएको थियो । 

पोहोर साल शाहाब अल–मुहाजिर यस समूहका अमिर अर्थात् प्रमुख बनेका थिए । यसले तालिबानबाट असन्तुष्ट रहेका तथा अन्य लडाकू भित्र्याएर आफूलाई बलियो बनाउन खोजेको छ । 

संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार, यस समूहमा १५ सयदेखि दुई हजार लडाकू छन् । तालिबानले अफगानिस्तानका विभिन्न भाग कब्जा गर्दै जाँदा बागराम एयरबेस तथा अन्य कारागारमा रहेका आईएसकेपीका हजारौं लडाकूलाई थुनामुक्त गरेको थियो । 

अमेरिका तथा नेटो सैनिकहरू बहिर्गमन गरिरहेको अवस्थामा अफगानिस्तान तालिबान र आईएसकेपीको युद्धभूमि बन्न सक्ने विज्ञहरूको कथन छ । अमेरिकाले तालिबानसँग मिलेर आईएसकेपीविरुद्ध कारवाही गर्न सक्छ । तत्कालका लागि आईएसकेपीले अमेरिकी तारोमा आक्रमण गर्ने भन्दा पनि अफगानिस्तानमा आफ्नो स्थिति दह्रो बनाउने सम्भावना रहेको एक वरिष्ठ अमेरिकी अधिकारी बताउँछन् । 

तालिबानले आईएसकेपीलाई आतंकवादी समूह मान्ने गरेको छ । आईएसकेपीले विद्यालय र मस्जिद वा शिया हजारा जस्ता सफ्ट टार्गेटमा प्रहार गर्ने गरेको छ । यसले तालिबानबाट असन्तुष्ट रेहका मानिसलाई भर्ती गर्ने र जातीय द्वन्द्व निम्त्याउने लक्ष्य लिएको छ । 

इन्टेलिजेन्स ग्रुप नामक साइटकी रिता काट्जका अनुसार, तालिबानले अमेरिकालाई हराएको भन्ने धारणा इस्लामी र जिहादीहरूमा छ तर आईएसकेपीले त्यसलाई काउन्टर दिँदै तालिबान अमेरिकीहरूको एजेन्ट भएको र उनीहरूले अमेरिकाकै योजनामुताबिक अफगानिस्तानमा कब्जा गरेको भाष्य स्थापना गर्न खोज्दैछ । 

आर्ईएसले प्रकाशन गर्ने अल–नबा नामक पत्रिकामा उक्त समूहले लेखेको छ– दाह्री फालेको सफाचट तानाशाहको ठाउँमा दाह्री पालेको तानाशाह आउनु बाहेक के नै भएको छ र ?

तालिबानसँग कम्तीमा ७० हजार लडाकू छन् र त्यो आईएसकेपीको भन्दा निकै धेरै संख्या हो । काट्जका अनुसार, आईएसकेपीले आक्रमणहरू गरिरहनेछ तर तालिबानलाई त्यसबाट तात्त्विक असर पर्ने छैन । 

अमेरिकाको थिंकट्यांक स्टिमसन सेन्टरका सौरभ सरकारले तालिबान तथा आईएसकेपीविरुद्धको द्वन्द्व गृहयुद्धमा परिणत नहुने बरू गुरिल्ला शैलीको द्वन्द्व लामो समयसम्म चलिरहने अनुमान गरेका छन् ।

आईएसकेपीले बन्दै गरेको तालिबान सरकारको कमजोरीबाट फाइदा उठाउन खोजिरहेको छ । अफगानिस्तानमा छाएको अव्यवस्थाका कारण अतिवादी समूहहरूले अवसर पाएका छन् । 

आईएसकेपीले नयाँ लडाकू भर्ती गर्न कत्तिको सक्छ र भूमिमाथि नियन्त्रण पनि कायम गर्ने विद्रोही आन्दोलनका रूपमा आफूलाई परिणत गरेर तालिबानसँग लड्न सक्छ कि सक्दैन भन्नेमा धेरै कुरा निर्भर रहनेछ । 

अमेरिकी सेनालाई वर्षौंपछि यति ठूलो क्षति गराउन सफल भएकाले आईएसकेपीले अतिवादीहरूमाझ विश्वसनीयता हासिल गरेको छ । अमेरिकाले केही क्षेप्यास्त्र वा ड्रोन आक्रमण गरेको वा मदर अफ अल बम्ब्स खसाएको भरमा धेरै कुरा परिवर्तन हुने छैन । 

द न्यु योर्करमा प्रकाशित रबिन राइटको रिपोर्टलाई लोकान्तरका लागि विन्देश दहालले नेपालीमा अनुवाद गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्