
छिमेकी मित्रराष्ट्र चीनका विदेशमन्त्री वाङ यीको ३ दिने औपचारिक नेपाल भ्रमण शुरू भएको छ । सन् १९५५ बाट राज्यस्तरीय सम्बन्धसँगै १९६० मा आपसी दूतावास स्थापना अगावै नेपाल–चीनबीच सामाजिक, सास्कृतिक, धार्मिक अनि व्यापारिक रूपमा घनिष्ट सम्बन्ध थियो ।
उपहारको आदानप्रदान र भ्रमण समेत हुन्थे । चीनबाट हामीलाई आर्थिक, सामाजिक, व्यापारिक लगायतका क्षेत्रमा उल्लेखनीय सहयोग छ । केही वर्ष पहिले सम्पन्न पछिल्लो लगानी सम्मेलनमा छिमेकी मित्रराष्ट्र चीनबाट १२ अर्ब डलरको प्रतिबद्घता प्राप्त भएको थियो ।
यस्तो हितकर मित्र र अगाध पारस्परिक सम्बन्ध भएको देशबाट भ्रमण स्वाभाविक हो र निरन्तर रहनुपर्छ । यस्ता भ्रमण बहुरूपमा समेत बहुआयामिक हुनुपर्छ अनि देशको हित लगायत अन्तर्राष्ट्रिय जगतमा पहिचान तथा परिचयको एक आयाम बन्नुपर्छ ।
यो केबल छिमेकी मित्रराष्ट्रका विदेश मन्त्रीको भ्रमण मात्र होइन, संसारको सर्वाधिक शक्तिशाली देशको मन्त्रीको भ्रमण समेत हो । विख्यात पत्रिका फोब्र्सको सर्वेक्षणअनुसार अहिले चीन आयतन र प्रतिव्यक्ति क्रय क्षमता दुवै मापनका आधारमा पहिलो आर्थिक शक्ति हो भने त्यहाँका राष्ट्रपति सी विश्वको पहिलो शक्तिशाली व्यक्ति हुनुहुन्छ । चीनको पछिल्लो अद्घितीय अद्भूत अर्थ–राजनीतिक प्रगतिबाट चीन उक्त आभुषणले विभुषित भएको हो । अहिले चीन संसारको उच्च व्यापार नाफा कायम गरेको, अधिक प्रतिव्यक्ति क्रय क्षमताको आम्दानी भएको, अग्ला भवन, फराकिला सडक, सुविधा सम्पन्न शहरहरूको देश हो ।
फरिद जकारियाको ‘पोस्ट–अमेरिकन वल्र्ड’मा वर्णित अद्भूत चीन निर्माणमा वर्तमान राष्ट्रपति सीले प्रयोग गर्नुभएको जोसेफ एस नाईबाट विकसित अवधारणा ‘सप्mट पावर’को ठूलो भूमिका छ । वीलियम ओभरहल्टको पुस्तक ‘द राइज अफ चाइना’ लगायत थुपै्र पश्चिमा लेखकले चीनको प्रगतिलाई शान्तिपूर्ण उदय (पिसफूल राईज अफ चाईना) भने पनि चीन स्वयंका विद्वानहरू भने चीन इतिहासमा पनि आर्थिक विकास र सभ्यताको केन्द्र भएकाले यो उदय नभई पुनरागमन (पिसफूल रिटर्न अफ चाईना) भएको बताउँछन् । आजकाल पश्चिमा बजारमा प्रकाशित सम्पूर्ण पुस्तकको ४० प्रतिशत त चीनबारे लेखिएका सर्वेक्षणहरू देखिन्छन् ।
