२४ जेठ २०८३, आइतबार

वसन्तीदेवी मृत्यु प्रकरणः एसिडले जलेर कि तातोपानीले ?

चैत १३, २०७८
वसन्तीदेवी मृत्यु प्रकरणः एसिडले जलेर कि तातोपानीले ?

इटहरीस्थित खाने तेल उत्पादन गर्ने कम्पनीमा कार्यरत वसन्तीदेवी चौधरीको मृत्यु शंकास्पद रहेको परिवारले दाबी गरेको छ । 

इटहरीको खनारस्थित तेल उत्पादन कम्पनी एभरेस्ट सोल्भेन्ट प्रालिमा कार्यरत इटहरी नगरपालिका–११ की ३८ वर्षीया चौधरीको मृत्यु एसिडले जलेर भएको परिवारले दाबी गरेका हुन् । 

‘फ्याक्ट्रीमा काम गर्ने कामदारहरूले आमाको मृत्यु एसिडमा परेर भएको बताएका छन्,’ छोरा सुमनले भने, ‘अस्पताल लैजाँदा आमाले पाल्यो–पोल्यो भनेर बर्बराउनुहुन्थ्यो, तातोपानीले पोलेको भए बोल्नै नसक्ने अवस्थामा नहुनु पर्ने हो ।’ 

चैत ३ गते बिहान साढे १० बजे भएको घटनालगत्तै उनलाई विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । तर, अस्पतालले भर्ना नलिएपछि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । 

धरानमा पनि उपचार हुन नसकेपछि उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा चैत ९ गते अस्पतालमै मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय इटहरी सुनसरीका प्रमुख डीएसपी खगेन्द्र खड्काले वसन्तीदेवीको मृत्यु तातोपानीले भएको दाबी गरे । एसिडका कारण मृत्यु नभएको बताउँदै खड्काले फ्याक्ट्रीबाट निस्केको तातोपानीमा पर्दा उनको मृत्यु भएको बताए । 

‘अनुसन्धानका क्रममा फ्याक्ट्रीमा केमिकल त भेटिएको छ, त्यो एसिड हो/होइन खुलेको छैन परीक्षणका लागि पठाउने तयारी गरेका छौं,’ डीएसपी खड्काले लोकान्तरसँग भने, ‘प्रारम्भिक अनुसन्धानमा पानीमा डुबेर मृत्यु भएको देखिएको छ ।’

महानगरीय प्रहरी वृत्त कीर्तिपुरले भने सदगत कागजमा एसिडकै कारण मृत्यु भएको भनेर प्रस्ट रुपमा उल्लेख गरेको छ । 

वसन्तीदेवीको मृत्यु भएपछि शव सदगत पुर्जीमा ‘उम्लिरहेको एसिड पानीमा पर्न गई उनको शरीर पोली गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएको’ भनेको छ । 

बर्न अस्पतालका चिकित्सकहरूले महिलाको मृत्यु एसिडकै जलनका कारण भएको रिपोर्ट बिरामीका आफन्तलाई दिएका छन् । 

यता कम्पनीका सञ्चालक अविनाश बोहोराले फ्याक्ट्रीबाट निस्केको तातोपानीमा परेर वसन्तीदेवीको मृत्यु भएको दाबी गरेका छन् । उनले उपचार खर्च कम्पनीले व्यहोरेको र अन्य क्षतिपूर्ति भने दिन नसकिने बताए । 

salt training

कमेन्ट गर्नुहोस्