जब कुरिनटारमा एक्कासि भूकम्प गयो

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

जब कुरिनटारमा एक्कासि भूकम्प गयो

गत शुक्रवार अर्थात् असोज १ इच्छाकामना गाउँपालिका–३ कुरिनटारमा ‘मोटी दिदीको खाजा पसल’ मा गाउँका युवाहरू खाजा खाइरहेका थिए ।


Advertisement

साँझ साढे ५ बजे एक्कासि भूकम्प आयो । रुखहरू हल्लिए । खाजा पसल पनि ढल्यो । त्यहाँ भएका घरहरू पनि भत्किए । एकजना बाहिर घाइते भएर बेहोश भए भने केही समान्य घाइते भए । खाजा पसलमा भएका अन्य व्यक्तिहरू आत्तिएर यताउता गर्न थाले । केही छिनमा भूकम्प रोकियो ।


Advertisement

यताउताका सबै घर भत्किएका थिए । मानिसहरू भित्र पुरिएका थिए । केही समयमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा आइपुग्यो  ।

त्यसपछि उनीहरूले घटनास्थलमा भएका मासिहरूलाई भग्नावशेषबाट पर हटाए । घटनास्थलको प्रारम्भिक सूचना लिए । बाहिर देखिएका घाइतेहरूलाई प्राथमिक उपचार गरी अस्पताल पुर्‍याए ।


Advertisement

घटनाको विवरण पुगेपछि (सीएसएसआर) विपद् व्यवस्थापनको टोली आइपुग्यो । उनीहरू घटनास्थलमा देखिएका अन्य घाइतेहरूलाई प्राथमिक उपचार गरेर अस्पताल पुर्‍याउन सशस्त्र प्रहरी बलको एम्बुलेन्समार्फत आएका थिए ।

घटनास्थललाई घेरामा राखिएको । ग्यास सिलिन्डरसहित दुर्घटना हुनसक्ने चिज वस्तुलाई घरबाट हटाइयो । भूकम्पमा भत्किएका घरमा परेका घाइतेहरूलाई पहिचान गर्न शुरू भयो । पहिलो चरणमा बोलेरै विवरण संकलन भयो ।

सशस्त्रका उद्धारकर्ताहरूले घरभित्र पुरिएर रहेका मानिसहरूलाई सांकेतिकरूमा इशारा गर्न भने । त्यसबाट इशारा गरे । त्यसपछि तालिम प्राप्त कुकुरबाट फेरि यकिन गरे । अन्य ठाउँमा कोही छ कि भनेर ती कुकुरहरूले खोजी गरे । तालिम प्राप्त कुकुरले एक ठाउँमा मानिस भएको पत्ता लगायो । उद्धारकर्ताले भौतिकरूपमा गरिने विधिको प्रयोग गरेका थिए ।

सशस्त्रको टोलीले फेरि आधुनिक सर्च मेथडबाट सर्च गर्न शुरू गर्‍यो । त्यसमा गामा क्यामेरा लगायतका विभिन्न प्रविधिको प्रयोग गरेर घटनास्थलमा मानिस पुरिएको एकिन भयो ।

त्यसपछि उनीहरूले मानिसको सकुशल उद्धारका लागि योजना म्याप बनाए । घरबाट घाइतेलाई बाहिर निकाल्नका लागि घरको भित्तालाई ट्र्याङ्गल सेपमा काट्न थाले । उनीहरूले मानिसलाई सुरक्षितरूपमा बाहिर निकाल्न र भग्नावषेश फेरि भत्किन नदिनका लागि विषेश सावधानी अपनाइरहेका थिए ।

केही समयको प्रयासपछि घाइतेलाई उद्धार गरे । उद्धारका क्रममा उनीहरूले आवश्यक पर्ने अक्सिजनसहित प्राथमिक उपचार गरेर एपीएफको एम्बेलुन्समार्फत थप उपचारका लागि अस्पताल पुर्‍याए ।

माथि वर्णन गरिएको घटनाको विवरण थियो, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयमा देखाइएको प्रदर्शनी (डेमोस्ट्रेसन) को ।

देशमा हुने विपद्मा पर्ने मानिसहरूलाई उद्धारका लागि शिक्षालयले ४८ वटा तालिममा सशस्त्र प्रहरी बलका २ हजार ६९६ जना प्रहरी निरीक्षकसहित कर्मचारीहरूलाई तालिम दिएको छ । जसमा विपद् व्यवस्थापन तालिम १ हजार ८१८ जना, सशस्त्र प्रहरी जवानहरूलाई आधारभूत तालिम ३९४ जना, प्राविधिक अधिकारी ३ सय ४ जना र सशस्त्र प्रहरी निरीक्षकलाई अल्पकालीन आधारभूत तालिम २ सय २६ जनालाई दिएको शिक्षालयका सशस्त्र प्रहरी उपरीक्षक सुशिल सुवेदीले बताए ।