बेलायति प्रसिद्घ पत्रिका ‘द टेलेग्राफ’मा २ अक्टोवर २०११ मा ज्यु जीनरनकृत लेखमा तत्कालीन विश्वसम्राट नेपोलीयनको चीनमाथिको टिप्पणीलाई साभार गरिएको छ । नेपोलीयनको भनाइ थियो ‘चाइना इज स्लिपिङ लाईन, लेट हर स्लिप, फर हेवन सि वेकस् सि सेक्स द र्वल्ड’ (चीन सुतिरहेको सिंह हो, उसलाई सुत्न देऊ, जब ऊ उठछ, तव विश्वलाई कम्पन दिनेछ) । अहिले उक्त भनाइ चरितार्थ हुँदैछ । विश्व आकर्षण तथा विचार/विमर्शको केन्द्र बन्दै चीनले लामो समयको एकधुव्रीय संसारलाई बिनिर्माण गर्दैछ । यस्तो महाशक्ति देशबाट भएको यस भ्रमणले हामीलाई विराट व्यापार परियोजना बीआरआईमार्फत आफूलाई लाभान्वित गर्ने अवसर पस्किन्छ । व्यापार सञ्जाल विस्तारसाथ समन्वय बढाउन भन्छ ।
हामी अन्तर्राष्ट्रिय समाचार बन्छौं, सुरक्षा सबलता प्रमाणित हुनेछ । चीनमा अविलम्बित समाजवादबाट हाम्रो समाजवादी भविष्यको लक्ष्यलाई दिशानिर्देश गर्ने सेतु भेटिन सक्छ । भ्रमणमार्फत हुने सामिप्यता निर्माण र अनुभवको आदानप्रदानले देशको नयाँ भविष्य निर्माणार्थ तत्कालीन भलाइका केही अनि राज्य संयन्त्र तथा सुशासनमा दीर्घकालीन संरचानात्मक परिवर्तन ल्याउने विशेष उपलब्धि लिन सरकार सफल हुनुपर्छ ।
तत्कालीन हितका सम्भावनाहरू
चीन हाम्रो विकास निर्माणमा सहयोगी मित्रराष्ट्र हो । कुनै एक कालखण्डमा उसैको सहयोगमा देशमा अनेकौं कलकारखानाहरू सञ्चालनमा थिए । काठमाडौंको चक्रपथसँगै बानेश्वरको अन्तर्राष्ट्रिय सभा भवन चिनियाँ सहयोगका जीवित उदाहरण हुन् । उसबाट भूकम्पको समयमा उद्घार, राहत तथा पुनःस्थापनमा सहृदयी सहयोग पाइयोे । अहिले पनि ग्यासको भण्डारण गृह, तेलको पाइपलाइन निर्माण, सोलार ऊर्जा तथा विद्युत् उत्पादनमा सघाउने इच्छा बाहिरिएका सुनिन्छ । भ्रमणमार्फत यस्ता सम्भावनालाई अझै घनिभूत बनाउन सकिन्छ, यसलाई हामीले सदुपयोग गर्नुपर्छ ।
हामी जहिल्यै भारतमा निर्भर भएकाले कतिपय परिस्थितिहरूमा भारतका भित्री मनसायहरूलाई मान्न बाध्य हुन्छौं । भारतीय लेखक एसडी मुनिका थुप्रै पुस्तकहरूमा नेपालको ‘इन्डिया ब्राकेटेड सेन्टिमेन्ट’ (भारतवेष्ठित मनोविज्ञान) को चर्चा छ । अहिले वैदेशिक व्यापारको ७८ र सम्पूर्ण आयतको ९० प्रतिशत हिस्सा भारतबाट हुन्छ । तेस्रो मुलुकसँगको व्यापारमा भारत भएरै पारवहन गर्नुपर्छ । तसर्थ नरम एकाधिकारबाट बेलाबेला असहजता झेल्नुपर्छ ।
यही बेला चीनका व्यापारी समेत नेपालमा लगानी गर्न चाहन्छन् । चाइना बिजनेश रिभ्युका अनुसार सन् २००० ताका १ खर्ब डलर नजिक रहेको चीनको वैदेशिक लगानी आज ९०० गुणा बढी छ । चीनको अगुवाइ रहेको ‘एसियाली भौतिक संरचना निर्माण बंैक’को प्रमुख ध्येय नै अन्तरदेशीय व्यापारमा लगानी हो । हामीले यी अवस्थाबाट लाभान्वित चीनसँग सघन व्यापारको प्रयास गर्नुपर्छ । वास्तवमा हामी ‘ल्यान्ड लक्ड’ नभई ‘ल्यान्ड लिंक्ड’ राष्ट्र हौं । संसारकै अधिक जनसंख्या भएको महाशक्तिसँग स्थलगत जोडिएका छौं ।
