चीनका लडाकू विमानहरू फेरि ताइवानको सीमामा प्रवेश गरेका छन् ।
सन् २०२१ मा चीनका लडाकू विमानहरूले कीर्तिमान कायम गर्दै ताइवानको एयरस्पेसमा प्रवेश गरेका थिए । सन् २०२२ को १५ दिनमा पनि उनीहरू नौपटक त्यहाँ पसिसकेका छन् ।
यी घटनाहरूका कारण चीन र ताइवानबीचको तनाव बढिरहेको छ । ताइवानलाई चीनमा पुनरेकीकरण गर्नका लागि यो सब गतिविधि भइरहेको हो ।
चीनले ताइवानलाई आफ्नै एक प्रान्त मान्ने गरेको छ र अन्ततोगत्वा त्यो फेरि चीनकै हिस्सा हुने बताएको छ ।
उता ताइवान आफूलाई स्वतन्त्र राष्ट्र मान्छ । उसको आफ्नै संविधान छ र जनताले छानेको सरकारको शासन छ ।
ताइवान दक्षिणपूर्वी चिनियाँ तटको १०० माइल पर रहेको टापु हो ।
यो पहिलो टापु शृंखलामा छ । त्युमा अमेरिका समर्थित कैयौं देश छन् ।
चीनले ताइवान नियन्त्रणमा लिएमा पश्चिमी प्रशानत महासागरमा आफ्नो दबदबा देखाउन पाउनेछ ।
त्यसपछि ग्वाम र हवार्ई टापुहरूमा रहेको अमेरिकी सैन्य अड्डा पनि जोखिममा पर्नेछन् ।
तर चीनले आफ्नो उद्देश्य शान्तिपूर्ण रहेको बताएको छ ।
ताइवानका रक्षामन्त्रीले चीनसँगको सम्बन्ध विगत ४० वर्षमा सबभन्दा खराब चरणमा रहेको बताए ।
त्यसो त चीनले गैरसैन्य तरिका अपनाएर पनि ताइवानलाई आफूसँग मिसाउन सक्छ ।
दुई देशबीच आर्थिक सम्बन्ध बलियो बनेमा पुनरेकीकरण सम्भव हुन्छ ।
तर दुई देशबीच लडाइँ भएमा ताइवानको सैन्य शक्ति चीनका अगाडि टिक्न सक्दैन ।
चीनले सेनामा गर्ने वार्षिक खर्च अमेरिकापछिको सबभन्दा धेरै छ । उसको सैन्यशक्ति विविध र विशाल छ ।
क्षेप्यास्त्र प्रविधि, जलसेना, वायुसेना, साइबर सेना सबैमा चीन अब्बल छ ।
पश्चिमका कतिपय जानकारहरूका अनुसार, दुई देशबीच भिडन्त भएमा ताइवानले जोडबल लगाएर चीनको आक्रमणलाई केही सुस्त बनाउन सक्छ ।
उसलाई अमेरिकाले सहयोग गर्न सक्छ । तर अमेरिकाले ताइवानका विषयमा रणनीतिक अस्पष्टताको नीति अपनाएको छ । अर्थात्, अमेरिकाले जानीबुझी आफ्नो नीति दोधारे राखेर ताइवानमाथि चीनको आक्रमण हुँदा कसरी ताइवानलाई सहायता गर्ने भन्दैन ।
कूटनीतिक रूपमा अमेरिकाले अहिले एक चीन नीतिलाई समर्थन गर्ने गरेको छ । उसको औपचारिक सम्बन्ध ताइवानसँग नभई चीनसँग छ ।
सन् २०२१ मा चीनले ताइवानको वायु रक्षा क्षेत्रमा आफ्ना लडाकू विमान पठाएको पठायै गरेर दबाब दिएको थियो ।
कुनै देशको वायु रक्षा क्षेत्रमा देशको रक्षाका लागि विदेशी विमानहरूलाई चिनेर तिनको निगरानी र नियन्त्रण गरिन्छ ।
ताइवानले सन् २०२० मा विमानहरू पसेको आँकडा सार्वजनिक गरेको थियो । यस किसिमको प्रवेश अघिल्लो अक्टोबर महिनामा निकै बढ्यो ।
अक्टोबर २०२१ मा एक दिनमै चीनका ५६ विमानहरू ताइवानी क्षेत्रमा प्रवेश गरे ।
ताइवान र चीनबीचको द्वन्द्वले संसारलाई असर गर्छ ।
ताइवानको अर्थतन्त्र संसारका लागि महत्त्वपूर्ण छ ।
दिनदिनै उपयोग हुने विद्युतीय गजेटहरू फोन, ल्यापटप, घडी र गेमिङ उपकरणमा जडान गरिने चिप धेरैजसो ताइवानमा बन्छन् ।
संसारलाई अहिले चिपको ठूलो आवश्कयता छ ।
सन् २०२१ मा संसारको चिप उद्योग लगभग १०० अर्ब डलरको थियो र त्यसमा ताइवानको दबदबा छ ।
ताइवानमा चीनको कब्जा भएमा संसारको यति महत्त्वपूर्ण उद्योगमा चीनको नियन्त्रण कायम हुन्छ ।
त्यसो त चीन र ताइवानबीच तनाव बढेको भए पनि ताइवानीहरूलाई त्यसको खासै असर नपरेको अनुसन्धानहरूले देखाएका छन् ।
गत अक्टोबर महिनामा ताइवान पब्लिक ओपिनियन फाउन्डेसनले चीनसँग युद्ध हुन्छ भनी ताइवानीहरूलाई सोधेको थियो । ताइवानका लगभग ६४ प्रतिशत मानिसहरूले त्यसको उत्तर हैन भने ।
अर्को रिसर्चमा ताइवानका अधिकांश मानिसले आफूलाई चिनियाँहरूभन्दा फरक माने ।
नेसनल चेंग्ची विश्वविद्यालयले गरेको सर्वेक्षणमा सन् १९९० को तुलनामा अहिले ताइवानीहरूमा ताइवानी पहिचान बढिरहेको छ । मानिसहरू आफूलाई चिनियाँ वा ताइवानी दुवै मान्न छोडेका छन् ।