यस्तै प्रोग्राम फर इनह्यान्स अफ इमरजेन्सी रेस्पोन्स (पीइइआर) कोर्ष अन्तरगर्तको एमएफआर २४ जना, सीएसएसआर २३ जना, ट्रेनिङ फर इन्स्टक्टर २४ जना, इन्स्टक्टर वर्कशप २१ जना, लाइट सर्च एन्ड रेस्क्यू ५४ जना, प्रहरी कमान्डो तालिम २७२ जना लगायत गरी २० वटा गरी १ हजार २५ जनाले विषेश तालिम लिएका छन् ।

यसैगरी एपीएफले समुदायमा आधारित तालिमहरू पनि सञ्चालन गरेको छ । जसमा नेपाल भूकम्प प्रतिकार्य धादिङका ५० जना, खोज तथा उद्धार कार्यमा सिन्धुपाल्चोकका ५० जना, जोखिम न्यूनीकरणका निम्ति पूर्व तयारीमा काठमाडौंका ५० जना, सामुदायिक विकास कार्याक्रम अन्तर्गत भूकम्प प्रतिकार्यमा १५० जना गरी ५ सय ३ जनालाई तालिम दिएको सुवेदीले बताए । 

सर्च र रेस्क्यू २ जना, आम्र्स एन्ड एक्सक्यूशिपमा, ड्रग्स डिटेक्सन र ट्रयाकर डग गरी विपद् व्यवस्थापनका लागि खोजी र उद्धारका लागि सईको कमान्डमा ५ वटा कुकुर छन् । त्यसका साथै काठमाडौं आउने पृथ्वी राजमार्गमा हुने दुर्घटना परेका घाइतेका उपचारका लागि २५ शय्याको पृथ्वी राजमार्ग ट्रमा सेन्टर पनि सञ्चालन गर्दै आएको छ ।

त्यसका साथै घाइतेहरूलाई उद्धारका लागि २ वटा हेलिप्याड समेत रहेको एसपी सुवेदीले बताए । शिक्षालयमा विपद् व्यवस्थापन रेकर्डको तथा प्रदर्शन केन्द्र समेत बनाएका छन् । जसमा विभिन्न समयमा उद्धार गरिएका सामाग्री र फोटोहरू राखिएका छन् ।

३६ जना गोताखोर 

एपीएफले नदीमा डुबेकाहरूको उद्धारका लागि ४४ जना गोताखोर उत्पादन गरेको छ । जसमा २५ जनाले बंगलादेश गएर तालिम लिएका थिए भने १९ जनाले नेपालमै रहेर एपीएफमै तालिम लिएका थिए ।

त्यसमध्ये त्यसमा ८ जनाले जागिर छाडेर गएपछि ३६ जना गोताखोर बाँकी छन् । अहिलेसम्म जीवित उद्धार भएका ७१३ जना र शव निकालिएका २९६ जना गरी १ हजार ९ जनाको उद्धार गरिएको एपीएफले जनाएको छ । २ हजार ७७२ जना सशस्त्रका उद्धारकर्ता परिचालन भएको एपीएफले जनाएको छ ।

विश्वविद्यालय बनाउने योजना

२०५८ मंसिर १८ गते बेस क्याम्पका रूपमा स्थापना भएको शिक्षालय विं .स. २०५९ वैशाख २४ गते सशस्त्र प्रहरी बल कालिञ्चोक भगवती गणको रूपमा परिणत भयो । त्यसपछि २०६७ वैशाख १९ गते विपद् व्यवस्थापन तालिम सञ्चालन गर्दै आएको छ । 

२०७५ असार १५ गतेदेखि विपद् व्यवस्थापन तालिम शिक्षालय नामकरण भएको नेपालको पहिलो विपद् व्यवस्थापन गर्ने विद्यालय भएकाले यसलाई विश्वस्तरको विश्व विद्यालय बनाउने योजना बनाएको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्यालले बताए ।

‘हामीले यसलाई विश्वविद्यालय बनाउने योजनामा छौं,’ डीआईजी अर्यालले भने, ‘त्यसका लागि अहिले कसरी बनाउने भन्ने योजना बनाइरहेका छौं ।’

यो शिक्षालयमा १० हप्ताको विपद् व्यवस्थापन तालिम दिँदै आइएको छ । हाल २६ जना सिनियर अधिकृत र ५० जना जुनियर कर्मचारीले तालिम लिइरहेका छन् । 

यो शिक्षालयले उद्धार, गोताखोर तालिम, दुर्घटना उद्धार तालिम, डग रेस्क्यू तालिम, कमान्डो तालिम, पहाडमा फसेका मानिसहरूको उद्धार तालिमहरू दिँदै आएको प्रवक्ता अर्यालले बताए ।

गगन अर्याल
गगन अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्