नेपालको अहिलेको जनसंख्या बराबर त चीनमा प्रतिवर्ष औसत जनसंख्या वृद्घि हुने भएकाले हामीलाई बृहत बजार उपलब्ध छ । हाम्रा उत्पादन त्यहाँ पठाउन सके उच्च खपत हुन्छ । सकेसम्म धेरै कलकारखाना सञ्चालन गर्दै त्यहाँ उच्च माग भएका सामानहरूको व्यापक निर्यात गर्ने अभिप्राय राख्नुपर्छ । उच्च स्तरमा हुने यस्ता भ्रमणहरूले यी सम्भावनालाई सार्थक गर्न विशेष पहलको मौका दिलाउन सक्छ ।
पर्यटन हाम्रो अर्थतन्त्रको एउटा मुख्य आधार हो, भविष्यमा निर्णायक आर्थिक धार बन्ने सम्भावना छ । आर्थिक महाशक्ति भएपछि चीनका नागरिकहरूले घुमफिर तथा मनोरञ्जनसँगै भ्रमणमा निकै समय दिन थालेका छन् । ‘इन्भेस्टिङ अन बुद्घिस्ट सर्किट’ नामक प्रतिवेदनको ताजा तथ्यांक अनुसार अहिले संसारभर प्रतिवर्ष लगभग ३० करोड पर्यटकमा २५ प्रतिशत बौद्घ धर्मालम्वी छन् । चीनमा संसारकै २० प्रतिशत (लगभग साढे १ अर्ब) जनसंख्यामा झण्डै ६५ प्रतिशत मानिसहरू बुद्घ धर्म मान्छन् । मुख्य धर्मग्रन्थ त्रिपिटकले समेत बौद्घ अनुयायीलाई एकपकट लुम्बिनी पुग्नैपर्ने भन्छ, धर्मावलम्बीमा समेत लुम्बिनी पुग्ने उत्कट अभिलाषा देखिन्छ । लुम्बिनी हामीसँग हुनु अधिक चिनियाँ पर्यटकलाई ल्याउने प्रमुख माध्यम हुनसक्छ । आतिथ्यतामा कहलिएका हामीसँग अन्य सांस्कृतिक र प्राकृतिक सम्पदा समेत प्रशस्त छन् । संसारका सबै बौद्घ अनुयायीलाई कम्तिमा जीवनको एक पटक र हरेक वर्ष अधिक संख्यामा चिनियाँ नागरिकलाई लुम्बिनी भ्रमण गराउन सहजीकरण गर्दा हाम्रो प्रयासले ठूलै उचाइ पाउनेछ ।
अहिलेको प्रधान ऊर्जा पेट्रोलियम केही दशकपछि समाप्त हुने कारण चीन लगायत सबै देशलाई वैकल्पिक ऊर्जा व्यवस्थापनको ठूलो चिन्ता छ । आगामी समयको एउटै भरपर्दो ऊर्जा विद्युत् हो । हामीसँग अथाह विद्युत् उत्पादन सम्भावना छ । अबको ५० वर्षपछि संसारमा आउने ऊर्जा संकटलाई टार्ने सोचसहित अहिल्यैदेखि विद्युत् उत्पादन कार्यनीति बनाउँदा आज मध्यपूर्वका देशले तेल बेचेर कमाएको हैसियत हामीले विद्युत् बेचेर कमाउन सक्छौं । चीन हाम्रो मुख्य बजार हुनेछ । अनेकन सम्भावनाका अपार अवसरलाई मूर्तरूप प्रदान गर्ने थालनीका लागि यस्ता भ्रमणमा विशेष अनुरोध र आग्रह गर्न सकिन्छ ।
भूराजनीतिको दृष्टिकोणबाट हामी भारत तथा चीन दुवैको सुरक्षा कवच हौं र दुवैसँग देशको हितमा प्रशस्त सौदावाजी गर्नसक्छौं । चीन यस विषयमा सधैं सकारात्मक छ, प्रयास हामीले गर्नुपर्छ । यी तत्कालीन हितसँगै समाजवादको न्तव्यमा चीनबाट सिक्नुपर्ने कुरा धेरै छन् ।
समाजवादी गन्तव्यको अनुकरण
समाजवाद शब्दको विश्वव्यापी चर्चामा महाशक्ति चीनले वर्तमान राष्ट्रपति सीको नेतृत्वमा गरेको अभूतपूर्व विकास अनि समृद्घिको मुख्य भूमिका छ । चीनमाथि भएका पछिल्ला सबै अध्ययनले चिनियाँ प्रगति उच्च रफ्तार र आयतनको भएको स्वीकार्छन् । पछिल्लो १० वर्षमा ६६० मिलियन मानिसहरू गरीबीको रेखाबाट उक्सिएको देखिन्छ । समाजवादकै मार्गबाट चीन संसारको पहिलो अर्थतन्त्र बन्यो । २०२५ सम्ममा ४०० मिलियन थप मानिसहरू गाउँबाट शहरमा स्तरोन्नति हुँदैछन् । रेल र रोडको सञ्जाल झण्डै दोब्बर हुँदैछ । ५० वर्षका लागि ल्याइएको पछिल्लो योजनामा ३० वर्षभित्र चीनलाई संसारमा सबै कुरामा पहिलो बनाउने योजना समेटिएको सुनिन्छ । तसर्थ चीनले आयातित वस्तुदेखि विचार, प्रविधि, सञ्जालमा समेत आक्रामक अंकुश लगाई तिनलाई आफ्नै मौलिक विकास अभ्यासले प्रतिस्थापन गर्दैछ ।
समाजवादी अर्थतन्त्रको अभ्यासबाट चीनले पाएको सफल नतिजा समृद्घिको लागि प्रयासरत हामीलार्ई अनुकरणीय सभ्यता हो । विकासमा आर्थिकसँगै सामाजिक, भौतिक, सांस्कृतिक लगायतका अन्य पक्ष समेत जोडिन्छ । जसलाई चिनियाँ समाजवादले राम्ररी अनुशरण गर्दैछ । विज्ञता केन्द्रित राजनीति र सरल जीवन चीनबाट सिक्ने अन्य पक्षहरू हुन् ।
चिनियाँबीच नागरिक एकता उच्चतम छ । देशसँगै सरकारप्रति आम चिनियाँको गहिरो सम्मान छ । भौतिक सम्पन्नता साथै मानवीय सभ्यता अनि आफू लगायत अरूकोे विकासमा चीन अग्रसर हुँदैछ । पछिल्लो १० वर्षमा चीनले उच्च औद्योगिक वृद्घि गर्यो । त्यससँगै आएका अत्याधिक भ्रष्टाचार, सम्पत्तिमा असमान वितरण अनि प्रदूषणका समस्यामा पनि ऐतिहासिक र अकल्पनीय सुधारहरू ल्यायो । दीगो विकास र सामाजिक स्थिरताका लक्षणहरू प्रशस्त देखिए ।
समाजका सबै खाले पेशाकर्मी, व्यवसायी, उद्यमी, विद्यार्थी, सरकारी कर्मचारी लगायत सबैमा देशप्रति बढ्दो निष्ठा र समर्पण छ । कसरी आफ्नो काम सम्पादनमार्फत सफल राष्ट्र निर्माणमा सघाउने भन्ने व्यग्र तृष्णा र सोही तहको संकल्प देखिन्छ । समृद्घ र सभ्य देश निर्माणमा चिनियाँ नेतृत्व र नागरिक सबैले सकेको योगदान गर्दैछन् । न्याय, समानता, मानवीय स्वतन्त्रतामा समेत आशातित सफलता र स्तरोन्नति हुँदैछ । हामीले यी गुणहरूलाई यथाशक्य अनुशरण गर्नुपर्छ ।
यी बहुआयामिक सम्भावनालाई उजागर र सम्भव बनाउँदा हाम्रो समृद्घिको सोचलाई सहयोग पुग्नेछ । चीन सम्बन्ध भविष्य निर्माण तथा सकारात्मक विकासको हाम्रो खोजीमा प्रमुख सारथि हुनसक्छ । चिनियाँ विदेश मन्त्रीको यस भ्रमणबाट सुनौला सम्भावना खोज्न र काम गर्न थाल्नुपर्छ ।